नारायण गोपाल र ‘बा.अ.म. ६४८’
डा.टीका भण्डारी
नारायण गोपालको त्यो मोटरसाइकल जसले अहिलेपनी धेरै कुरा संझाउँछ। ‘बा.अ.म. ६४८’ नम्बरको यो एउटा मोटरसाइकल अनेक स्मृति र जीवनको एउटा गम्भीर दर्शन बनेको छ।
१. एउटा मोटरसाइकल, एउटा परिचय
‘बा.अ.म. ६४८’ नम्बरको Honda CG125 मोटरसाइकल नेपाली सङ्गीतका धेरै पुराना साधक र सङ्गीतप्रेमीहरूको स्मृतिमा आज पनि ताजै छ। त्यो समय काठमाडौंका सडकमा मोटरसाइकलको सङ्ख्या निकै कम थियो। नेपालका कतिपय ठूला भनिएका कलाकारहरू समेत साइकलमा यात्रा गर्थे। तर स्वरसम्राट नारायण गोपाल भने आफ्नो मोटरसाइकलमा जीवनको अन्तिम समयसम्म पनि दौडिरहे। उनको मोटरसाइकल केवल आवागमनको साधन थिएन, त्यो उनको व्यक्तित्व र जीवनशैलीको एउटा अभिन्न हिस्सा बनिसकेको थियो।
२. मोटरसाइकल सिकाउने गुरु : नगेन्द्र थापा
नारायण गोपालले मोटरसाइकल चलाउन सिक्ने क्रममा उनका गुरु बनेका थिए गीतकार नगेन्द्र थापा।
काठमाडौंको ठमेलस्थित नरसिंह चोकमा उनले मोटरसाइकल चलाउन सिकेका थिए। त्यसपछि ‘बा.अ.म. ६४८’ उनको नियमित यात्राको साथी बन्यो। त्यही मोटरसाइकल चढेर उनी रेडियो नेपालमा गीत रेकर्ड गर्न पुग्थे। रत्न रेकर्डिङ संस्थान, नाचघर र सङ्गीतकर्मसँग सम्बन्धित विभिन्न गन्तव्यमा उनको यात्रा यही मोटरसाइकलबाट हुन्थ्यो। नारायण गोपालले मोटरसाइकल चढ्न थालेपछि कतिपयले ईर्ष्या समेत गरेको प्रसङ्ग सुनिन्छ। समयको सामाजिक परिवेश र कलाकारहरूको जीवनशैलीलाई हेर्दा यो प्रसङ्ग आफैँमा रोचक लाग्छ।
३. मोटरसाइकलप्रतिको मोह र आत्मीयता
नारायण गोपाल आफ्नो मोटरसाइकललाई आफूलाई जत्तिकै माया गर्थे भन्ने गरिन्छ। मोटरसाइकल अरूलाई चलाउन दिन त परै जाओस्, छुनसमेत दिन मन पराउँदैनथे। तर पछाडि राखेर यात्रा गराउन भने कहिल्यै कन्जुस्याईं गर्दैनथे। यो उनको स्वभावको एउटा रोचक विरोधाभास थियो-आफ्नो प्रिय वस्तुप्रति अगाध मोह, तर आत्मीय मित्रहरूका लागि सधैँ खुला मन। उनको मोटरसाइकलमा पछाडि बसेर यात्रा गर्नेहरूले पनि त्यससँग जोडिएका अनेक स्मृतिहरू सँगालेका छन्।
४. ‘सोम, जिन्दगी यस्तै छ है…’ : एउटा वाक्य, अनेक अर्थ
नारायण गोपालको मोटरसाइकलसँग जोडिएको सबैभन्दा गम्भीर र अर्थपूर्ण प्रसङ्गमध्ये एउटा सङ्गीतकार अम्बर गुरुङसँग सम्बन्धित छ। एक दिन गायक दीप श्रेष्ठको घरमा आयोजित पार्टीमा सहभागी भएर राति करिब बाह्र बजे फर्कंदै गर्दा नारायण गोपालले अम्बर गुरुङलाई आफ्नो मोटरसाइकलको पछाडि राखेर घर पुर्याएका थिए।
दुवैले केही मदिरा सेवनसमेत गरेका थिए।
अम्बर गुरुङको घरको गेटनजिकै मोटरसाइकल रोकेर अम्बर ओर्लिएपछि नारायण गोपालले भनेछन्-
“सोम, जिन्दगी यस्तै छ है…”
