विश्वकप फुटबल: इरानको पोस्टमा इंग्ल्यान्डको आधा दर्जन गोल

काठमाडौं, ५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत सोमबार भएको पहिलो खेलमा इंग्ल्यान्डले फराकिलो जीत निकालेको छ । इंग्ल्यान्डले एसियाली राष्ट्र इरानलाई ६-२ गोलअन्तरले पराजित गरेको हो ।
इंग्ल्यान्डको जीतमा बुकायो साकाले २ गोल गरे भने जुड बेलिङघम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस र मार्कस रासफर्डले १-१ गोल गरे । इरानका लागि मेहदी तारेमीले दुवै गोल गरे ।
चोटका कारण भने इरानले २० औं मिनेटमा नै गोलरक्षक परिवर्तन गर्नुपरेको थियो । इंग्ल्यान्डको फ्रिकिक डिफेन्स गर्ने क्रममा गोलरक्षक अली बेइरन्भान्द आफ्नै डिफेन्डरसँग ठोक्किएर घाइते भएका थिए ।
३५ औं मिनेटमा इंग्ल्यान्डले जुड बेलिंघमको गोलमार्फत अग्रता लिएको थियो । ४३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै २-० को अग्रता दिलाए । इन्ज्युरी समयको पहिलो मिनेटमा रहिम स्टर्लिङले ह्यारी केनको पासमा गोल गर्दै टोलीलाई पहिलो हाफमा ३-० ले अघि राखे ।
६२ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ४-० ले अगाडि बढाए । ६५ औं मिनेटमा मेहदी तारेमीले इरानका लागि एक गोल फर्काए । उनले पेनाल्टी क्षेत्र भित्रबाट शक्तिशाली प्रहार गरेका थिए ।
मैदान प्रवेश गरेको एक मिनेटमै मार्कस रासफर्डले गोल गर्न सफल भएपछि इंग्ल्यान्ड ५-१ ले अघि बढ्यो । खेलको ८९ औं मिनेटमा ज्याक ग्रिलिसले अर्को गोल थपेपछि इंग्ल्यान्डको आधा दर्जन गोल पुग्यो ।
इन्ज्युरी समयको अन्त्यतिर इरानले भीएआरको सहायताले प्राप्त पेनाल्टीमा गोल गर्दै खेललाई ६-२ को स्थितिमा ल्याएको थियो । तारेमीले व्यक्तिगत दोस्रो गोल गरे ।
यस जीतसहित इंग्ल्यान्डले समूह बी मा ३ अंक जोडेको छ ।

