विवाह भोज खाँदा चितवनमा ९३ जना बिरामी

चितवन । भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ९३ जना बिरामी परेका छन् ।
‘फुड पोइजन’ का कारण ९३ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले बताए । वैशाख २३ गते भोज खाएका मध्ये ९३ जना बिरामी भएका हुन् ।
ती मध्ये ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् । ती मध्ये दुई जनाको आईसीयूमा उपचार भइरहेको उनले बताए ।
घटनापछि पार्टी प्यालेसका दुईजनालाई नियन्त्रणमा लिइएको छ । बिरामीहरूमा पखाला, उच्च रक्तचाप तथा कडा ज्वरो देखिएको छ ।
उक्त पार्टी प्यालेसको खाद्य सामाग्रीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको छ ।रासस

