लोसपा काङ्ग्रेसमा विलय भए महन्थ राष्ट्रपति हुने !
परेवान्युज
काठमाडौं, २२ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाली काङ्ग्रेसमा विलय हुने तयारीमा रहेको बुझिएको छ । स्रोतका अनुसार यदि लोसपा काङ्ग्रेसमा विलय भएमा अबको राष्ट्रपति महन्थ ठाकुर हुने निश्चित छ ।
भर्खरै सम्पन्न निर्वाचनमा लोसपा राष्ट्रिय दल समेत हुन सकेन । लोसपाको हाल जम्मा ४ जना मात्रै सांसद छन् । अबको राष्ट्रपति हुने र कुन पार्टीबाट हुने भन्ने जिज्ञाशा उठिरहेको बेला लोसपाको काङ्ग्रेसमा विलय हुने र ठाकुर राष्ट्रपति हुने कुरा सत्यसँग नजिक छ ।
यद्यपि सत्ता गठबन्धनभित्र राष्ट्रपतिसहित उपराष्ट्रपति, प्रधानमन्त्री, समामुख र उपसभामुख कुन-कुन दलले लिने भन्ने सहमति हुनै बाँकी छ । प्रधानमन्त्री नेपाली काङ्ग्रेसले लिएमा राष्ट्रपति र सभामुख उसले नपाउने माओवादी नेताहरूको बुझाइ छ ।
माओवादीले राष्ट्रपतिभन्दा प्रधानमन्त्री वा सभामुखमै चासो राखेको बुझिएको छ । राष्ट्रपतिमा नेकपा एकीकृत समाजवादीको पनि दाबी छ । एकीकृत समाजवादीले राष्ट्रपति पाए झलनाथ खनाललाई पठाउने बुझिएको छ ।
यता माओवादीले राष्ट्रपतिमा हालका उपराष्ट्रपति नन्दकिशोर पुन वा अमिक शेरचनलाई उम्मेदवार बनाउने छ । त्यसैगरी नेपाली काङ्ग्रेसले पाउँदा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भनिए पनि यदि लोसपा काङ्ग्रेसमा विलय हुँदा त्यो अवसर महन्त ठाकुरले पाउने छन् ।
लोसपा नेतृ चन्दा चौधरी चुनाव अघि नै काङ्ग्रेस प्रवेश गरेकी छिन् भने लोसपा नेता शरतसिंह भण्डारी पनि काङ्ग्रेसमा विलय हुन तयार छन् । यता लोसपा नेता राजेन्द्र महतो, अनिल झा, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला भने काङ्ग्रेसमा विलय हुनु अगाडि नै केही बार्गेनिङ गर्ने पक्षमा देखिन्छन् ।

