सुकुम्बासीमाथि छुद्र राजनीति नगरौं- डा.भट्टराई

काठमाडौं, १३ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुम्बासीको विषयमा छुद्र राजनीति गरेर समस्यालाई गिजोल्ने प्रयास नगर्न सुझाव दिएका छन् ।
उनले बाँच्नलाई खाना, बस्नलाई छाना र लगाउनलाई नाना सबै नेपाली नागरिकको मौलिक अधिकार भएको भन्दै त्यसको व्यवस्था गर्नु सबै तहका सरकारको राजकीय दायित्व भएको औंल्याएका छन् । ‘हाम्रो संविधानको मूल मर्म यही हो’ उनले भनेका छन्-‘यसमा कसैले पनि किन्तुपरन्तु नगरौं र आरोपप्रत्यारोप नगरौं ।’
उनले मंगलबार विहान आफ्नो सामाजिक संजालमा लेखेका छन्- ‘आवासविहीन सुकुम्वासीहरूको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौं!’
डा.भट्टराईले लेखेका छन् :-
मेरो पालामा शुरू भएको काठमाण्डौ उपत्यकाका सुकुम्वासी र न्यून आय भएका नागरिकहरूको आवास व्यवस्था सम्बन्धी सरकारी निर्णय र भवन निर्माणका कार्यहरूमा टेकेर यो समस्या दीर्घकालीन रूपले हल गर्न राज्यका सबै अंगहरूले सहकार्य गरून्। मेरो पालामा झैं तत्कालै प्रम तथा मन्त्रीपरिषदको कार्यालयले संयोजन गरेर यो मामिलामा सहजीकरण गर्दा हुन्छ; नत्र निहीतस्वार्थ बोकेका शक्तिहरू,कर्मचारीतन्त्र र संघ,प्देश र स्थानीय तहले कार्यक्षेत्रको रडाको गरेर विषय गिजोलिन र विथोलिन सक्छ।
अब कुरा हैन,काम गरौं! प्रक्रियामुखी हैन,परिणाममुखी बनौं!

