एमाले महाधिवेशन: ८ बजेबाट मतदान

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११ औ महाधिवेशन लम्बिएको छ। हिजो हुने भनिएको मतदान स्थगित भएसँगै महाधिवेशन थप एक दिन लम्बिएको हो।
एमाले महासचिवका उम्मेदवार शंकर पोखरेलका अनुसार प्राविधिक कारणले हिजो राती मतदान गर्न नसकिएको हो। प्रतिनिधिले २ घन्टा लाइन बसेपछि भोटिङ मेशिनमा अझै विवरण थप्न बाकी भएको भन्दै मतदान स्थगित गरिएको थियो। मतदान गर्न बेलुकी ८ बजे अध्यक्षका दुई उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल पनि मतदान स्थल पुगेर फर्किएका थिए।
एमाले स्रोतले अहिले बिहान ८ बजेदेखि मतदान सुरू हुने जानकारी दिएको छ। त्यसका लागि साविकको हल भन्दा अर्को सानो हल प्रयोग हुनेछ। एमालेले भृकुटीमण्डपको ठूलो हल हिजोसम्मका लागि मात्रै बुक गरेको थियो। आज सो हलमा अर्कै कार्यक्रम तय भएको कारण एमालेले हल पाएन। अब अर्को हलमा भोटिङ मेसिन सारेर मतदान सुरु हुनेछ।
जाडो मौसममा राती ९ बजेसम्म लाइनमा राखेर पुनः मतदान स्थगित भएको सुनाएपछी केही प्रतिनिधिले षड्यन्त्र हुन लागेको भन्दै होहल्ला समेत गरेका थिए। बिहानदेखि पटकपटक समय परिवर्तन गर्दै राती ९ बजाउने र अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको सूचना दिनुलाई प्रतिनिधिले राम्रो मानेका छैनन् ।
मतदान स्थगित भएसँगै प्रतिनिधि र उम्मेदवारहरू तितिरबितर भएका थिए। यद्यपि एमालेले विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएको बताएको छ । सुरूमा अल्फाबेटिकल अर्डर र पछि फन्टको समस्या भएको बताइएको छ । एमालेको आगामी नेतृत्वका लागि अध्यक्षमा ओली र पोखरेल सँगै महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे प्रतिस्पर्धामा छन् ।

