मदनकृष्णको जीवनीमा चलचित्र बन्ने, शीर्ष भूमिकामा महेश

काठमाडौँ। वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित जीवनीपरक चलचित्र निर्माण हुने भएको छ।
निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा चयन भएका छन्।
चलचित्रमा त्रिपाठीले मदनकृष्ण श्रेष्ठको युवावस्था र कलात्मक यात्राको भूमिका निर्वाह गर्नेछन्। श्रेष्ठकी स्वर्गीय पत्नी यशोदा सुवेदीको भूमिकामा भने अधिकारी देखिनेछिन्। चलचित्रले श्रेष्ठको प्रेरक र संघर्षमय जीवनकथालाई पर्दामा ल्याउने तयारी गरेको छ।
यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता जीवनीपरक चलचित्र निर्देशन गरेर पहिचान बनाएका चाम्सले यस ऐतिहासिक चलचित्रको निर्देशन सम्हाल्न लागेका हुन्। ‘हल्कारा’, ‘परान’ र ‘लाज शरणम्’ जस्ता चलचित्रमा सशक्त अभिनय गरेका त्रिपाठीलाई मदनकृष्णको भूमिकाका लागि छानिएको हो।
चलचित्रमा मदनकृष्णको बाल्यकाल र समाजमा जातीय विभेद कायम रहेको समयमा भएको उनको अन्तरजातीय विवाहको कथा समेटिनेछ। यसका साथै पत्नी यशोदाको क्यान्सरसँगको संघर्ष र हरिबंश आचार्यसँग मिलेर बनेको ऐतिहासिक ‘महजोडी’ को कालखण्ड यस चलचित्रका मुख्य आकर्षण हुनेछन्।
चलचित्रले आम दर्शकलाई गहिरो भावना र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। ‘मदनकृष्ण श्रेष्ठको जीवनका विविध आयाम र कला यात्रालाई न्याय हुने गरी चलचित्र निर्माण गरिनेछ,’ निर्देशक चाम्सले भने। चलचित्रको अन्य प्राविधिक पक्ष र छायांकनको तयारी तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।

