के कांग्रेस-एमाले चुनावी गठबन्धन गर्दै छन् ?


काठमाडौं । नयाँ र वैकल्पिक शक्तिहरु एकता नजिक पुगेको भन्दै कांग्रेस र एमाले लगायत केही पुराना शक्तिहरु पनि नजिक हुनेगरि छलफलमा जुटेका छन् । जेन-जी आन्दोलनपछि नेपाली राजनीतिमा आएको उथलपुथलले अनेकौं चर्चा सतहमा ल्याइदिएको छ।

खासगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन साहको समूह नजिकिँदै गर्दा जेन-जी आन्दोलन अघिको गठबन्धन ब्युताउन कांग्रेस-एमालेपनी छलफलमा देखिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आउजाउले यो कुराको पुष्टि पनि गर्दछ। यद्यपि कांग्रेस भित्र यो कुरा सर्वस्विकार्य भने छैन। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहित बरिस्ठ नेता डा.शेखर कोइराला समूह यसको बिपक्षमा छन् ।

तर,रवि लामिछाने,बालेन साह र कुलमान घिसिङ सहित नयाँ र वैकल्पिक शक्ति मिल्ने संकेत पाएपछि नेपाली कांग्रेस र नेकपा एमालेले पनि आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा छलफल चलाएका छन् । त्यसमा पुरै गठबन्धन वा आंशिक भन्ने पनि छलफलको बिषय बन्ने गरेको स्रोत बताउँछ । सकेसम्म १६५ निर्वाचन क्षेत्र नै बाडफाड गरेर जाने नत्र मुख्य मुख्य क्षेत्रमा गठबन्धन गरेर नयाँहरुको बहुमत आउन नदिने सम्मको कुरा पनि आएको छ। त्यसो हुँदा कांग्रेस र एमाले मध्य कुनै एकलाई साथ नलिइ सरकार नबन्ने अवस्था ल्याउने कोसिस हुँदैछ।

स्रोतका अनुसार नयाँ पार्टीहरु शहर केन्द्रित भएकोले शहरमा र मुख्यगरी उपत्यकाको सिटमा चाहिँ उनीहरुलाई रोक्ने कांग्रेस-एमाले रणनीति छ। जसमा काठमाडौंको १० सिट,ललितपुरको ३ सिट र भक्तपुरको २ सिटमा नयाँलाई रोक्ने रणनीति पनि बन्दैछ। भक्तपुर १ मा नारायणमान बिजुक्छे नेतृत्वको नेमकिपाले जित्ने भएकोले बाकी १४ सिटमा कांग्रेस-एमाले ७/७ सिट लिने तहको छलफल पनि भएको छ। यद्यपि यो कुरा टुंगिएको छैन। यसमा कांग्रेस महामन्त्री गगन थापा सहमत छैनन् । थापा कसैसँग पनि गठबंधनको पक्षमा देखिन्नन्।

त्यसो त एमालेले प्रतिनधिसभा पुनर्स्थापना हुनेमा ढुक्क रहन र प्रधानमन्त्री बन्न तयार हुन कांग्रेस सभापति शेरबहादुर देउवालाई आस्वस्त पारिरहेको पनि छ। देउवाले यो कुरामा एमाले अध्यक्ष ओलीको भर गरेका छन् । तर,संसद पुनस्थापना हुने नहुने कुरामा अल्झिएर चुनावको तयारीमा नलाग्न हुँदैन भन्ने मत कांग्रेसमा छ। अहिले संसद पुनःस्थापनाको पक्षमा उभिनेमा कांग्रेसका ६५ सांसद छन् । यद्यपि सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छैनन् ।तर,एमाले-कांग्रेसको मुख्य नेतृत्व चाहिँ अहिले पनि पहिलो प्राथमिकता प्रतिनिधिसभा पुनर्स्थापना नै हो भन्नेमा जोड गरिरहेको देखिन्छ । त्यसैले फागुन २१ को चुनाव हुँदैन वा वातावरण बनेको छैन भनेर टार्ने योजना पनि बनिरहेको देखिन्छ। यदि चुनाव हुने नै भएमा गठबन्धन नगरी हुँदैन भन्ने पनि यिनै शिर्ष नेताबीच छलफल हुँदै आएको बुझिन्छ ।

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवा बीचको पछिल्ला भेटघाट सामान्य नभएर रणनीतिक भएको स्वयं ओलीले भन्दै आएका छन् । चुनावी तालमेल, संसद पुनर्स्थापना,नयाँहरुलाई रोक्ने आगामी रणनीति सबैकुरामा दुई नेताबीच छलफल हुँदै आएको एमाले स्रोतको भनाइ छ। आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पनि दुई दलबीच मिलेर सबै पद जित्ने रणनीति बन्दैछ। राष्ट्रिय सभामा अहिले नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा ठूलो दल छ। अब माघमा हुने चुनावमा हराउन सके कांग्रेस र एमाले पहिलो र दोस्रो हुनेछन् । त्यसैले पनि गठबन्धनको अभ्यास राष्ट्रिय सभा निर्वाचन बाटै हुनेमा दुबै दलका नेताकार्यकर्ता ढुक्क छन् । यसो हुँदा आफ्नो पुरानो सत्ता पनि जोगिने र नयाँहरुको प्रवेशमा पनि ब्रेक लाग्ने नेताहरूको बुझाइ छ।

तर, नयाँ शक्तिहरुले पनि कांग्रेस-एमाले गठबन्धन हुनसक्ने अनुमान सहित आफ्नो रणनीति बनाउदै गरेको देखिन्छ। खासगरी रवि,बालेन र कुलमान घिसिङ बीच यो बिषयमा छलफल भैरहेको छ। त्यसमा प्रगतिशील लोकतान्त्रिक पार्टी,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि मिलेर जान कोसिस गरिरहेका छन् । पूर्वी तराईमा पकड रहेको जनमत र पश्चिम तराईमा पकड रहेको नागरिक उन्मुक्ति पार्टी सहित बाबुराम भट्टराई, जनार्दन शर्मा,सन्तोष परियार समेतको मिलनले रवि,बालेन र कुलमानको एकतामा बल पुर्‍याउने देखिन्छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय