जेन्जी पुस्ता: लुटिएको कर फिर्ता, भ्रष्टलाई कालकोठरी
काठमाडौ। सत्ता र शक्तिको आडमा जनताको अधिकार खोस्ने तथा भ्रष्टाचार, बेथिति र अन्यायको बिरोध स्वरुप जेन्जी पुस्ता सोमबार सडकमा निस्कने भएको छ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सो पुस्ताले भाद्र २३ गतेदेखि भ्रष्टाचार र अन्यायविरुद्ध सडकमा उत्रिने घोषणा गरेको हो। पत्रकार सम्मेलनमा उनीहरूले तीन दशकदेखि निरन्तर लुट र विलासितामा डुबेका शासकवर्गविरुद्ध निर्णायक विद्रोह गर्ने अठोट सार्वजनिक गरे। खासगरी पछिल्लो समय सरकारले गलत काम गरिरहेको र भ्रष्टलाई संरक्षण गरिरहेको यो पुस्ताको आरोप छ।
हजारौं युवाहरू विदेशी भूमिबाट बाकसमा फर्किरहेका छन्, सयौं आमाबाबु सन्तानविहीन भएका छन्, कैयौँ बालबालिकाहरू टुहुरा भएका छन्। घुस नदिएर कुनै काम नहुने यो मुलुकमा न्याय मरेको छ, सुरक्षा निकाय भ्रष्टहरूको सेवक बनेका छन् भन्दै यो पुस्ताले सडकबाट आवाज बुलन्द गर्नुपर्ने औंल्याएको छ।
जेन्जी पुस्ताले विद्रोह केवल सरकार बदल्ने होइन, सम्पूर्ण राजनीतिक व्यवस्था बदल्ने आन्दोलन भएको दाबी समेत गरेको छ।जनताको प्रत्यक्ष भोटमार्फत आफ्ना सरकार प्रमुख रोज्ने प्रणाली ल्याइनेछ, तीन दशकसम्म लुटिएको जनताको पैसा फिर्ता गराइनेछ, र लुट गर्नेहरूलाई कालकोठरीमा हालिनेछ भन्दै उनीहरुले यो पनि भनेका छन्,-‘विश्वविद्यालयदेखि न्यायालय, कूटनीतिक निकायदेखि कर्मचारीतन्त्रसम्मलाई पुनःसंरचना गरेर जनताको पक्षमा उन्मुख गरिने छ। योग्य, इमान्दार र निष्ठापूर्वक काम गर्ने व्यक्तिहरूलाई अवरोध नभइ अवसर दिने वातावरण निर्माण गरिनेछ।’

