सिंहदरबार पुनर्निर्माणमा मेयर्स फोरमले पाँच करोड सहयोग गर्ने

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा जलाइएको सिंहदरबार पुनर्निर्माणका लागि काठमाडौं उपत्यका मेयर्स फोरमले सहयोग गर्ने भएको छ।
मेयर्स फोरमको बैठकले सिंहदरबारको पुनर्निर्माणका लागि पाँच करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको हो। फोरमले पत्रकार सम्मेलन गर्दै यो घोषणा गरेको हो। फोरमका अध्यक्ष एवं ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जन सहित उपत्यका भित्रका मेयरले उक्त घोषणा गरेका हुन्।
यसैगरी उपत्यका प्रहरी कार्यालयलाई काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था सुदृढ गर्न एक करोड रूपैयाँ प्रदान गर्ने पनि फोरमले जनाएको छ। फोरममा काठमाडौं,ललितपुर र भक्तपुरका सबै नगरपालिकाका मेयर सदस्य छन् । यद्यपि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भने यसमा देखिएनन् । बालेनको कार्यशैली बारे बेलाबेला टिप्पणी हुँदै आएको छ।
यस्तै फोरमले तोडफोडमा परेका प्रहरी चौकी तथा नगरपालिकाहरूको सेवा प्रवाह सहज बनाउन थप सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
जेनजीको नाममा भएको आन्दोलनमा अराजकता समूहले नेपालको अस्मिता, लोकतन्त्र र सार्वभौम सत्तामा नै धक्का पुग्नेगरी आगजनी तथा तोडफोड गर्ने कार्यबाट देश मात्र आक्रान्त नभई अन्तर्राष्ट्रिय जगतमा समेत बद्नामी र बेइज्जती भएको फोरमले बताएको छ
अराजक कार्य गर्नेहरूलाई खोजी तथा छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न फोरमले सरकारसँग माग गरेको छ।

