पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

गण्डकी । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडक खण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले छिटफुटबाहेकका काम निर्धारित समयमै सकिने बताए ।
कुल ३८.७१ किलोटोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्रे भइसकेको छ । कुल ३६.३२ किमीको सर्विस लेनमा हालसम्म १७.६६ किमी कालोपत्रे भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए । एक सय पाँच वटा कल्भर्ट निर्माण भइसकेको र नाली निर्माणको काम पनि अन्तिम चरणमा रहेको उहाँको भनाइ छ । यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् ।
सेती पुल भने निर्माणको चरणमा छ । ‘रोड मार्किङ’ गर्ने, ‘रोड सेफ्टी ब्यारीअर’ राख्नेलगायतका काम पनि इन्जिनियर कुँवरले बताए । चार लेन सडकतर्फ विजयपुर पुलको आडमा चार सय मिटर र पोखरा विश्वविद्यालय अगाडि एक सय मिटरमात्र कालोपत्रे गर्न बाँकी रहेको उनको भनाइ छ । “अहिले सर्विस लेन निर्माणको काम धमाधम भइरहेको छ । ३८.७१ किमीको पश्चिम खण्डमा २०।५५ किमी चार लेन र १८।१६ किमी छ लेनको सडक बन्छ”, इन्जिनियर कुँवरले भने ।
अहिले तालचोकदेखि डाँडाकोनाक र खैरेनीटारदेखि दुलेगौँडासम्म ‘रोड सेफ्टी ब्यारीअर’ निर्माणको काम भइरहेको जनाइएको छ । जामुनेदेखि दुलेगौँडासम्म ‘रोड मार्किङ’को काम भइरहेको आयोजना कार्यालयले जनाएको छ । यस वर्ष मात्र ३३.७८ किमीको चार लेन सडकमा अस्फाल्ट प्रविधिबाट दोस्रो तहको कालोपत्रे भएको हो । १५.६ किमी सर्विस लेनसहित विजयपुर खोला पुल र दुई वटा कल्भर्ट निर्माण गरिएको छ । १२.१ किमीको चार लेन सडकमा यही वर्ष पहिलो तहको कालोपत्रे गरिएको हो ।
अघिल्ला वर्षको तुलनामा यस वर्ष सडक निर्माणको कामले गति लिएको इन्जिनियर कुँवरले बताए । यसअघि सडक निर्माण कार्य सुस्त हुँदा ठेक्काको म्याद पनि थपिँदै आएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले यस खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो ।
सडक ठेक्काअन्तर्गतका १२ वटा पुल बने पनि पुल ठेक्काअन्तर्गत पोखराको सेती पुल निर्माणाधीन अवस्थामा छ । उक्त पुलको भौतिक प्रगति ५८।३७ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुल रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको हो । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जग र टावर निर्माणको काम पूरा भइसकेको इन्जिनियर कुँवरले बताउनुभयो । अहिले सुपर–स्ट्रक्चरको काम भइरहेको उनको भनाइ छ ।
गत भदौमा तीन वर्षे ठेक्का अवधि सकिएपछि पुल निर्माणका लागि आगामी वैशाखसम्म म्याद थप भएको छ । निर्माण कम्पनीले पुलका लागि चाहिने केबललगायत सामग्री समयमा ल्याउन नसक्दा पनि काममा ढिलाइ भएको इन्जिनियर कुँवरले बताए । अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुई वटा ‘सिग्नेचर’ पुल बन्ने उनको भनाइ छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत रु ९४ करोडको ठेक्कामा उक्त पुल निर्माण भइरहेको हो ।

