रास्वपा महाधिवेशन : रवि-बालेन शक्ति सन्तुलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनले कस्तो नेतृत्व कसरी चयन गर्ला भन्ने कौतुहलता धेरैलाई हुनसक्छ ।तर,रास्वपाले भने नेतृत्व चयनमा खासै अदलबदल नगर्ने संकेत दिएको छ।

महाधिवेशन उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई ५ वर्ष पुरै प्रधानमन्त्रीमा निरन्तरता दिने बताएसँगै पार्टीमा आफ्नो बर्चस्व सुनिश्चित गरेका छन् । रास्वपाले बिधान संशोधन गरेरै पार्टी सभापतिलाई धेरै अधिकार पनि दिएको छ। जसमा मुख्यतः सभापतिले ५० जना केन्द्रीय सदस्य सहित पदाधिकारी समेत छान्न पाउने व्यवस्था छ। यसले पार्टी भित्र शक्ति सन्तुलन मिलाउन र अन्य पार्टीबाट जोडिएकालाई पद दिन सभापतिलाई सजिलो हुनेछ।

भरतपुरमा भैरहेको यो महाधिवेशनले सभापति र वरिष्ठ नेताको लागि चुनावी प्रतिस्पर्धा नै हुने देखिदैन । अर्थात ती पदमा अन्य कसैले दाबी छ भन्न सक्ने अवस्था छैन। सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन शाह निर्विकल्प देखिन्छन् । हिजोको उद्घाटन सत्रमा दुबैको सम्बोधन र एकअर्कालाई गरेको समर्थनले पनि यसको पुष्टि गर्दछ। सभापतिमा चुनावी प्रक्रिया औपचारिकताका लागि मात्रै सुरु हुनेछ र रवि लामिछाने निर्विरोध हुनेछन् भने वरिष्ठ नेताको पदमा चुनावी प्रक्रिया नै नहुने निश्चित छ।

त्यसैगरी ९९ सदस्यीय केन्द्रीय समितिको चुनाव हुनेछ। जसबाट चुनिएर आएका मध्यबाटै पदाधिकारी चुनिने छन् । बाहिर हल्ला गरिएको जस्तो पदाधिकारीमा पनि चुनाव नहुन सक्छ। रवि-बालेन सहमतिमा नै १९ पदाधिकारी चयन हुने देखिन्छ। त्यसमा पनि सभापति र वरिष्ठ बाहेक उपसभापति स्वर्णिम वाग्ले,महामन्त्री भुपदेव शाह र कबिन्द्र बुर्लाकोटीको पद सुनिश्चित छ। बाकी दुई उपसभापति मध्य बालेन समुहबाट सुनिल लम्साल वा असिम शाह मध्य एकले बाजिमार्ने पक्का छ।

त्यसैगरी महिला उपसभापतिमा विवेकशील पार्टीबाट समायोजन हुन आएका मध्यबाट समिक्षा बाँस्कोटको संभावना बढी छ। यद्यपि रवि पक्षबाट सोबिता गौतम पनि दावेदार देखिन्छिन। तर,यसमा पनि सहमति खोज्ने प्रयास भैरहेको छ, चुनावी प्रतिस्पर्धा हुने देखिन्न। सहमहामन्त्री,कोषाध्यक्ष र प्रवक्तामा भागबन्डा गरिने पक्कापक्की छ। मनिष झा,दिपक बोहोरा,हरि ढकाल,प्रतिभा रावल,लिमा अधिकारी,रन्जु दर्शना,प्रकाशचन्द्र परियार लगायतको पद मिलान भागबन्डा मै हुनेछ।

केन्द्रीय समितिमा झन्डै ३ सय जतिले सामाजिक संजाल मार्फत उम्मेदवार हुने चाहना राखेकोले यसमा चुनाव हुनसक्छ । यद्यपि कसलाई जिताउने र नजिताउने भन्ने पार्टी नेतृत्वले भित्रबाटै सर्कुलर गर्ने देखिन्छ। पार्टीमा स्पष्ट गुट नदेखियोस र कसैको मन पनि नदुखोस भनेर सहमति मै केन्द्रीय समिति टुंगिन पनि सक्छ। रास्वपाले चुनावी प्रतिस्पर्धाका लागि शुल्क र समर्थकमा कडाइ गरेका कारण मन हुनेले पनि प्रतिस्पर्धा गर्न नसक्ने अवस्था पनि छ।

निर्वाचन समितिले सभापति उम्मेदवारलाई ५१ हजार दस्तुर र ५१ जनाको समर्थन हुनुपर्ने भनेको छ। यसमा रवि लामिछानेलाई सहज नै हुनेछ। तर,पदाधिकारी हुन ४१ हजार दस्तुर र ४१ जनाको समर्थन गाह्रो छ। किनभने सर्थन गर्नेले गुट क्लियर गर्नैपर्ने हुन्छ। यो भनेको कुनै उम्मेदवारको पक्षमा ४१ जना खुल्नै पर्‍यो। त्यसैगरी केन्द्रीय सदस्य हुन २१ हजार दस्तुर र २१ जना समर्थक सबैले जुटाउन गाह्रो हुन्छ। पैसा र समर्थककै कारण पनि केही आकांक्षी घट्ने निश्चित छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय