उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन सोमबार  अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिइएको थियो ।

तराईमा बिशेष हुने छठ केहिवर्षदेखि काठमाडौं उपत्यका सहित पहाडमा समेत भव्य हुने गरेको छ। काठमाडौंको गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनार सहित अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।

गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारको दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो । लाखौँ भक्तजनले सोमबार बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिन लामो सूर्य उपासना पर्व अन्त्य गरेका हुन् ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनले नदी किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरेका थिए । शनिबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । दुई दशक अघिदेखि राजधानीमा शुरु भएको छठमा प्रत्येक वर्ष सहभागी हुने भक्तजनको सङ्ख्या बढिरहेको छ । विसं २०४६ अघि छठ तराई क्षेत्रमा मात्र मनाइन्थ्यो । हाल पहाडी क्षेत्रसहित प्रमुख शहरमा छठको रौनक बढ्न थालेको छ । यस पर्वमा पहाडी क्षेत्रका मानिस पनि उत्तिकै सहभागी हुन थालेका छन् । तराई र पहाडका मानिसका बीच सामाजिक सद्भाव बढाउने पर्वका रुपमा छठ स्थापित हुन थालेको छ ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय