रास्वपा महाधिवेशन आजदेखी, ४२०० प्रतिनिधि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आज (आइतबार)देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र बरिस्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेछन् ।
असार ९ गतेसम्म चल्ने महाधिवेशनमा देश तथा विदेशका पार्टी सदस्यहरुबाट छानिएका ४ हजार २ सय प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ। प्रारम्भिक तथ्यांक अनुसार ४ हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ। यद्यपि यो संख्या बढ्न पनि सक्छ।
सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्यांकमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ।यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने छन् । विधानतः सभापतिले मनोनय गर्ने संख्या २०० रहेको छ। यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठले बताए।
रास्वपाको शनिबार बेलुकी भरतपुर मै बसेको अन्तिम केन्द्रीय समितिको बैठकमा सभापतिले विधानतः मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेस गरेका थिए। त्यसलाई थपेर अन्तिम नामावली तयार पारिदै छ।उद्घाटन सत्र अगाडि सबै टुंगो लाग्ने आयोजकको भनाइ छ।
प्रारम्भिक तथ्यांकअनुसार कोशी प्रदेशबाट प्रतिनिधि संख्या ५२० रहेको छ । मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उनले बताए।
महाधिवेशन प्रतिनिधिका रुपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना, प्रदेश समितिका सबै सदस्यहरु रहने व्यवस्था छ ।
यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ । सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन् ।
प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि हुनेछन् । प्रदेश सम्पर्क विभागबाट तीन जनाका दरले र जिल्ला सम्पर्क विभागबाट एक–एक जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ ।
गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाकातर्फबाट उपविजेता र समानुपातिक सूचीमा रहेका प्रतिनिधि हुनेछन् । यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उपविजेता र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहनेछन् । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यसमेत प्रतिनिधि हुने व्यवस्था छ ।
महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्र स्थित हलमा हुनेछ । महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहितका सबै नेताहरु शनिबार नै चितवन पुगेका छन् । तर,प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह भने आइतबार दिउँसो मात्रै चितवन पुग्ने कार्यक्रम रहेको छ । महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिनको लागि नेपाली कांग्रेस,नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी,राप्रपा र श्रम संस्कृति पार्टीलाई पनि निम्तो गरिएको छ।

