माओवादीमा ‘जोडी’ नेता नहुने !

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अब एउटै परिवारका सदस्यलाई एउटै जिम्मेवारीमा नराखिने भएको छ। परिवारका श्रीमान-श्रीमतीलाई एउटै पदमा राख्दा वा जिम्मेवारी दिँदा काम भन्दा बढी आलोचना हुन थालेपछि माओवादीले यो निर्णय गरेको हो।
२०७८ साल पुसको तेस्रो साता सम्पन्न माओवादीको ८ औं महाधिवेशनमा स्थायी समितिमा श्रीमान-श्रीमतिको बोलवाला नै थियो । त्यस अघि १० वर्ष चलेको जनयुद्धमा थुप्रै नेताका श्रीमान-श्रीमती ‘लालजोडी’ को रुपमा पार्टी तह र जिम्मेवारीमा थिए। पार्टी भित्र अब्बल नेताहरू हुँदाहुँदै पनि गणेश प्रवृत्ति(प्रचण्ड वरिपरि घुमेका झुण्ड)ले मात्र अवसर पाएको भन्दै बेलाबखत त्यसको बिरोध पनि हुँदै आएको थियो। तर, जिम्मेवारी खोस्न वा नदिन संभव भएन र धेरै नेताका श्रीमान-श्रीमती नै पार्टी जिम्मेवारीदेखि लाभको पद सम्म पुगे।
शान्ति प्रक्रियापछि त्यस्ता जोडीले पार्टीको महत्त्वपूर्ण जिम्मेवारी मात्रै होइन मन्त्री समेत भए । माओवादीभित्र जोडि नेताहरू भनेर अहिले पनि छेडखानी चल्ने गरेको छ । तर, अब केन्द्रीय समिति विघटन गरेर पुष्पकमल दाहाल प्रचण्ड बाहेक सबै सदस्य मात्रै भएसँगै स्थायी समितिका जोडी नेताहरू अलग भएका छन् । विघटनअघि पार्टीमा महासचिव देव गुरुङकी श्रीमति यशोधा सुवेदी स्थायी समिति सदस्य थिइन् । उपमहासचिवहरू वर्षमान पुनकी श्रीमति ओनसरी घर्ती, शक्ति बस्नेतकी श्रीमति सत्य पहाडी स्थायी समिति सदस्य थिइन् ।
यसैगरी सचिवहरूमा लिलामणि पोखरेलकी श्रीमति शशी श्रेष्ठ, हितमान शाक्यकी श्रीमति अमृता थापा स्थायी समिति सदस्य थिइन् । केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनकी श्रीमति कमला रोका पनि स्थायी समिति सदस्य थिइन् । यी जोडी नेताहरू विचार समुह नभइ प्रचण्डको भक्तिगान गाएर पद हत्याएको आरोप पार्टी भित्र लाग्ने गरेको छ ।
यी जोडीहरूले पार्टीमा मात्र होइन राजकीय सत्तामा समेत पटक पटक अवसर पाउने गरेको ती नेताको आरोप छ । २०६४ सालको निर्वाचनयता देव, वर्षमान, शक्ति, लिलामणि, हितमान र गणेशमानले पटक पटक मन्त्री पद प्राप्त गरेका छन् । प्रचण्ड र शक्तिशाली श्रीमानका कारण उनीहरूका श्रीमतिले पनि पटक पटक पार्टी र राज्यको उच्च तहमा अवसर पाएको आरोप लागेको छ ।

