पत्नी ममताको शव टुक्रा पारेको नरेशको बयान

काठमाडौं । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले पत्नीको शव टुक्रा पारेको अदालतमा बयान दिएका छन्। उनले शयनकक्षको भुइँमा पत्नीको शव भेटेपछि टुक्रा पार्न थालेको र शारीरिक शक्ति नपुगेपछि काम रोक्नुपरेको बताएका छन्।

हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बिहीबार बयान दिँदै नरेशले सन् २०२४ जुलाई ३० को बिहान पत्नीलाई शयनकक्षको भुइँमा मृत अवस्थामा फेला पारेको बताएका हुन्। उनका अनुसार ममताको अनुहार र भुइँमा बान्ता थियो। बान्तामा रगत, खानाका कण, औषधिका क्याप्सुल र कीरा मार्न प्रयोग हुने शक्तिशाली कृषि रसायन सेल्फोसको अवशेष रहेको उनले दाबी गरेका छन्।

नरेशले पत्नीलाई छोएको, बोलाउने प्रयास गरेको, सीपीआर दिएको र बचाउन अन्य उपाय अपनाएको बताए। त्यसपछि उनले शव टुक्रा पार्ने निर्णय गरेको र सुरुमा खुट्टा तथा धड छुट्याउने प्रयास गरेको बयान दिएका छन्।

उनका अनुसार उनले शवलाई बाथरुममा सारेका थिए। तर, शारीरिक शक्ति नपुगेपछि पहिलो दिन नै शव टुक्रा पार्ने काम रोके। त्यसपछि शयनकक्षको ढोका बच्चा फेर्न प्रयोग गरिने स्टेसनले छेकेर छोरीलाई लिन गएको, खाना खुवाएको र सुताएको उनले अदालतमा बताए।

त्यो रात आफू सुत्न नसकेको पनि नरेशले बताएका छन्। परिवारले प्रार्थना गर्ने कोठामा गएको हो कि होइन भन्ने प्रश्नमा उनले डरका कारण त्यहाँ नगएको जवाफ दिएका थिए।

नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको अभियोग छ। ममताको शव अहिलेसम्म फेला परेको छैन। सन् २०२४ अगस्टमा पक्राउ परेदेखि नरेश हिरासतमा छन्।

ममता युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। उनी काममा उपस्थित नभएपछि प्रहरीले उनको खोजी तथा अनुसन्धान सुरु गरेको थियो। सुरुमा नरेशले पत्नी हराएको भन्ने आफूलाई नलागेको र अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए। उनका साथी तथा परिवारका सदस्यले भने उनले शिशु छोरीलाई छाडेर जाने सम्भावना नरहेको बताएका थिए।

नरेशले अगस्ट ५ मा पत्नी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए। उनले ममताले घर छाड्ने धम्की दिएको र सम्बन्धविच्छेदको कुरा गरेको बताएका थिए। अगस्ट २२ मा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यसअघि अनुसन्धानकर्ताले दम्पतीको मुख्य शयनकक्ष र बाथरुममा रगतका दाग फेला पारेका थिए। प्रहरीले कपालका टुक्रा रहेको एउटा विद्युतीय आरा पनि बरामद गरेको थियो।

-फक्स फाइभबाट

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय