एमालेसँग भिड्ने तयारीमा घाइते जेन-जी पुगे माइतीघर

काठमाडौं । बाराको सिमरा घटनापछि नेकपा एमालेसँग थप रुष्ट बनेका जेन-जी युवाहरूले काठमाडौंमा पनि एमालेको कार्यक्रमलाई चुनौती दिने भएका छन् ।
नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणाका लागि माइतीघर मण्डलामा आज शुक्रबार भेला बोलाएको छ। तर, एमाले युवा भेलाहुने तयारी गरिरहेका बेला जेन-जी घाइतेहरू पहिल्यै माइतीघर पुगेका छन् । उनीहरूले आफूहरू न्यायका लागि लडिरहेको भन्दै त्यहाँ कसैलाई आउन नदिने अडान लिएका छन् ।
घाइते जेन-जीका युवाहरूले माइतीघरमा कसैलाई पनि आउन नदिइने बताइरहेका छन् । यद्यपि एमाले युवाहरू पनि माइतीघरमा भेला भई बानेश्वरसम्म मार्चपास गर्ने र फर्केर बबरमहलको कार्की व्यांक्वेटमा एनभीएफ घोषणाको तयारीमा छन् ।
एमाले युवाहरूको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल,महेश बस्नेत लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। एमाले नेता बस्नेतले बारा घटनापछि उत्तेजित अभिव्यक्ति दिएर जेन-जी युवाहरूलाई चिढ्याएको चर्चा छ। आजको कार्यक्रममा सुरक्षा चुनौती थपिएको भन्दै काठमाडौं प्रहरीले कडा निगरानी गरिरहेको छ।