सामान्य अवस्थामा उच्चारण गरिएको जस्तो लाग्ने यो वाक्यभित्र एउटा असामान्य गम्भीरता लुकेको थियो। त्यसमा के थियो-जीवनप्रतिको वितृष्णा, कुनै अदृश्य पीडा, आत्मस्वीकृति अथवा गहिरो दार्शनिक अनुभूति? नारायण गोपालले के सोचेर त्यो वाक्य बोलेका थिए, त्यसको निश्चित अर्थ उनैलाई थाहा होला। तर अम्बर गुरुङका लागि त्यो एउटा सामान्य वाक्य मात्र रहेन। त्यसले उनलाई रातभरि सोचमग्न बनायो। निद्रासमेत परेन। अम्बर गुरुङले आफ्नो संस्मरणात्मक कृति ‘बागीना’मा यस प्रसङ्गलाई उल्लेख गरेका छन्। कहिलेकाहीँ मानिसले लामो व्याख्यान दिनुपर्दैन। एउटा सानो वाक्यले पनि जीवनका अनेक अनुत्तरित प्रश्नहरू मनभित्र उब्जाइदिन सक्छ।
५. गुलाबी शलमा पेमला भाउजू र हुइँकिँदो मोटरसाइकल
नारायण गोपालको मोटरसाइकलसँग जोडिएको अर्को सुन्दर दृश्य सङ्गीतकार शम्भुजित बास्कोटाको स्मृतिमा पनि सुरक्षित छ। एक दिन पेमला भाउजू गुलाबी शल ओढेर मोटरसाइकलको पछाडि बसेकी थिइन्। अगाडि नारायण गोपाल थिए। उनी मोटरसाइकल हुइँक्याउँदै कतै जाँदै थिए। त्यो दृश्य शम्भुजित बास्कोटाले नजिकैबाट देखेका रहेछन्। आज पनि नारायण गोपालको मोटरसाइकलको प्रसङ्ग उठ्दा त्यो दृश्य उनको स्मृतिमा चलचित्रको दृश्यझैँ सजीव भएर आउँछ। कहिलेकाहीँ जीवनका सबैभन्दा सुन्दर दृश्यहरू कुनै क्यामेरामा कैद भएका हुँदैनन्। ती त मानिसको स्मृतिको पर्दामा जीवनभरि चलिरहन्छन्।
६. एउटा ऐतिहासिक धरोहर
नारायण गोपालको निधनपछि उनका जीवनसँग जोडिएका वस्तु र स्मृतिहरूको संरक्षणको विषय पनि महत्त्वपूर्ण बन्यो। उनले प्रयोग गरेको ‘बा.अ.म. ६४८’ नम्बरको Honda CG125 मोटरसाइकल र हेल्मेट आज नारायण गोपाल सङ्गीत कोषसँग जोडिएको ऐतिहासिक स्मृतिका रूपमा चिनिन्छन्। महाराजगञ्जस्थित प्रतिष्ठानमा यी सामग्री अवलोकन गर्न सकिने व्यवस्था रहेको बताइन्छ। कुनै समय काठमाडौंका सडकमा हुइँकिएको त्यो मोटरसाइकल आज एउटा युगको साक्षी बनेको छ। त्यसका पाङ्ग्रा रोकिए होलान्, तर त्यसले बोकेका कथा, सम्बन्ध र सम्झनाहरू अझै चलायमान छन्।
७. स्मृतिको यात्रामा नारायण गोपाल
नारायण गोपाललाई हामी उनका कालजयी गीत, गम्भीर स्वर, विशिष्ट गायकी र सङ्गीतप्रतिको अगाध समर्पणबाट सम्झन्छौँ। तर उनको मोटरसाइकलको यो कथा पढ्दा एउटा फरक नारायण गोपाल पनि देखापर्छन्-आफ्नो प्रिय वस्तुलाई माया गर्ने, मित्रलाई पछाडि राखेर यात्रा गराउने, जीवनका गम्भीर अनुभूतिलाई एउटा सानो वाक्यमा व्यक्त गर्ने र पत्नीलाई पछाडि राखेर काठमाडौंका सडकमा हुइँकिने एक आत्मीय मानिस।
‘बा.अ.म. ६४८’ नम्बरको त्यो मोटरसाइकल अब केवल एउटा यान्त्रिक वस्तु रहेन। त्यो नेपाली सङ्गीतको एउटा समय, एउटा पुस्ता र एउटा विशिष्ट व्यक्तित्वसँग गाँसिएको स्मृतिको प्रतीक बनेको छ।
समयले मानिसलाई हामीबाट टाढा लैजान्छ, तर मानिससँग जोडिएका वस्तुहरूले कहिलेकाहीँ उसलाई फेरि हाम्रो नजिक ल्याइदिन्छन्। नारायण गोपालको मोटरसाइकल पनि त्यस्तै एउटा स्मृति हो-जसको यात्रा रोकिएको छ, तर कथा अझै बाँकी छ।
यो मोटर साइकल अहिले नारायण गोपाल सङ्गीत कोषमा सजाएर राखिएको छ, जहाँ नवनिर्मित नारायण गोपाल-पेमला गीत गङ्गा अडिटोरियम समेत रहेको छ।
तस्विर : दिपक केसी, अध्यक्ष नारायण गोपाल सङ्गीत कोष।

