देउवा नभए मै प्रधानमन्त्री: प्रचण्ड

काठमाडौं २६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली काङ्ग्रेसका सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाहेक अरुलाई प्रधानमन्त्री नस्वीकार्ने बताएका छन् ।

नेपाली काङ्ग्रेसभित्र प्रधानमन्त्रीका आकांक्षी बढ्दै गएको बेला सत्ता गठबन्धनमा निर्णायक मानिएको माओवादी अध्यक्षको यो धारणा सार्वजनक भएको हो । यद्यपि प्रचण्डले देउवालाई समेत प्रधानमन्त्री तपाइँ नै हो भनेर भनेका छैनन् । स्रोतका अनुसार प्रचण्ड आफैं पनि प्रधानमन्त्रीको दौडमा छन् ।

नेपाली काङ्ग्रेस भित्र पार्टी महामन्त्री गगनकुमार थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू डा.शेखर कोइराला, डा.शशांक कोइराला, प्रकाशमान सिंहलगायतले प्रधानमन्त्री दाबी गर्दै आएका छन् । तर, सत्ता साझेदारमध्येका प्रचण्डले काङ्ग्रेस सभापति देउवाबाहेक अरुलाई प्रधानमन्त्रीमा समर्थन नगर्ने सम्भावना बढी छ ।

‘काङ्ग्रेसको निर्णय काङ्ग्रेसले नै गर्ने हो तर, गठबन्धनको सरकार बन्ने भएपछि प्रधानमन्त्री पनि गठबन्धनका सबै दलले स्वीकार्ने व्यक्ति हुनुपर्छ’, प्रचण्डनिकट एक नेताले परेवान्युजसँग भने- ‘प्रचण्ड आफैं प्रधानमन्त्री बन्ने सम्भावना हुँदाहुँदै अरुलाई स्वीकार्नुपर्छ भने त्यसमा प्रचण्डले रोजेकै व्यक्ति प्रधानमन्त्री बन्ने पक्कापक्की छ ।’

अर्कोतिर नेकपा माओवादीलाई काङ्ग्रेससँगको सम्बन्ध तोड्न दबाब पनि आइरहेको छ । पार्टीभित्र र बाहिरबाट समेत माओवादी दबाबमा रहेको स्रोतले बतायो । मुख्यगरी छिमेकी चीनले माओवादीलाई बाम तालमेलमा सरकार गठन गर्न दबाब दिएको बुझिएको छ । माओवादी पार्टी उप-महासचिव वर्षमान पुन उपचारको लागि हाल चीनमा रहेका छन ।

उपमहासचिव पुनकै माध्यमबाट चीनले नेपालमा बामपन्थी सरकार बन्ने अवस्था रहेसम्म काङ्ग्रेससँग मिलेर जान नहुने सुझाव प्रचण्डलाई दिएको छ । तर,बप्रचण्डलगायत केही नेता सकेसम्म गठबन्धन तोड्न नहुने पक्षमा छन भने महासचिव देव गुरुङ लगायतको समूह चीनको सुझाव मानेर जाँदा राम्रो हुने भन्नेमा छन् ।

यता नेपाली काङ्ग्रेस मात्रै होइन गठबन्धन भित्रको अर्को दल नेकपा एकीकृत समाजवादीले समेत प्रधानमन्त्रीमा आलोपालो खोजेको छ । अर्थात सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि एक वर्ष मात्रै भएपनि प्रधानमन्त्री बन्ने तयारीमा छन् । स्रोतका अनुसार नेपालले २/२/१ को रोडम्याप अघि सारेका छन् ।

माधव नेपाल निकट स्रोतका अनुसार पहिलो दुई वर्ष काङ्ग्रेस , त्यसपछिको दुई वर्ष माओवादी र अन्तिम एक वर्ष समाजवादीले प्रधानमन्त्री पाउनुपर्ने रोडम्याप छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय