कांग्रेस ‘महाधिवेशन’ मिति नतोक्नु नेतृत्वको अकर्मण्यता

काठमाडौ। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले निर्धारित समयमा महाधिवेशनको मिति तोक्न ढिलाइ गरेको भन्दै चर्को आलोचना गरेका छन्।

विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएको समूहलाई साथमा राखेर आइतबार पत्रकार सम्मेलन गर्दै घिमिरेले केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा बैठक लम्ब्याएर पार्टीलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए।

घिमिरेले केन्द्रीय कार्यसमितिको कार्यशैलीप्रति प्रश्न उठाउँदै भने, ‘पार्टी केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा केन्द्रीय समितिको बैठक लम्ब्याएको छ। यसरी किन बैठक सारिरहेका छौँ भनी आज जनमानसले प्रश्न गरिरहेको छ।’

उनले पार्टीको महाधिवेशन केन्द्रीय कार्यसमितिभन्दा उच्च रहेको जिकिर गर्दै केन्द्रीय समितिले महाधिवेशनको आदेशलाई पालना गर्नुपर्नेमा जोड दिए।

आफूलाई ‘विश्वको प्रजातान्त्रिक आन्दोलनको नमूना’ मान्ने कांग्रेसले महाधिवेशनको मिति तय गर्न ढिलाइ गर्नु लज्जास्पद भएको उनको भनाइ छ।

उनले भने, ‘अरू राजनीतिक दल र कम्युनिस्ट पार्टीहरूले मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गरिसके। हामीलाई केले रोक्यो?’

घिमिरेले पार्टी विधानअनुसार नियमित वा विशेष महाधिवेशन गर्ने दुईवटा बाटो हुँदाहुँदै पनि नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै आक्रोश पोखे।

विशेष महाधिवेशनको मागसहित झन्डै ५० प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाएपछि दबाबमा परेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी कात्तिक १३ गतेका लागि बोलाइएको छ। पत्रकार सम्मेलनमा कांग्रेसका लोकप्रिय नेताहरू देवराज चालिसे,रमेश धमला लगायत पनि उपस्थित थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय