नेपाली जनताकाे कठिन समय

मनोज कुमार कर्ण

नेपाल अहिले कठिन माेडमा छ । देशमा चुनाव हुने हर्षाेल्लासमय वातावरण बन्नुपर्नेमा अझै बनिसकेकाे छैन ।

जनतामा चुनाव आउने फाल्गुण २१ गते हुनेमा आश जागिरहेकै बेला भाेट कसलाई हाल्नेमा राम्राे विकल्प हरेक दृष्टिकाेणले आइसकेकाे छैन, यद्यपी म/हामी राम्राे भने म/हामी राम्राेकाे स्वघाेषित चुनावी दाबी भने हरेक दिन मीडियामा आइरहेका हुन्छन् ।

याे लेख यसै कठिनतामाथि आधारीत छ ।

पुरानाले बद्लिन समय लिइरहेका

अवश्यपनि जेनजी विद्राेह अघि अर्थात्, २०७९ सालकाे चुनावबाट संसदमा पुगेका दलहरूमा नेपाली जनताकाे अपेक्षा जस्ताे परिवर्तन आएकाे छैन । यस्ताे भनिरहँदा झट्ट मान्छेले काँग्रेस, एमाले, प्रचण्ड नेतृत्वकाे माओवादी वा दिनैपिच्छे नाम फेरिरहेका हाल नेपाली कम्युनिस्ट पार्टी बुझिदिन्छन् तर यसमा थप हामीले राप्रपा कहिल्यै नसुध्रेर टुटफुट अनि देश विकास त्यागेर एउटा परिवार शाहवंशकाे पछि लागेर राजनैतिक वैतरनी तर्न चाहेकाे पनि छ । त्यस्तै बिग्रेकाे मधेशवादी दलहरू सत्ता, शक्ति, नाताफरियावादमा रमाएकाहरू पनि छन् अनि २०७९ काे चुनावपछि दुई-तीन वर्षमै दाेहराे पास्पाेर्ट/नागरिकता काण्ड, बहुपत्नी चरीत्रहीनता देखाइ सहकारी ठगेर गृहमन्त्री भई प्रमाण मेट्दै नेपाली जनतामा निर्लज्ज भई प्रस्तुत भइ ढीठ “नेता” बन्ने एक व्यक्तिप्रति उत्तरदायी रहेकाे रास्वपा (विचार र नीतिमा अलमल, गन्तव्यहीन) पनि हुँदै हाे ।

अब रास्वपाका उनै सभापति लामिछानेले एमैल्गम वा, अंकाल्गी बालेन्द्र साह, कुलमान घिसिङ वा अन्यसँग बनाए भने त्याे परिवर्तन दिने आशा नभई केवल उनीहरूकाे आ-आफ्ना नीजि अपराध, देशद्राेह दबाउनलाई बाध्यकारी मिलन पाे हाे । उस्तै छन्- माउसुली जस्ताे रङ्ग, कलाकार जस्ताे समय अनुसार डायलग र लुगा फेर्ने महान् “राजनीतिज्ञ कलाकार” पुष्पकमल दाहाल “प्रचण्ड”काे पार्टी नेतृत्व । आखिरमा देशमा जति तूफान जेनजी वा जे नाममा आएपनि उनले यस जुनीमा आफ्नाे नेतृत्वभने छाड्ने छैनन् । जेनजीले पनि प्रचण्डलाई तह लगाउन नसकेकै हार स्विकाराेक्ति हाे ।

यता एमालेले “अधिवेशन” सकाएकै हाे, त्याेपनि सफलतापूर्वक । अनि सबै प्रतिस्पर्धीलाई भीर-पाखा लगाएर नेपालका हाल दलीय नेतामा सर्वाधिक अलाेकप्रिय गुटवादी तथा एउटा क्लानचीफ वा कबिलाराजकाे नेतामा उनले दर्रेका छन् आफूलाई । न परिवर्तनकारी मधेशी, थारूलाई देख्न सक्ने, न अधिकारवादी महिला, आदिवासी, जनजातिलाई, नै त नयाँ चाह्ने विशुद्ध जेनजीलाई, नै त एमालेभित्रै सुधार चाह्ने प्रतिस्पर्धीलाई ! यस्ता केपी ओलीपनि नेपालमा अझै “पपुलरै र राष्ट्रवादी” भएर नेतामा जमेकै छन् । उनका भजनमण्डलीहरूले उनका शारीरिक विकारस्वरूपका गाली, ग्लाैज, उखान, टुक्कामा विद्यावारिधिपनि गरिसके । उनीहरू विद्वान भई मानवताका विकासमा नभई भाेली ओली पुन: शक्तिशाली बन्दा “विद्वान” भई आफू पद पाउने आशामा नयाँ “भक्तिरस” देखाएका हुन्, यी उखाने पीएचडीधारीहरू । एक्काईशाैं शताब्दीमापनि नेपालका “विद्वान”हरूकाे यस्ताे मार्क्सवादी रैडिकल बुद्धि अर्थात्, अब परिवर्तन यिनी ओली जीवित रहुञ्जेल नहुने भएर निराशावादी भई मन र विचारसमेतले आत्मसमर्पण गरिसकेका छन् ।

यस कित्तामा थपिन बाँकी काँग्रेस हाे, जसका पुराना नेतृत्वले सभापति छाडेपनि प्रधानमन्त्री बन्न र पत्नीलाई सेट गर्न भित्रभित्रै राजनीति गर्न छाेड्ने छैन । अनि नयाँ कहलिने महामन्त्रीद्वयलाई स्वभाविक प्रतिस्पर्धामा सभापति जित्नुबाहेक ईमाेश्नल ब्ल्षाकमेल, थर्काई, धम्काई सभापति वा, संसदीय दलकाे नेता बन्नुभन्दापनि खाेस्नु छ, जसभित्र देश र दलभित्रका विकार हटाउनुभन्दा पनि स्वयम्काे चाँडाे ठाउँमा पुर्याउने चरम् महत्त्वाकाँक्षा लुकेकाे छ । त्याग, बलिदान गर्नेहरू यी दुई पुरानाका हठ र नयाँका महत्त्वाकाँक्षामाझ हराएका छन्- मधेशी, आदिवासी, महिला प्रमुख नेतृत्व हुनुपर्ने साेच त यी पुराना र नयाँ हठवादीकाे डिक्शनरीमै छैन । के परिवर्तन देलान् यस्ताहरू ? बाँकी रहे, डा. शेखर काेइराला जसले काेशी प्रदेशमा आफ्नाे मान्छे सिएम बनाए झैं संघीय सरकारमा काँग्रेस र एमाले दुई लगातार ठूला दलकाे सरकार केवल आफू प्रधानमन्त्री हुनलाई बनाइदिए । उनलाई दिनैपिच्छे सरकारकाे ढाँचा फेरेर प्रधानमन्त्रीमा बनिरहेका प्रचण्डलाई “देखाइदिने” ईच्छा कम थियाे स्वयम् पिएम बन्ने चाहना तीव्र थियाे र परिणामत: दुई ठूला संसदीय दलले सरकार प्रतिपक्षलाई कमजाेर पारेर बनाईकन यति भ्रष्टाचार गरे कि देशमा गत भदाै २३/२४ गते जेनजी विद्राेह नै भईहाल्याे । तर डा. काेइरालाले आजसम्म लाेकतन्त्रमा यसकाे जिम्मा लिएका छैनन् ! यसरी नीजि ईच्छामा भिजनलाई ताकमा राखेर देशमा विचार लाद्ने अनि दुष्परिणाम आउँदा चुप्की साँध्ने प्रवृत्तिले काँग्रेस र देश चलाउन सक्लान् र ? फेरि यति चाँडै गिरिजाप्रसाद काेइरालाकाे आजीवन सभापति, जिद्दीपन नेपालले बिर्सने छ त ? हाे, गिरिजाबाबूका राम्रा पक्षपनि निकै थिए तर डा. शेखर काेइरालाले गिरिजाबाबूका राम्रा पक्षलाई लिएर नबढी यदि केवल पदासीन हुन दिमाग लगाउँछन् भने पुन: काेइराला परिवारलाई काँग्रेसमा नेतृत्व दिन जनता हिच्किाउने छन् !

नयाँ भनाउँदापनि उस्तै

माथि अलिकति झलक उल्लेख गरिसकियाे कि नेपालकाे राजनीतिमा पुरानाका विकल्प दिने आँटेका भनिएका काठमाडाैंका मेयर बालेन्द्र साह प्राेपाकिस्तानी भएर देशकाे अस्तित्वमाथि धाबा बाेल्दै भारत र चीन समेतलाई भड्काउँदै अमेरीकालाई नेपालमा जेनजी विद्राेहकाे नाममा छिराउनेलाई नेपाली जनताले पुरानाले विकास गरेनन् भनेर देश, सिंहदरबार जलाउने कारकलाई देशद्राेही नभनेर अब राम्राे गर्लान् भनेर किन पत्याउने ? के मातृभूमी, जननी आमा, चेली, धर्म आदि कथित् सत्ता, राजनीति, ड्रग्स, तस्करी, उगाही रकम आदिभन्खा हलुका र तल छन् ? के देश जलाउनेले “मबाट विगतमा गल्ति भयाे, अब म सुध्रिन्छु, चुनावमा भाेट दिनुस्” भन्दा पत्याउन सकिन्छ ? पत्याउने आधार के ?

यसक्रममा रास्वपाका सभापति जसमाथि व्यक्तिलाई आत्महत्यागर्न बाध्यपारेकाे आराेप केवल उनकाे आफ्नाे अपराध लुकाउनलाई भनेर आराेप लागेकाे छ, सहकारी ठगीमा धराैटी बुझाएर स्विकार गरिसकेका, बहुराहदानी/बहुनागरिकता, बहुपत्नीधारी रहेकाबाट नेपालका बच्चाले के सिक्ने ? के मीडियामा उफ्रीपाफ्री गरेर हिजाे बाेलेका शब्दबाट पपुलर भई आफ्नै पुराना सवाल अन्य नेतामाथि गरेकालाई बिर्सँदै त्यस्तै कर्महरू (अपराधमाथि अपराध र समानुपातिक सांसद सिट बेच्ने)बाट देशले के नयाँ आशा लिने ? देशमा के परिवर्तन हाेला ? जाे जेनजी विद्राेहताका जेलबाट भाग्न सबै तिकडम गरे, उसबाट पनि देश बन्छ भन्ने साेच्नु दिमागी दिवालीयापनबाहेक केही छ ?

एउटा उज्यालाे नेपाल पार्टी खाेलेर रास्वपामा विलिन गराइसकेका, विगतमा प्रचण्डलाई चक्मा दिएर पद पड्काई ख्याति, विदेशी सम्पर्क र मालपानी कमाईसकेका कुलमानमा नेपाल चलाइने आत्मविश्वास खाेज्न पाइएला ? अनि बालेन्द्र, रवि र लामिछानेहरूकाे मिलनबाध्यता के हाेला चुनावमा ? सुदन गुरूङसँग यिनिहरूकाे कस्ताे साइनाे छ कि उ केही नभएपनि उसलाई शिरमाथि यिनिहरूले बाेक्नुपर्ने ? कुन पश्चिमा शक्तिले एशियाका पाकिस्तानसँग मिलेर नेपालमा याे “मिलन” यिनिहरूकाे सम्भव बनाइदिएकाे छ ? सवाल छ कि नेपालकाे बारेमा साेच्ने कि पाकिस्तान-अमेरीकाकाे दक्षिण एशियामा चलखेलबारे कस्लाई चुनाव जिताइदिनेबारे ? आज जनता यस सवालमा कन्फ्युजनमा छन् भनेर यी पात्रहरूले ठान्दैछन् तर जनता भने देश बचाउनेमा कन्फर्म छन् ।

नेपाली अनपढ र गरीब भएपनि वीर हुन्

हाम्राे देश मानवरूपी काेही नेताले नभई भगवान पशुपतिनाथले नै नेपाललाई लगातार साल २०८१ र २०८२ काे बाढीबाट झन् चलाइराख्नुभएकाे छ भन्ने पुन: सावित भइरहेकाे छ । पुराना नेताले गर्नै सकेन रे अनि नयाँ नेताहरूले जेनजी र जेलका अपराधीजतिलाई उचालेर स्वयंकाे स्वार्थमा जलाएरै सकाएछन् । नत्र अती जरूरी विकास-निर्माण त गर्नुपर्ने हाे ।

काठमाडाैं-सिन्धुली-बर्दिवास बीपी राजमार्गकाे लगभग २० किलाेमिटर सडककाे कन्तबिजाेग २०८२ पाैष १७ गते विहिवार यस स्तम्भकारकै आँखाले देख्याे- नदीकाे पेटभएरै छेउमा पानीकाे बहावसँगै बस, जीप, माेटरसाइकल आदि सवारी साधन सयाैंकाे संख्यामा दिनहुँ गुडिरहेका हुन्छन् । जहाँ कुनै कारणवश जाम भयाे वा, पानीकाे सतह अचानक बढ्याे भने न गाडी त्यसबेला सुरक्षित ठाउँमा दगुराउने चान्स छ, नै त गाडीबाट ओर्लेर/कुदेर यात्रु भाग्ने ठाउँछ, छ त केवल “उपर बिना टिकट” हजाराैंकाे संख्यामा भगवानजी कहाँ पुगिने ठाउँ । अनि यस्तालाई पनि जनताले नयाँ भनी पत्याइदिएर नेता भनेर भाेट हाल्दिनुपर्ने रे ! लाेकतन्त्रमा भाेटकाे विराेध गरिनुहुन्न तर हाम्रा भाेटमाग्ने यस्ता रहेछन् ! त्यतिकै पुल तथा घरहरू आधी नदीकाे धार कटानले अड्केका ! तसर्थ, जीउ-ज्यानका बाजी थापेर अनि जुन बेलापनि काल आउन सक्छ बुझेरपनि हिम्मतका साथ यस्ताे बाटाे यात्रामा हिंड्दा वा घर, टहराे बनाएर जीवन गुजारा गरिरहेका समस्त नेपाली विवश जनताहरू गरीब तथा वीर हुन् ।

धादिङ, पृथ्वी, त्रिभुवन राजमार्गका पनि धेरै ठाउँमा यहि दशा छ, माथि त प्रतिनिधि उदाहरणमात्र देशकाे हाे । फेरि सडकबाहेक अन्य हाम्रा पछाैटेपन, गरिबी र विवशताहरू त छँदैछन् । देश त चलेकै हाे तर नेताले नभइ राम भराेसे !

प्राकृतिक बहाव र स्वदेशकाे चिन्ता

याे प्रकृतिकाे नियम हाे कि यथास्थितिवादीपन उसकाे स्वभावकाे विपरीत हाे । जुन पाेखरीले जलकाे निकास दिंदैन र नयाँ पानीकाे प्रवेशमार्ग दिंदैन, त्याे सुकेर जान्छ । नेपालकाे राजनीतिलाई पुरानाबाट परिवर्तन गरेर आफूहरू आउने तर वैकल्पिक कहलिने दल र तिनका नेताले जनताकाे पक्षमा अधिकार दिई विकास गरेर परिवर्तन दिन सकेनन् भने यी च्याउसरी नेताहरूपनि पाेखरीरूपी नेपालकाे पानीसरी सुक्नेछन् !

यसलाई मेराे नभई प्राकृतिक चेतावनीपनि बुझ्दा हुन्छ । याे बेग्लै कुरा हाे कि त्यस सुक्नेबेला नेपालकाे अस्तित्व के रह्ला ? हाे, यदि सकारात्मक राष्ट्रभक्ति, देश प्रथमकाे साेच सबैमा पलायाे भने देश सहिसलामत् रहि उज्जवल भविष्य रह्ने नै छ ।

(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय