कांग्रेसको शेखर गुटको भेलामा न्यून उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसलाई एकता गरि मजबुत बनाउनु सट्टा नेताहरू गुटबन्दी मै रमाइरहेका छन् । पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्का समूहले भेला गरे लगत्तै बिहीवार डा.शेखर कोइराला गुटको पनि भेला सम्पन्न भएको छ।
बिशेष महाधिवेशनदेखि नै पार्टी सभापति गगनकुमार थापालाई असहयोग गर्दै आएको शेखर पक्षको भेलामा पहिलेजस्तो उत्साह भने देखिएन । अघिल्लो पटक खड्का पक्षको भेलामा समेत उपस्थित भएका डा.शशांक कोइराला गुटका केही नेता समेत भेलामा उपस्थित थिए । यद्यपि कोइराला दाजुभाइले डाकेको भेलामा न्यून उपस्थिति देखिएको छ।
भेलामा कोइराला दाजुभाइ बाहेक पूर्व उपसभापति धनराज गुरुङ, पूर्व सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, बलबहादुर केसी, एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाईँ, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोखरेल, किरण यादव, गणेश लामा सहभागी थिए ।
त्यसैगरी हाल सांसद रहेका डा.चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटा पनि शेखर गुटको भेलामा सहभागी थिए । यस्तै कांग्रेस बागमती प्रदेश समितिका महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरू उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईँ, सुनिता काफ्ले लगायत सहभागी थिए ।
यस्तै धादिङका जिल्ला सभापति रामनाथ अधिकारी, नुवाकोटका जिल्ला सभापति रमेश महत, चितवन जिल्ला सभापति राजेश्वर खनाल, काठमाडौं महानगर सभापति निलकाजी शाक्य सहभागी रहेको भेलामा सहभागी कोइरालानिकट नेताले जानकारी दिए ।
भेलामा जम्माजम्मी १ सय जना मात्रै उपस्थित भएपछि धेरैले सभापति गगन थापासँगै मिलेर अघि बढ्न तथा रुख,चारतारा झण्डा र नेपाली कांग्रेस नै पहिचान भएकोले अन्यथा सोच नराख्न सुझाब दिएका थिए।

