एमाले महाधिवेशन : पुरानै अनुहार उठ्ने, जुट्ने र फुट्ने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी तिव्र छ । महाधिवेशन तयारीसँगै भावी नेतृत्वको चुनावी सरगर्मी पनि बढेको छ। जसमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानल तयार हुँदैछ।

महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको चौरमा हुनेछ । त्यसका लागि मञ्च निर्माण र सजावट चलिरहेको छ।महाधिवेशनमा स्वदेशी तथा विदेशी पाहुनालाई निम्तो गरिसकिएको छ। नेपालमा दर्ता भएका १३४ भन्दा बढी दल मध्य १६ दललाई शुभकामना दिन आउनु भन्दै अतिथिको निम्तो पनि बाँडिएको छ। यसमा नयाँ दललाई निम्तो दिइएको छैन। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा,नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड,रास्वपा कार्यबाहक सभापति डिपि अर्यालदेखि मधेसवादी दल र राप्रपा नेपालका अध्यक्ष कमल थापा सम्मलाई निम्त्याएको छ। तर,उज्यालो नेपाल,श्रम संस्कृति र प्रगतिशील लोकतान्त्रिक पार्टी लगायत नयाँ दललाई निम्तो छैन।

एमालेले मंसिर २७ गते उद्घाटनस्थलमा करिब दुई लाख मानिस उतार्ने र अहिलेसम्मकै ठूलो सभा गरेर देखाउने भनेको छ। त्यसका लागी १० हजार युवालाई तालीम सहित भोलियन्टियर र ५० हजार युवालाई सभास्थलमा उतार्ने युवा संघको छुट्टै तयारी छ। एमाले महाधिवेशनमा करिब दुई हजार ६ सय १३ प्रतिनिधि सहभागी हुने छन् । उद्घाटन सत्रमा चाहिँ देशभरबाट नेताकार्यकर्तालाई सहभागी हुन अनिवार्य जस्तै गरिएको छ ।

यसैबीच नेकपा एमालेको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेताहरू गुट बनाउन र भत्काउन पनि सक्रिय छन् । अहिले एमाले अध्यक्ष ओलीले भक्तपुरको गुन्डुमा बसेर गोप्य लिष्ट बनाइरहेका छन् भने बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको निर्देशनमा बानेश्वरको थापागाउँमा बेग्लै तयारी थालेका छन् । उता पार्टी कार्यालय च्यासलमा भने नेताकार्यकर्ताको छुट्टै चहलपहल बढेको छ ।

यसपटक अध्यक्षमा ओलीलाई उठ्नै नदिने अडानमा रहेका केही नेताकार्यकर्ताले ईश्वर पोखरेललाई छुट्टै गुट निर्माणका लागि सघाइरहेका छन् । यसमा सुरेन्द्र पाण्डे,युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य लगायत योगेश भट्टराई र गोकर्ण विष्टले सहयोग गरेका छन् । जिल्ला जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट देखि नै दुई गुट देखिएको एमालेमा ओली र ईश्वर दुबैलाई बिदा गरेर तेस्रो ब्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने माग पनि उठेको छ। यद्यपि यसपटक तेस्रो ब्यक्ति प्रवेशको संभावना क्षीण हुँदै गएको छ। नेतृत्वमा ओली र पोखरेल बीच नै प्रतिस्पर्धा हुने निश्चित देखिन्छ।

ओली गुटबाट बिष्णु पौडेल,शंकर पोखरेल,प्रदीप ज्ञवाली र बिष्णु रिमालहरु पदाधिकारी हुनेछन् । त्यसमा पूर्व माओवादी नेताहरु रामबहादुर थापा बादल र लेखराज भट्ट अनि नेकपा एसबाट घर फर्किएकी रामकुमारी झाक्री पनि ओलीसँगै हुनेछन् । त्यसैगरी पोखरेलसँग सुरेन्द्र पाण्डे,योगेश भट्टराई,गोकर्ण बिष्ट,कर्ण थापा,गोकुल बाँसकोटा लगायत हुनेछन् ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय