काठमाडौं-३ सहित उपत्यकाको अधिकांश सिटमा कांग्रेस ढुक्क

काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं उपत्यकाको १५ मध्य अधिकांश सिट जित्नेमा नेपाली कांग्रेस ढुक्क देखिएको छ।
कांग्रेसले काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ सहित धेरैजसो क्षेत्रमा जित निकाल्ने आशा गरेको एक नेताले परेवान्युजलाई बताए।’हामी उपत्यकाको १५ सिट मध्य केहीमा ढुक्क छौं,केही सिटमा प्रतिस्पर्धामा छौं र मेहनत गर्दा जितिन्छ,अनि थोरै सिटमा मात्रै अलि पछाडी रहेका छौं’ उनले भने-,’भक्तपुर क्षेत्र नम्बर-१ मा हामी भन्दा मजदुर किसान पार्टी अगाडी भएको ठानेका छौं,अन्यत्र हामी प्रतिस्पर्धामा छौं । मेहनत गरेर अझै ढुक्क हुने तयारी गर्दैछौं ।’
काठमाडौं उपत्यकाको अधिकांश क्षेत्रमा यसपटक कांग्रेसले नयाँ उम्मेदवारलाई टिकट दिएको छ। काठमाडौं-५ मा महामन्त्री प्रदीप पौडेल र ललितपुर-१ मा सहमहामन्त्री उदयशमशेर राणा बाहेक सबै उम्मेदवार नयाँ हुन् । सामाजिक र राजनीतिक रुपमा समाजमा चिनिएका र जनताको नजरमा असल चरीत्र भएको छाप बनाएका उम्मेदवारलाई टिकट दिएकोले यसपटक उपत्यकाको सबैजसो क्षेत्रमा कांग्रेस नेताकार्यकर्ताको मनोबल पनि उच्च देखिन्छ।
यसमध्ये पनि काठमाडौं-३ का उम्मेदवार रमेश अर्याल,काठमाडौं-२ का कबिर शर्मा,काठमाडौं-१० का हिमाल कार्की,काठमाडौं-६ का सबुज बानियाँ,काठमाडौं ४ र ५ का सचिन तिमिल्सिना र प्रदिप पौडेल सबैभन्दा अगाडी देखिन्छन् । यी क्षेत्रमा जित नजिक रहेको कांग्रेसको बुझाइ छ। काठमाडौं-३ मा कांग्रेसका रमेश अर्यालसँग प्रतिस्पर्धा गरिरहेका मध्य क्रमशः एमालेका रामेश्वर फुयाल,रास्वपाका राजुनाथ पाण्डे र उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ पछाडि रहेको विश्लेषण कांग्रेसले गरेको छ। यद्यपि प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारले पनि आफुले जित्ने दाबी गरिरहेका छन् ।
त्यसैगरी काठमाडौं-७ का प्रमोदहरी गुरागाई,काठमाडौं-१ का प्रबल खड्का र ९ कि नानु बास्तोलासँगै ललितपुर २ का प्रेमकृष्ण महर्जन पनि टक्करमा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरुको जितका लागि केही मेहनत गर्नुपर्ने भएपनी नतिजा निकाल्न सकिनेमा कांग्रेस ढुक्क छ। ललितपुर-२ मा रास्वपा उम्मेदवार पूर्व संचारमन्त्री जगदीश खरेल र काठमाडौं ९ मा रास्वपा उपसभापति डिपि अर्याल कांग्रेससँग प्रतिस्पर्धामा छन् ।
उता भक्तपुरको भने क्षेत्र नम्बर-१ र २ नै मेहनत गर्नुपर्ने अवस्थामा छ। त्यस्तै ललितपुर-३ मा नेकपाका राजकाजी महर्जन र रास्वपाकी डा.तोशिमा कार्की अनि काठमाडौं-८ मा नेकपा उम्मेदवार सुमन सायमी लोकप्रिय देखिन्छन् । यहाँ नेकपाले पनि आफुले जित्ने दाबी गरिरहेको छ। भक्तपुर १ मा भने मजदुर किसान पार्टी कै जित्ने अवस्था देखिन्छ। यहाँ ०४८ पछिका कुनैपनी निर्वाचन अरु पार्टीले जितेको छैन। यो नेमकिपाका अध्यक्ष नारायण मान बिजुक्छेको क्षेत्र हो।

