सेमेष्टर प्रणालीलाई दुरूपयाेग गर्नेहरू

मनोज कुमार कर्ण

त्रिभुवन विश्वविद्यालयलगायत नेपालकाे उच्च शिक्षाकाे विश्वसनीयतामाथि नेपाली समाजले प्रश्न उठाइरहेकाे अवस्थामा यहाँ यस उच्च शिक्षासित सम्बन्धित तीनवटा अवयव प्राध्यापक, कर्मचारी र विद्यार्थीका भूमीकालाई समिक्षा गर्नुपर्ने बेला आएकाे हाे ।

आज यी तनवटै अवयवका औसतबढी मान्छेमा समस्या छन् तर अन्यबारे निकै चर्चा गरिएपनि यहाँ केही विद्यार्थी नेता कहलिनेहरूले सेमेष्टर प्रणाली र राज्यलाई नै चुनाैती दिइरहेका छन्, त्यसबारे कुरा उल्लेख गरिनेछ ।

साथै, कर्मचारी, शीक्षार्थी र प्राध्यापकबारे धेरै चर्चा स्तम्भकारलगायत धेरै लेखकले गरेपनि यस लेखमा भने आफ्नाे अनुभवका आधारमा सेमेष्टर प्रणालीकाे दुरूपयाेग कसरी भइरहेकाे छ, प्रशासनकै मान्छेहरू पनि कसरी जानेर-बुझेर पनि चूप्की साँधेका हुन्छन् र देशकाे अद्याेगति कसरी उच्च शिक्षामा अझ भइरहेकाे छ, ती कुराबारे यस सानाे लेखमा चर्चा गर्ने प्रयत्न गरिएकाे छ ।

विदेशमा विद्यार्थी पलायन नेपालबाट हुनु भनेकै हाम्रा युनिवर्सिटिज्लाई पढाइ र कमाईसँगै नहुँदा अथवा पढाइकाे ताेकिएकाे पद्धति हु-बहु सिस्टममा प्वाल परेर कक्षाकाेठामा लागू नहुनेहुँदा भइरहेकाे बुझ्नुपर्छ ।

नालन्दामा सेमेष्टर अघि ट्राइमेष्टर प्रणाली

डा. तीर्थराज खनिया, त्रिविका पूर्व भीसि, काे पुस्तक शिफ्टिङ्ग पाराडाम्स् इन् हाइयर एजुकेशनमा उल्लेख र गुगल सर्चमा भेट्टाइए अनुसार शासक कुमारागुप्तद्वारा स्थापित ४२७ ई. पू. मा एशियाई रेजिडेन्सियल विश्वकै प्रथम भारतीय नालन्दा विश्वविद्यालयमा त्यसबेलामा पनि विभिन्न देशका शीक्षार्थी तथा प्राध्यापकले महायान बुद्धिज्म प्रमुख विषय र अन्य विषय पढ्न र प्राध्यापन गर्न आउँथे । आज विश्वमा नाम चलेकाे अक्साेफाेर्ड युनिवर्सिटि कम्तिमा पाँच सय वर्षपछि खाेलियाे ।

नालन्दा युनिवर्सिटिमा त्यसबेला हाेस्टेल चल्थे भने त्रैमासिक जाँच अर्थात् ट्राइमेस्टर प्रणाली पद्धति चल्थ्याे । दुर्भाग्य कि १२औ शताब्दीकाे अन्त्यतिर बख्तियार खिल्जीले नालन्दा विश्वविद्यालयमा आगाे लगाएर मानव अध्ययनकाे एक एशियाइ खम्कालाई आतंककाे चपेटामा आगाे लगाएर नष्ट गरिदिएकाे थियाे । पछिल्लाेपटक नाेबेल पुरस्कार विजेता अर्थशास्त्री डा. अमर्त्य सेनकाे अगुवाइमा यस मानव सभ्यताकाे विश्वकै एउटा पहिलाे धराेहर नालन्दा विश्वविद्यालयलाई पुनर्स्थापित गर्नलाई एक्ट अफ् इण्डियन पार्लियामेन्ट अन्तर्गत सन् २०१० काे नाेभेम्बर २५ तारिखकाे दिन कानून बनाइएकाे छ । यसले के देखाउँछ भने पूर्वीय सभ्यतामा अग्रणि रहेकाे भारत भूमी त्यसबेला नै यति विकसित अत्याधुनिक उच्च शैक्षिक प्रतिष्ठान खाेलिसकेकाे रहेछ ।

यहाँ भन्न खाेजिएकाे के हाे भने आज विश्वका उत्कृष्ट युनिवर्सिटिहरू प्राय:मा सेमेष्टर प्रणाली अर्थात्, ६ महिनामा एउटा काेर्ष सिध्याएर अर्काे काेर्षमा प्रवेश गर्ने प्रणाली छ । हाम्राे त्रिभुवन विश्वविद्यालयमा टेक्निकल ब्याच्लर विषयबाहेकमा अझै झन् वार्षिक प्रणालीमा अन्तिम जाँच लिई टुङग्याइन्छ, यद्यपि मिड-टर्म जाँचकाे व्यवस्थालगायत नियमित अभ्यास लेखन, कक्षामा नियमीत उपस्थिति आदिकाे व्यवस्था छ ।

सेमेष्टर प्रणालीमा गर्नैपर्ने प्रमुख साझा कार्यहरू

वास्तवमा स्नातकाेत्तर तहकाे सेमेष्टरमा हाल सेमेष्टर प्रणालीमा नेपालका त्रिभुवनलगायत अन्य युनिवर्सिटिहरूमा चलिरहेका छन्, प्राय: सबै विषयमा । ब्याच्लरमा टेक्निकल वा म्यानेजिरयलजस्ता काेर्ष बीएससी सीएसआईटी, बीबीए, बीआईटी, बीसिए, बीबीए, बीई, एमबीबीएस आदिहरूमा भने सेमेष्टर प्रणालीमा नै पठनपाठन हुन्छ ।

माथि उल्लेख गरिए झैं ६ महिने अन्तिम जाँच लिइने सेमेष्टर प्रणालिमा कम्तिमा दुईटा औपचारीक जाँच हुन्छन् : प्रि-बाेर्ड वा मिड टर्म अथवा आन्तरीक मूल्याङ्कन र सेमेष्टरकाे अन्त्यमा फाइनल जाँच । यस पछि सेमेष्टरमा शुरूदेखि नै एउटा सेमेष्टरकाे ६ महिनाभित्र निम्न औपचारीक तथा अनिवार्य कार्यहरू विद्यार्थीले संस्था वा विषय शिक्षककाे सहयाेगमा गर्नुपर्ने त्रिविका डीन अफिसहरूले ताेकेका छन्- ठिक समयमा र नियमित कक्षा उपस्थिति, क्लाशरूम १०-१५ मिनेटसम्मकाे कम्तिमा एउटा प्रजेन्टेशन, प्राेजेक्ट वर्ककाे रिपाेर्ट लेखन वा जुन विषयमा (साहित्यका विषयहरूमा वा अन्य कुनै यस्ताेमा) प्राेजेक्ट वा फिल्डवर्क छैन त्यसमा अनिवार्य टर्म-पेपर लेखन । याे विश्वप्रचलित माेडेल हाे अर्थात्, पाेखरा, पूर्वाञ्चल, नेपाल संस्कृत, राजर्षि जनक, काठमाडाैंलगायत हाम्रापनि सबै विश्वविद्यालयमा यहि पद्धति लागू हुन्छन् भन्ठानिन्छ ।

यसका अतिरिक्त कक्षामा स्वत : गरिने कार्यमा पढाइने अध्यायबारे १०-१२ वटा जति मल्टिपल च्वाेइस क्वेश्चन्स उत्सुकता बढाउन र जेनरल जानकारी दिन हरेक नयाँ वस्तु पठाउँदा शिक्षकले तयार पारेर लमनुपर्ने, टिचर कक्षामा विद्यार्थीकाेलागि एउटा फ्यासिलिटेटर र रिसाेर्स पर्सनकाेरूपमा विषय वस्तुकाे जानकारी संक्षिप्त गराउँदै विद्यार्थीकाे समूह-समूहमा डिस्कस्सन गर्न लगाउने हाे । टिचरले भने ग्रुप-ग्रुपमा टेक्स्ट अनुसार छलफल चले-नचलेकाे बारे माेनिटरिङ गरेर डिरेल यदि भईरहेकाे छ भने ट्र्याकमा राखिदिने हाे ।

यदि चेप्टर लामाे छ भने पार्ट-वाइज टाैपिकहरूबारे अलग-अलग ग्रुपमा छलफल गराएर ग्रुपवाइज क्लाशमा प्रजेन्टेशन गराइदिँदा सबै टाैपिकहरूबारे सम्पूर्ण विद्यार्थीले जान्ने माैका पाउँछन् । याे त एउटा मात्र माेडेल भयाे, स्टुडेन्ट-सेन्टर्ड टिचिङ्गकाे । शिक्षकले आफ्नाे प्रभावकारी माेडल विद्यार्थी-केन्द्रीत छ शिक्षण विधिमा आधारित छ भने प्रयाेग गर्छन् । यस पछि कक्षामा जे छलफल गरे विद्यार्थीहरूले, त्यसलाई ग्रुप-प्रजेन्टेशन ग्रुप लिडरले लेखेर गरेपनि बाँकी विद्यार्थीले पनि पढ्नलाई आफ्नाे नाेट्स दिनहुँ बनाउने अनि कक्षामा पाएकाे गृहकार्यलाई दिनहुँ फाइल मेन्टेन गरेर डेट-वाईज लेखेर शिक्षकसँग फीडब्याक लिई लेखन अभ्यास गरिरह्नुपर्छ । वास्तवमा यीनै नियमित लेखन, टर्म पेपर लेखन कुनैमा काेही विद्यार्थीकाे गहिराे रुचि छ भने त्यसै टाैपिकमा थेसिसपनि लेख्दा हुन्छ ।

समस्या कहाँ आए त ?

विदेशमा विद्यार्थी पलायन नेपालबाट हुनु भनेकै हाम्रा युनिवर्सिटिज्लाई पढाइ र कमाईसँगै नहुँदा अथवा पढाइकाे ताेकिएकाे पद्धति हु-बहु सिस्टममा प्वाल परेर कक्षाकाेठामा लागू नहुनेहुँदा भइरहेकाे बुझ्नुपर्छ । यसमा के त्रिवि वा काठमाडाैं वा पाेखरा युनिवर्सिटि वा अन्य, जुनपनि नेपालमा रहेकामा ताेकिएका सेमेष्टरका गतिविधिहरू गर्ने-गराउने कार्य पूरापूरा हुँदैनन् र हाम्रा विद्यार्थीले हामीलाई पत्याउँदैन भन्ने बुझिन्छ । यसमा प्राध्यापक, संस्था र विद्यार्थी सबैमा समस्या हुनसक्छ ।

यस लेखमा माथि उल्लेख गरिएझैं विद्यार्थीकाे हकमा भने के देखिन्छ भने सरकारी अथवा आङ्गिक क्याम्पसमा निम्न प्रकारका विद्यार्थी सेमेष्टर कक्षामा भेट्टिन्छन् र शिक्षकले झेल्छन् पनि ।

पहिलाे, जेन्यूईन् पढ्ने विद्यार्थी, जसले आफ्ना आर्थिक सबलता वा गरिबी जे भएपनि कक्षामा सेमेष्टरका सबै गतिविधि डीन अफिसका भर्डिक्ट्स अनुसार गर्न खाेज्छन् ।

