लुम्लेको चन्द्रकोटमा पर्यटक लक्षित भिल्ला एन्ड एग्रो

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित लुम्लेको चन्द्रकोटमा सभाहल र लाइब्रेरी सहितको भिल्ला एन्ड एग्रो (एग्रो टुरिजम)सुरु भएको छ।
पोखरा-बागलुङ भूपीराजमार्ग (हाल मध्य पहाडी लोकमार्ग) नजिक पर्ने यो ठाउँ पर्यटकीय हिसाबले उत्कृष्ट छ। यहीँबाट बाग्लुङ,बेनी हुुँदै मुस्ताङको यात्रा गर्न सकिन्छ भने अर्कोतिर लुम्लेहुँदै घान्द्रुक,पुनहिल र अन्नपूर्ण आधार शिविर सम्म पुग्न पनि सजिलो छ ।
पर्यटन प्रवर्द्धन गर्ने उदेश्य सहित ४ महिनाको अथक मेहनतपछि यहीँका युवा नेत्र चापागाईंले चन्द्रकोट लुम्लेमा ७० जना अट्ने सभाहल र सार्वजनिक लाइब्रेरी सहितको भिल्ला सुरु गरेका हुन् । जसमा सुरुवाती चरणमा ३ ओटा एटेज र २ ओटा कमन रुम संचालनमा ल्याइएको छ।
चन्द्रकोट भिल्ला एन्ड एग्रो नाम दिइएको यो व्यवसायमा हालसम्म २५ लाख भन्दा बढी लगानी भएको र थप लगानी बढाउदै जाने नेत्रले परेवान्युजलाई बताए।

यो एग्रो सहितको भिल्लाले लुम्लेको आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा दिनेछ। यहाँ आइपुग्ने पर्यटकले माछापुच्छ्रे,अन्नपूर्ण लगायत हिम शृङ्खला र पहाडी दृश्य हेर्न सक्नेछन् ।
लुम्ले चन्द्रकोटलाई पर्यटन हबको रुपमा विकास गर्दै लैजाने र यसमा स्थानीय तथा प्रदेश सरकारले समेत चासो दिनुपर्ने चापागाईंले बताए। एग्रो भिल्लाको चन्द्रोकोटका स्थानीयले पहिलो सेवा लिएर सुरुवात गरेका थिए।

हलमा गाउँको पर्यटन लगायत अन्य भौतिक विकास कसरी गर्न सकिन्छ भन्ने बिषयमा बिज्ञ मार्फत बहस कार्यक्रम संचालन गरेर औपचारिक शुरुवात गरिने पनि चापागाईंले बताए। सामाजिक काम संगै राजनीतिमा पनि अग्रसर रहेका चापागाईं वैकल्पिक राजनीतिक सोचका युवा हुन् ।
विकास र समृद्धिमा जोड दिदै केन्द्रीय रुपमा विद्यार्थी राजनीतिमा स्थापित भैसकेका नेत्र हाल नेसपा (नयाँ शक्ति) को गण्डकी प्रदेश संयोजक समेत छन् ।

