रवि र टोपबहादुर कारागार फर्किए, अझै ७ हजार फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएका सहकारी प्रकरणमा जेल परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्कि सकेका छन्।
आन्दोलनको मौकामा रवि लामिछाने नख्खु कारागारबाट र टोपबहादुर रायमाझी सुनधारा स्थित केन्द्रीय कारागारबाट भागेका थिए। उनीहरुसँगै हजारौं कैदी र थुनुवा भागेको भएपनी केही आफैं फर्केका र केहीलाई पुनः पक्राउ गरि कारागारमा राखिएको छ। केन्द्रीय कारागारबाट भागेपनी १५ दिनपछि फर्केका रायमाझीलाई डिल्लीबजार पठाइएको छ। रवि भने नख्खु कारागार मै छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले यही २४ गते कारागारबाट निस्किएका एमाले केन्द्रीय सचीव रायमाझी मंगलबार केन्द्रीय कारागारमा उपस्थिति भएको जानकारी दिए।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले रायमाझीलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। त्यसैगरी काठमाडौको स्वर्णलक्ष्मी सहकारी,पोखराको सूर्यदर्शन,बुटवलको सुप्रीम लगायत चितवन र बिरगंजको समेत सहकारी ठगीमा रवि लामिछाने पनि पुर्पक्षका लागि थुनामा छन् । भैरहवा कारागारबाट केही समय अघि मात्रै उनलाई काठमाडौं नख्खु कारागार ल्याइएको थियो।
कारागार व्यवस्थापन विभागका अनुसार मंगलबारसम्म रवि र रायमाझी सहित कारागारबाट भागेका ६ हजार ८४६ तथा सुधारगृहतर्फका ३४१ जनासहित कुल सात हजार १०७ कैदीबन्दी कारागारमा फिर्ता भएका छन्।
पछिल्लो २४ घण्टामा १२३ जना कारागारमा फिर्ता भएका छन्। पछिल्लो तीन दिनमा ७७९ कैदीबन्दी कारागार फिर्ता भएका छन्। कारागार विभागका अनुसार अझै सात हजार ३०६ कैदीबन्दी फरार रहेका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए। देशभर ३० हजार ६४० कैदीबन्दी थिए। जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते कारागार तोडफोड आगजनी हुँदा कैदीबन्दी भागेका हुन् । यद्यपि त्यो आन्दोलनमा डिल्लीबजार कारागारमा रहेका कैदी भने कोही पनि भागेनन। त्यहीँ रहेका गण्डकी प्रदेशका पूर्वमन्त्री दिपक मनाङ्गे पनि भाग्न चाहेनन् । उनी अनुशासनमा रवि र रायमाझी भन्दा अब्बल रहेको चर्चा भैरहेको छ।

