नेकपा एस फुटको नजिक !

काठमाडौं । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी फुटको नजिक पुगेको छ।

सो पार्टीका सम्मानित नेता झलनाथ खनाल,महासचिव घनश्याम भुषाल र नेतृ रामकुमारी झाक्रीले माओवादीसँग एकता नगर्ने तर, अर्को पार्टी बनाउने बताएका छन्। अध्यक्ष लगायत केही नेताहरूले जबर्जस्ती पार्टी विघटन गराएर माओवादीमा बिलय गराउन खोजेको भन्दै एक दर्जन नेताले यस्तो निर्णय गरेका हुन् । उनीहरुले घनश्याम भुषाल वा रामकुमारी झाक्रीलाई अध्यक्ष बनाउने तयारी समेत गरेका छन् । यद्यपि माधव नेपालहरु माओवादीसँग एकतामा गएपछि झलनाथ समूह एमालेमा फर्किन सक्ने अनुमान समेत गरिएको छ।

शुक्रबार अबेर सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसहित समाजवादी मोर्चा घटक दलसँग एकता गर्ने निर्णय गरेको छ। यो निर्णय पछि सम्मानित नेता खनाल, महासचिव भुषाल लगायत नेताले माओवादीमा नजाने तर,एकीकृत समाजवादी पुनःगठन हुने भनेका छन् ।’अब हामी अर्को पार्टी बनाउँछौं। यसको स्वरूप कस्तो हुन्छ, त्यो अहिले नै तय भएको छैन। तर पार्टी पुनः गठन गर्छौं’ नेता खनालले भने।

अहिले खनालसँगै बरिस्ठ नेता घनेन्द्र बस्नेत,महासचिव भुषाल,नेतृ झाक्री,डा.बिजय पौडेल, जिवनराम श्रेष्ठ लगायत नेता माओवादीसँगको एकतामा नजाने भनेका छन् । अध्यक्ष नेपाल सहित,बामदेव गौतम,डा.वेदुराम भुषाल,राजेन्द्र पाण्डे,प्रकाश ज्वाला,गङ्गालाल तुलाधर,मेटमणी चौधरी, कल्याणी खड्का,जयन्ती राइ,राजेन्द्र राई,सुदेश पराजुली चाहिँ एकताको पक्षमा छन् ।

माओवादी र समाजवादी एकतापछी पार्टीको नाम नेकपा समाजवादी वा समाजवादी केन्द्र राख्ने करिब सहमति भएको छ। त्यसैगरी चुनाव चिन्ह गोलाकार भित्र कलम हुनसक्ने छ। यद्यपि नाम र चुनाव चिन्हबारे अझै छलफल जारी छ। पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद रहने, नेपाली विशेषताको समाजवाद अँगाल्ने र दीर्घकालीन वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने भनिएको छ। यसो गर्दा अब माओवादी ब्रान्ड र बहुदलिय जनवाद कतै रहने छैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय