समानुपातिक मतगणना सकिँदा कुन दललाइ कति सिट ?

काठमाडौं, २१ मंसिर । प्रतिनिधिसभा चुनावअन्तर्गत समानुपातिक पद्धतितर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार सबै जिल्लाबाट मतगणना सकिएको जानकारी आएको छ ।

मत रुजु गर्ने काम भइरहेकाले केही मत तलमाथि हुनसक्ने भएपनि निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब टुंगो लागिसकेको छ ।

कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएकोमा नेकपा एमालेले सर्वाधिक २८ लाख ४५ हजार ६४१ मतसहित पाएर पहिलो दल बनेको छ । यो मतअनुसार एमालेले ३४ सिट पाउनेछ ।

त्यसैगरी काँग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ जसअनुसार उसले ३२ सिट पाउने छ । माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र १४ सिट पाउनेछ ।

यसै चुनावमार्फत उदय भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत पाएको छ जसअनुसार उसले १३ सिट पाउने छ । राप्रपाले ५ लाख ८८ हजार ३१३ मत पाएको छ । उसले ७ सिट पाउने छ ।

योसँगै प्रत्यक्षमा ५७ सिट जितेको काँग्रेसले समानुपातिकको ३२ सिट जोड्दा कुल ८९ सिट पाएको छ भने एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी कुल ७८ सिट प्राप्त गर्दै दोस्रो ठुलो दल बनेको छ ।

माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी कुल ३२ सिट पाएर तेस्रो दल बन्दा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी कुल २० सिट पाउने भएको छ ।

प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय