बाबुराम भन्छन् : बालेन सरकारले ‘हेलो सरकार’ र ‘लगानी बोर्ड’ जस्ता कार्यक्रमलाई निरन्तरता दियोस्

काठमाडौ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब बन्ने नयाँ सरकारले आफुले १८ महिना सरकारको नेतृत्व गर्दा सुरु गरेको केही महत्त्वपूर्ण कामलाई निरन्तरता दिन सुझाव दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा चैत १३ गते नयाँ सरकार गठन गर्ने तयारी भैरहेको बेला पूर्वप्रधानमन्त्री भट्टराईको यो सुझाव सामाजिक संजाल मार्फत आएको हो। उनले आफ्नो कार्यकालमा थालनी गरिएका सफल नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिन सुझाव दिएका हुन् । नयाँ सरकारले शून्यबाट काम थाल्नुको सट्टा विगतका राम्रा अभ्यासलाई सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्न सक्ने उनको भनाइ थियो।
डा. भट्टराईले नयाँ बन्ने सरकारले आफ्ना कामको प्राथमिकता निर्धारण गरिरहेको अवस्थामा विगतका सफल अभ्यासहरू उपयोगी हुन सक्ने उनको तर्क छ ।
सुशासनको क्षेत्रमा आफ्नो १८ महिने कार्यकालमा थालेका पहलहरूको स्मरण गर्दै उनले हेलो सरकार र जनतासँग प्रधानमन्त्री जस्ता नागरिक–केन्द्रित कार्यक्रम, संवैधानिक निकायमा नियुक्ति प्रक्रियामा सुधार र सार्वजनिक संस्थानलाई प्रभावकारी बनाउन गठित संस्थान निर्देशन बोर्ड जस्ता अभ्यास नयाँ सरकारका लागि उपयोगी हुन सक्ने बताए । यी कार्यक्रमहरूले पारदर्शिता र सरकारको जबाफदेहिता बढाउन मद्दत पुर्याएको उनको आशय थियो
त्यसै गरी, तीव्र आर्थिक रूपान्तरणका निम्ति आफ्नो सरकारले अघि बढाएका महत्त्वपूर्ण कदमहरूबारे चर्चा गर्दै उनले लगानी बोर्डको स्थापना, विदेशी लगानी आकर्षित गर्न गरिएको बिप्पा सम्झौता, र देश विकासका मेरुदण्ड मानिएका राष्ट्रिय गौरवका आयोजनाको अवधारणालाई परिमार्जनसहित निरन्तरता दिन सकिने धारणा राखे ।
आर्थिक विकासकै सन्दर्भमा उनले रुग्ण उद्योगको पुनरुत्थान, विशेष आर्थिक क्षेत्रको स्थापना, काठमाडौँ उपत्यकाको व्यवस्थित विकासका लागि प्राधिकरण गठन, वैज्ञानिक भूमिसुधारको तयारी, भू–उपयोग नीति, गरिबीको पहिचान र परिचयपत्र तथा राष्ट्रिय स्वयंसेवा अभियान जस्ता कार्यक्रमलाई पनि नयाँ सरकारले प्राथमिकतामा राख्न सक्ने संकेत गरेका छन् ।

