काठमाडौं १ मा रविन्द्रलाई झिनो अन्तरले हराउँदै प्रकाशमान चौथोपटक सांसद

काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् ।
सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रविन्द्र मिश्रलाई केवल १२५ मतको अन्तरले पराजित गरे । सिंहले ७१४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७०१८ मत पाए । यसअघि २०७४ सालको चुनावमा पनि सिंहले विवेकशील साझाबाट उठेका मिश्रलाई करिब ८ सय मतान्तरले पराजित गरेका थिए ।
त्यसैगरी तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४११५, चौथोमा एमालेका किरण पौडेलले ३५३२ मत र पाँचौंमा सुशासन पार्टीका रमेश खरेलले ३१२४ मत पाएका छन् ।

