जेन-जीलाई बाबुरामको टिप्स : निरपेक्ष होइन शंकासहितको विश्वास गर्नु !

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०५० सालको दासढुङ्गा घटनासँग जोडेर तत्कालीन अवस्थाको चित्रण गर्दै जेन-जी पुस्तालाई नयाँ टिप्स दिएका छन् ।

वर्तमान सन्दर्भलाई उनले त्यो समयमा भएको राजनीतिक बेइमानी र वास्तविक अवस्थाको चित्रण गर्दै लेखेका छन् -‘राजनीति धेरै निर्मम हुन्छ। निरपेक्ष विश्वास हैन शंकासहितको विश्वास गर्नुपर्छ।’

उनले लेखेका छन् :- जेन-जी अगुवाहरू र जेन-जी विद्रोहको जगमा बनेको वर्तमान अन्तरिम सरकार दुवैलाई उपयोगी सन्दर्भ-सामाग्री बन्नसक्ने मेरो आफ्नै जीवनको यो सत्य घटना: २०५० जेठ ३ गते चितवनको दासढुंगा नजिक त्रिशुलीमा जीप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको दुःखद निधन भएपछि देशमा ठुलो जनआक्रोश पैदा भयो। थप जनधनको क्षति हुनथाल्यो। एमाले, तत्कालीन माओवादीको खुला मोर्चा संयुक्त जनमोर्चा (संजमो) लगायतको संयुक्त नेतृत्वमा आन्दोलन चर्कदै गयो। निष्पक्ष छानवीन, दोषीलाई कार्वाही लगायतका मागहरू अतिरिक्त तत्कालीन प्र म गिरीजाप्रसाद कोइरालाले राजीनामा गर्नु पर्ने मुख्य मागहरू बने। सरकार टसमस भएन।

महिनौंको संघर्षपछि भदौको कुनै दिन सरकार र आन्दोलनकारी वीच वार्ता गर्ने सहमति भयो। आन्दोलनकारीहरूको तर्फबाट तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी, वरिष्ठ वामपन्थी नेता शम्भुराम श्रेष्ठ र संजमोको अध्यक्ष म चयन भयौं। सरकार पक्षबाट कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) खटिनुभयो। ललितपुर सानेपाको कुनै घरमा वार्ता भयो।

लामो रस्साकस्सी पछि अरू कुराहरूमा सहमति बन्दै गयो। तर प्रमको राजीनामावारे सहमति हुन निकै सकस पर्यो। हामी पनि टसमस भएनौं। अन्त्यमा किसुनजीले भन्नुभयो – ‘लौ त्यो माग पनि तपाईंहरूको पूरा हुन्छ। म जिम्मा लिन्छु।’

हामीले भन्यौं- ‘मिति तोक्नुपर्छ।’
किसुनजीले भन्नुभयो- ‘लौ लौ, भदौ ३० गते! मेरो वचन भयो।’
मेरो मनमा शंका लाग्यो। किनकि म त्यतिवेला ३९ बर्षको जल्दोबल्दो थिएँ। मैले भनें- ‘किसुनजी, यसको एउटा लिखत गरौं न त!’
किसुनजीले बोल्नु अघि नै वहाँका समवयी र मेरा पिताको उमेरका मनमोहनजी र शम्भुरामजीले एकै स्वरमा भन्नुभयो- ‘ किसुनजी जस्तो सन्तनेताले भनेपछि भैगो नि! वहाँको वचननै लिखतभन्दा बलियो हुन्छ।’ म हिस्स परें।

भदौ ३० गते आयो। प्रम गिरिजा प्रसाद कोइरालाले राजीनामा गर्नुभएन।बरू ‘सन्तनेता’ ले पो भन्नुभयो- ‘मैले राजीनामावारे आश्वासन दिएकै थिइनँ।’ सबै फासफूस भयो।

यसको पाठ हो- राजनीति धेरै निर्मम हुन्छ। निरपेक्ष विश्वास हैन शंकासहितको विश्वास गर्नुपर्छ। विशेषतः अहिले नयाँ इतिहास बनाइरहेका जेन-जी अभियन्ताहरूले पनि सिक्ने कि?

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय