व्यवहार बदलौं, स्वास्थ्य र अर्थतन्त्र जोगाऔं

योगेश बस्ताकोटी

 

नेपाली समाजमा चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक उत्सवमा सीमित छैनन्। यी पर्व परिवार, समुदाय र सामाजिक सम्बन्धलाई जोड्ने अवसर पनि हुन्। तर पछिल्ला वर्षमा चाडपर्व मनाउने शैलीसँगै उपभोगको प्रवृत्तिमा पनि परिवर्तन आएको छ। स्वदेशी उत्पादनभन्दा आयातित वस्तुको प्रयोग बढ्दो छ भने चाडपर्वको तयारीमा अनावश्यक खर्च र देखासिकीसमेत बढिरहेको छ।

नेपालको अर्थतन्त्रमा अन्तिम उपभोग खर्चको हिस्सा उच्च छ। यसको अर्थ आम्दानीको ठूलो हिस्सा वस्तु तथा सेवाको उपभोगमा खर्च भइरहेको छ। दशैँ, तिहार, छठलगायतका चाडपर्वमा बजारमा हुने कारोबारले पनि यो प्रवृत्तिलाई थप स्पष्ट पार्छ। तर चाडपर्वमा हुने खर्चको ठूलो हिस्सा आयातित सामग्रीमा जाने हो भने त्यसले देशको व्यापार घाटा बढाउन र विदेशी मुद्रा बाहिरिन योगदान पुर्‍याउँछ।

तिहारलाई नै उदाहरणका रूपमा लिने हो भने झिलिमिली बत्ती, प्लास्टिकका माला, सजावटका सामग्री तथा भाइमसलामा प्रयोग हुने काजु, बदाम, पिस्ता, ओखर, नरिवल र किसमिसजस्ता वस्तुको ठूलो हिस्सा विदेशबाट आयात हुन्छ। चाडपर्वको समयमा यस्ता सामग्रीको माग बढ्दा आयातमा थप दबाब पर्छ।

हामीले मनाउने चाडपर्वमा खर्च हुने रकमको सानो हिस्सा मात्रै स्वदेशी उत्पादन र स्थानीय बजारतर्फ मोड्न सक्यौँ भने त्यसले स्थानीय किसान, कालिगड, हस्तकला व्यवसायी र साना उद्यमीलाई प्रत्यक्ष लाभ पुर्‍याउन सक्छ। यसले रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजार विस्तार र स्वदेशी अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ।

त्यसैले चाडपर्व मनाउने शैलीमा सामान्य परिवर्तन गर्दै स्वदेशी उत्पादन, स्वस्थ खानपान र स्थानीय पर्यटनलाई प्राथमिकता दिन आवश्यक छ।

झिलिमिली बत्तीको सट्टा माटाका दियो

तिहारको मुख्य पहिचानमध्ये एक हो उज्यालो। घर, कार्यालय र सार्वजनिक स्थानमा बत्ती बालेर सजाउने परम्परा छ। पछिल्लो समय बजारमा पाइने विद्युतीय बत्ती र प्लास्टिकका सजावटका सामग्रीको प्रयोग बढेको छ। तर तिहारको उज्यालोका लागि आयातित सामग्रीमै निर्भर हुनुपर्ने अवस्था छैन।

माटाका पाला अर्थात् दियो बाल्ने परम्परा हाम्रो संस्कृतिसँग जोडिएको छ। स्थानीय माटोबाट बनेका पाला खरिद गर्दा प्रजापति समुदाय तथा माटाका भाँडा बनाउने कुम्हालेहरूको आम्दानीमा सहयोग पुग्छ। तोरीको तेल वा घिउ र कपासको बत्ती प्रयोग गरेर दियो बाल्दा परम्परागत संस्कृतिको संरक्षणसमेत हुन्छ।

कृत्रिम फूल होइन स्थानीय उत्पादन

त्यस्तै, प्लास्टिकका माला र कृत्रिम फूलको सट्टा स्थानीय किसानले उत्पादन गरेका सयपत्री, मखमली र गोदावरीका फूल प्रयोग गर्न सकिन्छ। घरआँगन, खेतबारी र स्थानीय बजारमा उपलब्ध प्राकृतिक फूलले तिहारको सजावटलाई मौलिक बनाउनुका साथै किसानको उत्पादनले बजार पाउँछ।

उपहारमा स्वदेशी उत्पादन रोजौं

भाइटीका तिहारको महत्वपूर्ण पक्ष हो। यस अवसरमा दाजुभाइ तथा दिदीबहिनीबीच उपहार आदानप्रदान गर्ने चलन छ। तर उपहारका नाममा महँगा आयातित सामग्री खरिद गर्ने प्रवृत्ति बढ्दै गएको छ।

यसको विकल्पमा नेपाली ढाकाका टोपी, अल्लो वा सनपाटबाट बनेका कपडा, हस्तकलाका सामग्री, स्थानीय चिया, कफी, मह तथा अन्य कृषि उत्पादन उपहार दिन सकिन्छ। परिवारका सदस्यले आफैँ बुनेका स्विटर वा तयार पारेका सामग्रीले उपहारलाई थप आत्मीय बनाउन सक्छन्।

उपहारको मूल्यभन्दा त्यसमा जोडिएको भावना र उपयोगिता महत्वपूर्ण हुन्छ। स्वदेशी उत्पादनलाई उपहारका रूपमा रोज्दा स्थानीय उद्यमी र उत्पादकलाई बजार उपलब्ध गराउन पनि सकिन्छ।

घरमै बनाऔं परम्परागत परिकार

तिहारमा मिठाई, रोटी तथा विभिन्न परिकारको विशेष महत्व हुन्छ। पछिल्लो समय बजारमा पाइने प्याकेटका मिठाई र तयारी खानेकुराको प्रयोग बढेको छ। तर बजारबाट किनिएका सबै खानेकुरा गुणस्तरीय र सुरक्षित हुन्छन् भन्ने हुँदैन। उत्पादन, भण्डारण र बिक्री प्रक्रियामा लापरबाही हुँदा मिसावट वा खाद्य सुरक्षासम्बन्धी समस्या देखिन सक्छ।

यसको एउटा विकल्प घरमै परम्परागत परिकार तयार गर्नु हो। सेलरोटी, अटोसा, अनरसा, फिनी, झिलिङ्गा, अर्सा र खजुरियाजस्ता परिकार नेपाली खानपानका मौलिक पहिचान हुन्। तिहारका दिन परिवारका सबै सदस्य मिलेर यस्ता परिकार बनाउँदा पारिवारिक सम्बन्ध थप प्रगाढ बनाउन सकिन्छ।

अहिले परिवारका सदस्यले सामाजिक सञ्जालमा बिताउने समयलाई पनि यस्ता सामूहिक गतिविधिमा लगाउन सकिन्छ। सँगै बसेर परिकार बनाउने, खाने र कुराकानी गर्ने अवसरले चाडपर्वको आत्मीयता बढाउँछ।

तर घरमै बनाउँदा पनि खाद्य सुरक्षामा ध्यान दिन आवश्यक छ। विशेषगरी मिठाई र रोटीलाई आकर्षक देखाउन अखाद्य रङ प्रयोग गर्नु हुँदैन। खाद्य प्रयोजनका लागि स्वीकृत रङ प्रयोग गर्दा पनि तोकिएको मापदण्ड र मात्राको पालना गर्नुपर्छ। त्यस्तै, पटक–पटक तताइएको वा गुणस्तर बिग्रिएको तेल प्रयोग गर्नु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ। पकाउने ठाउँ, भाँडा र खानेकुरा भण्डारण गर्ने स्थान सफा राख्नु पनि उत्तिकै आवश्यक छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको गुणस्तर र स्वच्छतासम्बन्धी मापदण्ड निर्धारण गरेको छ। उपभोक्ता तथा खाद्य व्यवसायीले यस्ता मापदण्ड पालना गर्दा चाडपर्वमा खाद्यजन्य जोखिम कम गर्न सकिन्छ।

विदेश भ्रमणभन्दा आन्तरिक पर्यटनलाई प्राथमिकता

तिहार र छठका अवसरमा सरकारी तथा निजी क्षेत्रमा केही दिन बिदा हुन्छ। यही समयलाई सदुपयोग गर्दै धेरै नेपाली घुमफिरको योजना बनाउँछन्। यस्तो अवस्थामा विदेश भ्रमणसँगै देशभित्रका पर्यटकीय गन्तव्यलाई पनि प्राथमिकतामा राख्न सकिन्छ।

नेपालमा प्राकृतिक सौन्दर्य, संस्कृति र स्थानीय जीवनशैली अनुभव गर्न सकिने अनेकौँ गन्तव्य छन्। काठमाडौं उपत्यकानजिकका होमस्टेदेखि पोखरा, बन्दीपुर, लमजुङको घलेगाउँ, इलामका चियाबारी, मुस्ताङ, रारा र चितवनका थारू होमस्टेसम्मका स्थानमा भ्रमण गर्न सकिन्छ।

आन्तरिक पर्यटनले स्थानीय होटल, होमस्टे, यातायात व्यवसायी तथा साना उद्यमीलाई प्रत्यक्ष आम्दानीको अवसर दिन्छ। पर्यटकको आवागमन बढ्दा स्थानीय उत्पादन, कृषि उपज र हस्तकलाका सामग्रीको बिक्रीसमेत बढ्न सक्छ।

त्यस्तै, नेपालका विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वका फरक परम्परा र संस्कृतिबारे बुझ्ने अवसर पनि आन्तरिक भ्रमणबाट प्राप्त हुन्छ। नेवार समुदायको म्ह पूजा, विभिन्न समुदायका देउसी–भैलो तथा स्थानीय सांस्कृतिक गतिविधिलाई नजिकबाट अनुभव गर्न सकिन्छ।

स्थानीय सरकारदेखि उपभोक्तासम्मको भूमिका

स्वदेशी र दिगो चाडपर्वको अवधारणा व्यवहारमा उतार्न उपभोक्ताको व्यक्तिगत निर्णयसँगै स्थानीय सरकार र निजी क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुन्छ।

स्थानीय सरकारले चाडपर्व लक्षित स्वदेशी उत्पादनको बजार प्रवर्द्धन गर्न सक्छन्। स्थानीय किसान, कालिगड, हस्तकला व्यवसायी र साना उद्यमीलाई आफ्ना उत्पादन बिक्री गर्ने अवसर उपलब्ध गराउन सकिन्छ। स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री केन्द्र सञ्चालन, स्वदेशी फूल र माटाका सामग्रीको प्रयोगलाई प्रोत्साहन तथा खाद्य सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिन्छ।

त्यस्तै, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि स्थानीय गन्तव्यको प्रचारप्रसार, होमस्टे तथा पर्यटकीय पूर्वाधारको सुधार र स्थानीय संस्कृति संरक्षणमा पनि ध्यान दिन आवश्यक छ। विद्यालय, संघसंस्था र समुदायले समेत स्वदेशी उत्पादनको प्रयोग तथा वातावरणमैत्री चाडपर्वबारे सचेतना फैलाउन सक्छन्।

चाडपर्व मनाउने शैलीमा परिवर्तन ल्याउन ठूलो त्याग वा खर्च आवश्यक पर्दैन। आयातित बत्तीको सट्टा माटाका दियो बाल्ने, प्लास्टिकका मालाको सट्टा स्थानीय फूल प्रयोग गर्ने, उपहारमा स्वदेशी उत्पादन रोज्ने, घरमै परम्परागत परिकार बनाउने र बिदामा देशभित्रै घुम्ने जस्ता सामान्य निर्णयले पनि सकारात्मक प्रभाव पार्न सक्छन्।

तिहारलगायतका पर्व केवल खाने, पिउने, बत्ती बाल्ने, टीका लगाउने र देउसी–भैलो खेल्ने अवसर मात्र होइनन्। यी पर्व प्रकृति, प्राणी जगत्, मानवीय सम्बन्ध र समाजप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि हुन्।

आफ्नो संस्कृति जोगाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिनु, स्वास्थ्यप्रति सचेत रहनु र वातावरणमैत्री विकल्प रोज्नु आजको आवश्यकता हो। स्वदेशी उत्पादनको प्रयोगले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउँछ भने सुरक्षित खानपान र जिम्मेवार उपभोगले परिवारको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ।

बाहिरी झिलिमिलीसँगै आफ्नो सोच र व्यवहारमा पनि परिवर्तन ल्याउन सके तिहारको उज्यालो घरमा मात्र होइन, समाज र अर्थतन्त्रमा समेत फैलिन सक्छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय