लाेकतन्त्र र त्रिवि जाेगाउन बीपी साेसलिष्ट ईन्टरनेश्नलको चासाे
मनोज कुमार कर्ण
नेपालमा मिति २०८२ भदाै २३ गते देशमा रहेका विभिन्न असन्तुष्टिहरू चुलिएर विष्फाेट भई जेनजी आन्दाेलन भयाे भने भाेलीपल्ट घूसपैठियाहरूद्वारा व्यापक आगजनी, ताेडफाेड, हिंसा, जानलेवा हमलाहरू भए । देशमा संसदलाई नटेकेर तर नाममात्रकाे संवैधानिक टेकाईले भदाै २७ गते वर्तमान सुशिला कार्कीकाे सरकार जेनजीहरूकाे जाेडबल भनिएपनि पाकिस्तान निकट चिनिएका काठमाडाैंका मेयर बालेन्द्र साह र अमेरीका निकट पुगेका “हामी नेपाल” संस्थाका व्यक्ति सुदन गुरूङ गैह्रजेनजीकाे अस्वभाविक भूमीकाले बनाइएकाे मानिन्छ ।
देशमा आउने २०८२ फाल्गुण २१ गते प्रस्तावित आम चुनाव हुने भनिएकाे छ तर सुरक्षाबल मध्ये प्रहरीकाे हथियार खाेसिएर मनाेबल गिरेकाे छ भने सेनाकाे भूमीका भदाै २४ गतेकाे विध्वंसहुँदा निरपेक्ष बसिदिंदा जनतामा व्यापक असन्तुष्टि र प्रतिगमनतर्फ लागेकाे कतै हाेईन त भन्ने शंका जन्माएकाे छ । देशलाई आखिरमा लाेकतान्त्रिक विधिले संविधान, दलीय शासन सक्रिय गराई सुशासन र विकासकाे सुनाैलाे विहानी देखाउनुछ तर चुनाैती, एक-अर्का दलहरू र जेनजी अगुवा अनि सरकारमा बस्नेमाथि शंकाहरू विद्यमान छन् ।
जेनजी विद्राेहपछि पनि एमाले दलभन्दा पनि अध्यक्ष केपी ओली र उनका समर्थकहरूमा चरीत्र परिवर्तन भइ समयकाे माग अनुसार नभएकाे अनुभव गरिन्छ र मधेश प्रदेशमा बाँकी दलहरूलाई पेलेर हाेटेलमा सरकार बनाउँदा एमालेमाथि सिमरामा आक्रमण हुन्छ । यता जेनजी विद्राेहीभन्दा बालेन्द्र साह र सुदन गुरूङहरूमा दलहरूलाई निषेध गर्ने अलाेकतान्त्रिक र अराजकताहरू देखिन्छ भने यहि परावर्तन यस कार्की सरकारका गतिविधिमा पनि अदालत, कानूनलाई बाईपास गरि स्वेच्छाचारीढंगले अघि बढ्ने देखिन्छ, जुन चुनाव गराउने वातावरण बिगार्ने, जनतामा अराजकताकाे सन्देश प्रवाह हुने र सरकार सत्ता लम्ब्याउने देखिन्छ ।
याे लेख यिनै आलाेकमा यस कार्की सरकारबाट नेपालमा लाेकतन्त्र, विधिकाे शासन, त्रिविलगायतका युनिवर्सिटिहरू कसरी जाेगाउने, जेनजीका माग कसरी चुनावद्वारा सम्बाेधन पछि बन्ने संसदबाट गर्ने र देशलाई पुन: शान्तिकाे लयमा फर्काउनेमा आधारीत छ ।
पेशागत बुद्धिजीविकाे चासाे र चिन्ता
बीपी काेइराला साेसलिष्ट इन्टरनेश्नल नेपाल नामक संस्थाकाे मिति २०८२ मंसीर ०५ गते शुक्रवार अनुपम फूड ल्याण्ड, बत्तीसपुतली, काठमाडाैंमा “पेशागत बुद्धिजीविवर्गसँग ‘जेनजी आन्दाेलन : राजनैतिक, आर्थिक र कूटनीतिक प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम- २०८२” काे जीवन्त सञ्चालन डा. शेखर काेइरालाकाे अनुशासित उपस्थितिमा भएकाे थियाे । कार्यक्रममा वक्ताहरूले संक्षेपमा यस्ता कुराहरू राख्नुभयाे, जुन नेपालकाे लाेकतन्त्र जाेगाउने, जेनजी आन्दाेलन, राेजगार सीर्जनाका उपाय आदिबारे सरकार र याेजनाविद्लाइ सहायक हुनसक्छ ।
सभाध्यक्ष माननीया इन्दिरा थापाले स्वागत मन्तव्य दिनुहुँदै नेपालमा राजनैतिक दलका नेतृत्वहरूले उपलब्धी नदिई पद नछाेड्दा जेनजी विद्राेह गत २०८२ भदाै २३ गते हुनपुग्याे जस्ता कारणहरू राख्नुभयाे । त्यसपछि सहप्राडा उद्धव सिग्देलले जेनजी, जेन अल्फा, जेनबीटालगायत शब्दकाेषबारे जानकारी दिनुहुँदै नेपालमा जेनजीकाे जनसांख्यिक प्रतिनिधित्व, विगत केही वर्षहरूमा नेपालमा लाेकतन्त्र (Democracy) काे खस्कँदाे ईन्डेक्स र जेनजी विद्राेहका अन्य कारणहरू विषय प्रवेश गराउनुभएकाे थियाे ।
सर्वाधिक चासाेकाे वक्ता, जेनजी अगुवा तथा कानूनका शिक्षार्थी माजिद अहमदले भने दाेस्राे सत्रमा जेनजी आन्दाेलन नेपालमा हुनाका कारण र लक्ष्यमा केवल बन्द सामाजिक सञ्जाल खुलाउनलाई मात्र नभई नेता र मतदाताका बच्चा बीचकाे सामाजिक खाडल (Nepo Baby trend) बाट शुरूवात भएकाे स्मरण गराउनु भयाे । उनका अनुसार अन्य कारणमा श्रीलंका, बंगलादेश, फिलिपिन्समा भएका यस्ता विद्राेहबाट नेपालमा पनि उत्साहित हावा चलेकाे; सहकारी, लैङ्गिक, याैनिक, समानुपातिक काेटाकाे दुरूपयाेग, धनकाे असन्तुलित वितरण, समावेशीता आदिका कुरा आम सञ्चार (Mass media) ले ध्यान नदिनु; एमालेमा एकजना व्यक्तिकाे लागि विधान संशाेधन गरेर पुन: उही नेतृत्व ल्याउने निराशा; काेशी प्रदेशका मन्त्रीले ठक्कर दिएर गाेदावरीमा भागेका; साे बेलाकाे केपी ओली सरकारले मधेश आन्दाेलनमा गाेली चलाएकाे अनुभव भएकाेले जेनजीहरू भागीहाल भनेर झन् उत्तेजना र अहंकार प्रदर्शन गरेकाे र असली कार्यकर्ताकाे दलमा पदकाे लागि नाम सिफारिश भएर एऊटा जाने तर नेताहरूले बस्दा खल्तिबाट अर्काे हाल्दिनेलगायत बताउनुभएकाे थियाे ।
बाेल्ने क्रममा अन्सारीले जेनजी विद्राेह सरकार र संविधान फाल्नलाई नभएकाे प्रष्टपार्दै जेनजी विद्राेहमा खाेजीखाेजी युवालाई मारिएकाे, युवालाई ताेडफाेड गर्न सरकारकाे केहीले कारक बनेकामाथि कार्वाही हुनुपर्ने, माेरङमा ट्राफिकले रिक्सापुलरसँग रकम असुलेकाेले काठमाडाैंमा उनीहरू प्रदर्शनमा आऊंदा ट्राफिकहरू आक्रमणमा परेका, सुरक्षा संयन्त्रले सिंहदरबार आदि जाेगाउनुपर्नेमा छाेडेका र अब भने लामाे समय द्वन्द्वकाे बदलाभाव मनबाट हटाउन सत्यनिरूपण र मेलमिलापबाट गएर देशलाई आवश्यकपर्ने कुरा संविधान संशाेधन गरेर जानुपर्ने कुरा आैंल्याए ।
पछि वक्ता प्राडा गाेविन्द पाेखरेलले जेनजी आन्दाेलनपछिकाे नेपालकाे अर्थतन्त्र र यसका चुनाैतीहरूबारे कुरा राख्दा हरेक दस वर्षमा युवा नेतृत्वले पछिकाे पुस्ताकाे मागलाई नसुन्ने गरेकाेले आन्दाेलन भइरह्ने; गाउँबाट जनसंख्या शहर केन्द्रीत हुँदा गाउँकाे जमीनकाे सदुपयाेग, फसल उगाउने, उद्याेग स्थापनाबारे सरकारले साेच्नुपर्ने; बेराेजगारी ह्वात्तै जेनजी विद्राेहपछि बढेकाेले सडक सञ्जालकार्य, उत्पादन, नेपाली सामान विदेशमा ब्राण्डिङ्ग गर्नेुपर्ने; नीजि क्षेत्र डराएकाेले सरकारले विश्वास दिलाई लगानीकाे लागि पहल गर्ने; छिमेकी देशसँग कृषि र स्वास्थ्य सेवामा मात्र नेपाल प्रतिस्पर्धा गर्नसक्ने; रूग्न उद्याेग, याेजनाकाे उद्धार गर्ने हाे, न कि खारेज जस्ता कुराहरू बताउनुभयाे ।
कार्यक्रममा पूर्वसचिव मधुरमण आचार्यले जेनजी आन्दाेलनमाथि बाेल्नुहुँदै यस्ले नेपालकाे कूटनीति र परराष्ट्रनीतिमाथि पर्ने प्रभावबारे प्रस्ट्याउनुभएकाे थियाे । सरकारले नयाँ राजदूतलाई नियुक्त गर्न नसक्ने तर अदालतकाे फैसलासमेतकाे विरूद्ध गएर एघार देशमा राजदूत खाली गर्याे भन्दै नेपाललाई युक्रेन, सिरिया जस्ताे युद्धरत्त देश बनाउने हाे कि शान्त र समृद्ध, त्यसबारे हामीले साेच्दा बाेल्दा साेही अनुसार सकारात्मक बाेल्नुपर्छ बताउनुभयाे । त्यहाँ कानूनी पाटाेमाथि प्राडा विपिनचन्द्र अधिकारीले जेनजी आन्दाेलनपछि नेपालकाे भू-राजनीतिक परिवेश र कानूनी समस्याकाे पाटाेमा धारणा राख्दै जेनजी आन्दाेलनकाे उद्येश्य पवित्र छ तर संगठन र संख्या यकिन छैनन्; आन्दाेलन महत्त्वपूर्ण छ तर जेनजीकाे आकार प्रष्ट छैन; ताेडफाेडमा युवालाई उक्साउने कारक वा स्वयम् युवा जाे भएपनि कानुनले अनुहार नहेरी आँखामा पट्टीलाएर कानुनकाे कुरा बाेलेर सबै संलग्नमाथि कार्वाही गर्छ र उक्साइएका युवाकाे बारे पनि साेच्छ; संविधान संशाेधन जरूरी छैन; समयमा चुनाव हुनुपर्छ जस्ता कुरा राख्नुभएकाे थियाे ।
साे कार्यक्रममा फ्लाेर ओपन हुँदा उपप्रा. केशव पाैडेलले जेनजी विद्राेह हुँदा दल, नेता, लाेकतन्त्र, सिंहदरबार आदिमाथि आक्रमण हुँदा र जलाईंदा काेही किन नबाेलेकाे भन्ने प्रश्न गर्नुहुँदै सेनाले सुरक्षाकाे कर्तव्य पालन नगरेकै हाे, हथियार गायब पारिएकामा चुनाव कसरी हुने जस्ता चिन्ता व्यक्त गर्नुभएकाे थियाे । त्यस्तै, प्राडा गाेविन्दबहादुर तुम्बाहाङले भने फ्लाेरबाट जेनजी विद्राेहकाे मूल कारण नेपाल-भारतकाे कालापानी, लिम्पियाधुराकाे विवाद तात्कालीन केपी ओलीकाे सरकारले कूटनीतिक सुझबुझले नसुल्झाइ भारतलाई लल्कार्दै चीनमा गएर रूस, चीन, उत्तर काेरियाका राष्ट्रपतिहरूसँग फाेटाे खिचाउँदा अमेरिका र युराेप नेपालप्रति भड्केर भएकाे बताउनुभयाे ।
बाेल्ने क्रममा उपप्रा मनाेज कुमार कर्णले कम्युनिस्टहरूले बाेल्ने शब्दावली वर्ग अन्धता अर्थात्, मैंले खाएकाे छु भने अरूले पनि खाएकै हाेलान् भनेर देखाइने सामन्तवादी साेच काँग्रेसीहरूले कहिले हटाउने हाे साेध्दै सिमरा (बारा)मा एमालेमाथि भएकाे अवराेध वा आक्रमणमा जेनजीलाई मुछ्न नपर्ने बरू एमालेले अन्य दललाई मधेशमा पेलेर हाेटलमा किन सरकार बनाएकाे भन्दै उसले जे गर्याे, त्यसकाे फल पायाे तसर्थ, हामीले चिन्ता गर्नुभन्दा एमाले सुध्रिनुपर्याे बताउनुभयाे । वक्ता माजिद अन्सारीकाे ध्यानाकर्षण गराउँदै कर्णले भन्नुभयाे कि जेनजी विद्राेह बंगलादेशमा भयाे र सरकार संविधानलाई नमानेर सडकबाट बनाइयाे अनि आज दिनहुँ बलात्कार, मंदिर ताेडफाेड, आतंक र विध्वंश त्यहाँ छ तर श्रीलंकामा जेनजी विद्राेहपछि संविधानत: सरकार बन्याे र उ आज विकासमा फेरि प्रतिस्पर्धामा छ तसर्थ, नेपालका जेनजीहरूले संविधानलाई किन नमान्या सरकार बनाउने बेला ?
थपमा उनले जेनजी सरकारले संविधान नमानेकाेले परिणामत: कानूनपनि नमानिरहेकाे अब त्रिविकाे जग्गा तथा अचल सम्पत्ति खाेजबिन समिति, २०८१ काे प्रतिवेदन पढेर यहि सरकारले क्याबिनेट डिसिजन गरेर सार्वजनिक गरेर स्वयम्ले नमानिरहेकाे उदाहरणसहित बताउँदै उनले प्रश्न गरे कि याे जेनजीकै सरकार हाे कि एमालेकाे किनकि त्रिविमा तिनै कार्यहरू हालपनि त्रिविविरूद्ध भइरहेका छन् जुन केपी ओलीले गरिरह्नुभएकाे थियाे ।
जस्तै, छानबिन प्रतिवेदनले क्रिकेट रङ्गशालालाई पर लग भन्दापनि याे सरकारकाे मन्त्री कुलमान घिसिङले उल्टै १० अर्ब रूपैयाँ थपेर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला किन बनाउन थालेका ? त्रिवि परिसरमै रहेका स्वयम् मान्य शिक्षामन्त्री महावीर पुनजीकाे संस्था राष्ट्रिय अविष्कार केन्द्र र चाईनिज एकेडेमी अफ् सायन्सेज (CAS) कुन डकुमेन्टकाे आधारमा कब्जा गरेर बसेका हुन् ? यी संस्थाकाेबारे प्रतिवेदन चूप किन छ ? के जेनजी सरकार भनेकाे संविधान र कानून नमान्नुपर्ने हाे ? आदि । उक्त कार्यक्रममा धन्यवाद ज्ञापन नेपाल संस्कृत विश्वविद्यालयका पूर्व भीसि प्राडा कुलप्रसाद काेइरालाले गर्नुभएकाे थियाे भने कार्यक्रम सञ्चालन उपप्रा भावुकराज न्याैपानेले गर्नुभएकाे थियाे । साे कार्यक्रममा त्रिवि प्राध्यापक संघ (TUTA) का सभापति प्राडा वसन्त ढकाललगायत अन्य विद्वान्, विदुषी तथा दलका नेता, पेशागत अन्य क्षेत्रका बुद्धिजीविहरूकाे गरिमामय सक्रिय उपस्थिति थियाे ।
त्रिवि सकाउन सरकारपनि उद्यत
नेपालमा हाल शिक्षामन्त्री तथा त्रिविका सहकुलपति डा. महावीर पुनबाट त्रिभुवन विश्वविद्यालयमा कुलपति प्रधानमन्त्रीलाई हटाएर अब बाेर्ड अफ् ट्रस्टीबाट व्यक्ति विशेष छान्ने सुनिन्छ । सकारात्मक सुधारकाे नाममा कसैलेपनि विराेध जनाउने छैन तर नेपालमा समस्या दलका नेतादेखि व्यक्ति विशेषले पनि माैका पाउनासाथ शक्तिकाे दुरूपयाेगलगायत संस्थामा आफ्नाे मान्छेलाई भर्तीकेन्द्र बनाउँदै त्यसकाे चल, अचल सम्पत्तिलाई दाेहन गर्ने हुन् जसलाई समाधान गर्नुछ । यदि यस्ताे गलत प्रवृत्ति साधारण व्यक्ति पदमा पुगेकाे वा शक्तिशाली पदेन काेहीले गर्दा राेक्ने मेकानिज्म सरकार वा देशले नसाेचे जसलाई जुनरूपमा कुलपतिमा वा शक्तिमा पठाउँदा पनि उसले फेरि गलत प्रवृत्तिकै पुनरावृत्ति गराउने हाे अनि कति नयाँ नयाँ एक्स्पेरिमेन्ट नेपाल र त्रिविले धानेर नवशाेषकहरूलाई झेल्ने भन्ने प्रश्न खडा भएकाे छ ।
वास्तवमा नेपालमा वर्तमान कुलपति प्रधानमन्त्री देशकाे कार्यकारी शक्ति आफूमा राखेर त्रिविकाे पक्षमा सकारात्मक आर्थिकलगायतका निर्णयहरू लिने नै ठिक हाे । याे कुलपति हुने प्रधानमन्त्री व्यक्तिलाई सुधार्नु छ देशले, न कि शक्तिहीन ट्रस्टीबाट छानिएकाे नयाँ कुलपतिले त्रिविका शिक्षक, कर्मचारी, अनुसन्धान, पठनपाठनका लागि तलबपनि लिन शक्तिशाली प्रधानमन्त्रीसँग भीख माग्ने र नदिए झगडागर्न पठाउनु छ । याे बुझ्नु अति महत्त्वपूर्ण पाटाे हाे । त्रिविलगायत नेपालका युनिवर्सिटिज्मा हुने बेथिति राेक्नु जरूरी छ, जसमा दलका नेता, प्रम कुलपति, सहकुलपति शिक्षामन्त्री आदिले त्रिविमा मनाेमानी गरिरहेका हुन्छन् ।
बेलायतमा ईडिनबर्घ युनिवर्सिटिकी कुलपति महारानी एलिजावेथकी छाेरी राजकुमारी नै हुन् तर त्यसकाे विकास त्रिविमा जस्ताे राजपरिवारले राेकेकाे कहिल्यै छैन बरू उच्च संरक्षणमा अध्ययन अनुसन्धानमा विश्वमा ईडिनबर्घ विश्वविद्यालय अब्बल छ । त्यस्तै, टाईम्स हाइयर एजुकेशन म्यागजिनमा शीर्षस्थानमा पर्ने हार्वर्ड विश्वविद्यालयका सर्वेसर्वा सञ्चालक विश्वविख्यात कवि टीएस ईलियटका आफन्त चार्ल्स विलियम ईलियटले चालीस वर्षसम्म नेतृत्व हार्वर्डमा दिए । देशले नेतृत्व दिनपनि दियाे किनकि उनमा नेता राष्ट्रपतिले जस्ताे कुनै देशमाथि आक्रमण गरेर ताेडफाेड गरि विजेता बन्नु नभई मानवसभ्यताकाे विकास गर्ने नेतृत्वदायी कला, संस्थाप्रति भिजन थियाे । नेपालमा याे कुरा दलका नेता वा जेनजी उपजकाे सरकारकाे मान्य शिक्षामन्त्रीले कहिले बुझ्ने ?
युनिभर्सिटि बनाऔं, पसल नथापाैं सरकार
स्तम्भकारले याे दाबीकाे साथ सरकारलाई सुझाव दिन चाहन्छ कि नेपालकाे उच्च शिक्षालाई पुन: विश्वमा चिनाउने हाे भने त्रिविलाई हाल झैं चाैतर्फी सरकार बाहिर र भित्रबाट समाप्तपार्न जुन आक्रमणहरू भइरहेका छन् ताकी नयाँ नयाँ विश्वविद्यालयहरू व्यक्ति विशेषकाे चासाे र स्वार्थमा नेपालमा बिना कुनै स्राेत साधन खाेलिएकालाई त्रिविलाई समाप्तपारेर त्यसका रिसाेर्सेज बाँडेर चलाइनेछ, ती सबै षड्यन्त्रकारी आक्रमणहरू तत्काल राेकिनुपर्छ ।
स्वयम् सरकारले तत्काल पहल थालेर त्रिविलाई जाेगाउनुपर्छ । नेपालले यदि त्रिविलाई जाेगाएर उच्च शिक्षा उकास्न चाहन्छ भने सरकारले त्रिविकाे भीजन (२०२० – २०३०) लेख्ने पूर्व भीसि तथा बेलायतका ईडिनबर्घ युनिवर्सिटिबाट पाेष्ट डाैक्टरेट गर्नुभएका प्राडा तीर्थराज खनियाँलाई नजिक पारेर त्रिविकाे जिम्मा लगाउनुपर्छ । उनकाे भीजनमा उनीपछिका भीसिहरू देशैभर जागिर खाइरहेका छन् भने उनकै भीजनमा त्रिविकाे पुनर्संरचना हुने सबैले राम्राे भनिरहेका छन्, स्वयम् सरकारले पनि । अनि उनै डा. तीर्थराज खनियाँसँग सरकारकाे दूरी किन ? जसकाे भीजन छ, उसलाई पाे नेतृत्व दिने हाे, यदि मन त्रिविलाई उकास्ने सफा छ भने ।
देशकाे उच्च शिक्षा त्रिविद्वारा उकासिने सुनिश्चित भयाे भने लाेकतन्त्र, दल, नेता चरित्र, शासन व्यवस्था, विकास, अनुसन्धान सबै दुरूस्त हुन थाल्नेछन् । पहिला सरकारले त्रिविमाथिकाे बक्रदृष्टि आफैंबाट हटाएर शुरूवात गरेर त्रिविमा लगानी गर्नुपर्याे, न कि त्रिवि बन्द गरेर त्यस्काे स्राेतसाधन नयाँ पसलसरी नेपालका युनिवर्सिटिज्मा हाल्ने ।
(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

