प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री भएपछि यो उनको पहिलो सम्बोधन हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।
‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गर्दै आएकी प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रका नाममा गर्ने यो सम्बोधनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको हो । यही सरकारले फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन गर्नेगरि तयारी गरिरहेको छ।

