एमाले महाधिवेशन : आज मतदान,मतदिन ४० मिनेट सम्म लाग्ने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको चौथो दिन आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाका अनुसार आज दिउँसोलाई मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ ।

उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । यद्यपि त्यसमध्ये दुई आयोगका पदाधिकारी र केही केन्द्रीय सदस्य गरि ११ जना निर्विरोध निर्वाचित भैसकेका छन् ।एमाले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

मतदान स्थलमा अरु ५ वटा मेसिन जगेडा राखिएको छ। कुनै कारण समस्या आएमा जगेडा मेसिन मार्फत भोटिङ चालू गरिनेछ। एकजना प्रतिनिधिले सबै पदमा भोट गर्न कम्तीमा २० देखि बढीमा ४० मिनेट सम्म लाग्नेछ। पढ्न जान्ने र उम्मेदवार सजिलै चिन्नेले २० मिनेटमा सक्ने तर अलमलिएको अवस्थामा ४० मिनेट सम्म लाग्न सक्ने देखिन्छ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको जानकारी दिए । “हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कोसिसमा छौँ”, उनले भने, “तर धेरै उम्मेदवार भएको कारण हामीलाई केही समय लाग्ने भएकाले मतदानको समय पनि केही ढिला हुनसक्छ ।”

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय