कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा बस्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलोपटक बस्ने भएको छ ।
गत पुस २७ देखि ३० गते सम्म चलेको महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएका थिए । तर,त्यसयता पार्टी आधिकारिकता विवाद समेत चलेको र चुनावी चटारोले नवनिर्वाचित समिति सानेपा गएको थिएन। यद्यपि त्यहाँ निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अवरोध गर्ने तयारी स्वरुप युवाहरूलाई खबरदारीमा राखेको थियो। संभावित भुठभेड रोक्न पनि निर्वाचित समिति त्यता गएको थिएन।
निर्वाचन आयोगले आधिकारिकताको विवादमा निर्णय नदिए सम्म विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक सानेपामा बस्न सकेको थिएन । त्यसैले भोलि शुक्रबार पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको बताइएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले भोलि केन्द्रीय कार्यालय जाने र त्यहीँ बैठक बस्ने बताए ।‘सभापतिसहित हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं, त्यहीँ केन्द्रीय समिति बैठक पनि बस्छ,’ उनले भने ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक केन्द्रीय कार्यालय बाहिर पार्टी प्यालेस र होटेलहरूमा बसेको थियो । त्यहीँबाट टिकट वितरण समेत गरिएको थियो। कांग्रेस सभापति गगन थापा यसपटक सर्लाही-४ बाट निर्वाचन लड्दैछन् । निवर्तमान सभापति देउवा भने चुनावमा टिकट नपाएपछि रोकिएका छन् । देउवाले पाउने टिकट उनका निकट नैनसिंह महरलाई दिइएको छ।

