अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर छैन-ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको युगमा अनिर्वाचित सत्ता कसैलाई मञ्जुर नहुने भन्दै एमालेले यसलाई नमान्ने बताएका छन् ।

पार्टीको ११ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारलाई अनिर्वाचित भनेका हुन् ।भक्तपुरको सल्लाघारीमा भएको उद्घाटन सत्रमा लिखित मन्तव्य राखेका ओलीले सम्हालिएर बोल्न खोजेपनी वर्तमान सरकार,जेन-जी आन्दोलन,नयाँ उदाएका दल र कतिपय ब्यक्ति माथी लान्छना पनि लगाएका थिए ।

अध्यक्ष ओलीले देशको पछिल्लो परिस्थिति, राजनीतिक घटनाक्रम र वर्तमान सरकारबारे धारणा राखीरहँदा आफ्नै पार्टीको आन्तरिक जीवनका बिषय पनि उठाए। नेकपा (एमाले) अर्थात् असल, विश्वसनीय छिमेक सम्बन्ध र पारस्परिक हित र सम्मानका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने पार्टी भएको उनको भनाइ थियो। कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षमा आफुहरुले प्रत्येक दिन देशका निम्ति खर्चेको र जनताका निम्ति सुम्पेको उनले बताए।’देशको सार्वभौमसत्ता, राष्ट्रियता, राष्ट्रहित र स्वाभिमानका लागि हरपल अर्पेका छौँ । जनताका अधिकार, न्याय र सुख एवं समृद्धिका लागि समर्पित गरेका छौँ’ उनले भने।

नेकपा (एमाले)जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ आफुहरु अघि बढिरहेको भन्दै उनले भने-‘हाम्रा नीतिहरु स्पष्ट छन् । यी नीतिहरु कार्यान्वयन गर्ने सुदृढ, व्यापक र दृढ संकल्पित लोकप्रिय पार्टी र संगठन हामीसँग छ ।’

उनले आठ दशकको यात्रामा आफुहरुले केही बिरासतहरु, केही मानकहरु, केही पहिचानहरु बनाएका छौँ भन्दै  नेकपा (एमाले) अर्थात् राष्ट्रियताको पहरेदार, देशभक्तिपूर्ण आन्दोलनको नायक भएको सुनाए। ‘नेकपा (एमाले) अर्थात् सामाजिक सद्भाव र राष्ट्रिय एकताको संबाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको छ’-उनले भने,’ एमाले अर्थात् समावेशिताको अगुवा, जसले राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाइ महिला सहभागिता सहित दलित, अल्पसङ्ख्यक र पछाडि पारिएका समुदाय, क्षेत्र र वर्गलाई मूलधारमा ल्याउन अग्रणी भूमिका खेलेको छ ।’

अध्यक्ष ओलीले हामी राजनीतिलाई एक्लै र लोकतन्त्रलाई राजनीतिको घेराभित्र मात्रै सीमित राख्दैनौं भन्दै त्यसैकारण हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं । राजनीति, सिंगो नेपाल र सबै नेपाली जनताको सुरक्षा, सम्मान र उन्नतिका लागि हुनुपर्ने बताए।’राजनीति, मानव र मानव संशाधनको विकास र खुशहालीसँग सम्बन्धित हुनु पर्दछ’ उनले भने-‘हाम्रो राजनीति हाम्रा लागि मात्रै होइन, विश्व शान्ति, विश्व वातावरण र विश्वव्यापी रुपमा सामाजिक न्याय, समानता र मानव अधिकारको पक्षमा हुनु पर्दछ–‘बसुधैव कुटम्बकम् ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय