जेठ २३ मा बौद्ध महोत्सव हुने

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-६ बौद्धले आगामी जेठ २३ गते बौद्धमा महोत्सव गर्ने भएको छ।
‘हाम्रो बौद्ध,हाम्रो संस्कृति,हाम्रो उत्सव’ नारा सहित महोत्सव गरिन लागेको बुधबार पत्रकार सम्मेलन गर्दै कामपा ६ का वडा अध्यक्ष भुवन लामाले ‘बौद्ध महोत्सव-२०८३’ बारे जानकारी दिए।
काठमाडौं महानगरपालिका वडा नम्बर-६ को आयोजनामा हुने महोत्सवमा ५० लाख खर्च अनुमान गरिएको छ। महोत्सव सफल पार्न वडा भित्रका सबै संघ संस्था र नागरिकलाई आग्रह गरिएको अध्यक्ष लामाले बताए। त्यसदिन बौद्धका केही निश्चित ठाउँमा नि:शुल्क पार्किङको व्यवस्था हुने र महोत्सवमा धेरै भन्दा धेरैले अवलोकन गर्ने मौका मिलाइने उनको भनाइ थियो।
त्यसैगरी यहाँको धार्मिक एवं सांस्कृतिक पक्षलाई संरक्षण गर्ने अनि सबै किसिमका धर्म संस्कृतिलाई संरक्षण गर्ने र मौलिक खानेकुरा, स्थानीय भेषभुसासँगै पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले यो महोत्सव गर्न खोजिएको पनि अध्यक्ष लामाले पत्रकार सम्मेलनमा बताए।
महोत्सव सफल पार्न वडा अध्यक्ष भुवन लामाको अध्यक्षतामा मुल समारोह समिति बनाइएको छ। जसमा वडा सचीव कमल गौतमलाई सदस्य सचीव तोकिएको छ। ५० लाखको बजेटमा यो महोत्सव हुन लागेकोले महानगरपालिकाले वडा मार्फत त्यति नै बजेट विनियोजन गरिएको छ। महोत्सवमा परम्परा झल्किने कुनैपनी स्टल राख्न चाहनेले नि:शुल्क राख्न पाउने छन् । स्टलमा अर्गानिक खाना र कलात्मक कुराहरू बढी हुनेछन् । जसले गर्दा पुरानो पुस्ताले बाँचेको जीवन र अहिलेको पुस्ताले बाँचिरहेको जीवन बारे पनि जान्न र बुझ्न सकिने छ।

महोत्सवमा विभिन्न ख्यातिप्राप्त ब्याण्डलाई पनि समावेश गरिएको छ। फुर्वा एण्ड ब्याण्ड, द पासा रकर्स, द रेन्डर, हर्कुलेश बस्नेत,द एक्स लगायतको प्रस्तुति हुनेछ। हिन्दु र बुद्ध धर्म मान्नेको जन्मदेखी मृत्युसंस्कार सम्मको गतिविधि महोत्सवमा झल्काउने प्रयास गरिने अध्यक्ष लामाले जानकारी दिए। सांस्कृतिक नृत्य,लाखे बाजा,मौलिक झाँकी, स्थानीय हस्तकला,खाद्य स्टल,स्थानीय उत्पादन सहितको अर्गानिक कुरालाई बढी महत्त्व दिइने अध्यक्ष लामाको भनाइ छ। आगामी पुस्ताले पनि यसको अनुसरण गर्न सकुन् भन्ने उदेश्यले यसलाई सफल पार्न सबैको सहयोग हुने अपेक्षा उनले गरे।