दाेस्राे, एकभन्दा बढी क्याम्पस वा शैक्षिक संस्थानमा अलग-अलग विषयमा भर्नाभएर नाममात्रकाे लागि कक्षामा झुल्किने, खाली मीडटर्म र फाइनल जाँचहरूमा सहभागी हुने, टर्म पेपर चाेरी-चपाटी गरेर ल्याउने, कमेन्ट शिक्षककाे मलाउभन्दा भाग्न खाेज्ने, टिचरलाई भन्दा कर्मचारीलाई कागज फालेर शिक्षकलाई भेट्न नचाह्नेहरू जाे जसाेतसाे सर्टिफिकेट आवाेस् चाहन्छन् तर पढ्न चाहँदैनन् ।

यिनिहरू फर्मल मिडटर्म जाँच हुने दिनमा “विरामी वा, व्यस्त” भई त्यही प्रश्नपत्रलिएर पूरा उत्तर खाेजेर जाँच सकेकाे दस-पन्द्रह दिनसम्म “छुटेकाे जाँच” भनेर दिइरहन्छन्, प्रक्रिया जाे पूरा गर्नुछ उसले। याे दाेस्राे ठूलाे समूहका प्राय: विद्यार्थीहरूले सेमेष्टरका नियमकानूनभन्दापनि शिक्षकलाई फकाउने, गलाउने, धम्काउने, माेलाहिजा गर्ने, किन्न खाेज्ने आदिमा गलत विश्वास गर्छन् ।

तेस्राे, यस समूहमा केही नामधारी नेता विद्यार्थी पर्छन् जाे आफैंलाई विद्यार्थीपनि मान्न सक्दैनन् तर नाम लेखाएर मिडटर्म जाँचमा बसे-नबसेपनि, शिक्षकले उसलाई अंक कम दिए, नदिएपनि उसकाे भित्रभित्रै राम्राे अङ्क फाइनल जाँचकाे ट्रान्स्क्रिप्टमा देखिन्छ । यिनिहरू यति बलिया हुन्छन् कि आफू र आफ्ना मन परेकाे वा विशेष रूचीभएकाे विद्यार्थीकाेलागि आन्तरीक जाँचमा भाग नलिएपनि फाईनल सेमेष्टरकाे जाँचकाे लागि नन्-क्वालिफाईड (N-Q) लाग्नुपर्नेमा नलागेर उ मज्जाले हरेक सेमेष्टरका फाइनल जाँचहरू दिइरहेका हुन्छन् !

विषय शिक्षकले आफ्नाे हाथबाट प्रशासनलाई बुझाएकाे आन्तरीक जाँचकाे मूल्याङ्कन शीटमा टर्म पेपर नबुझाएका, प्राेजेक्ट वर्क नगरेका, मिडटर्म जाँचमै पनि भाग नलिएका, भर्ना भएर एक दिनपनि कक्षामा नदेखिएका सबैतिर खाली-खाली राखिएका अन्तिम जाँचका लागि पूरा अयाेग्य (N-Q) लाग्नुपर्ने भनेर पठाइएकाहरूमध्ये पनि काेही-काेही सेमेष्टरकाे अन्तिम जाँचमा बसिरहेका हुन्छन् । कस्ले, कहिले, कसरी उसकाे लागि जाँच दियाे; उसैले दियाे वा प्रशासनलाई किनेर अथवा धम्काएर सबै भरेर पठाउन लगायाे र कसरी उसकाे सेमेष्टर फाईनल जाँचकाेलागि प्रवेश आयाे (?), यी प्रश्नहरू एकदमै अनुत्तरीत त्रिविलगायत हाम्रा युनिवर्सिटिमा छन् ।

दुर्भाग्य, नेपालमा यहाँ वर्गीकृत जेन्यूईन विद्यार्थीकाे संख्या थाेडै छ र दाेस्राे तथा तेस्राे समूहका बदमास, अट्टेरी, सिस्टमलाई चुनाैति दिनेहरूकाे संख्या झन् तीन-चाैथाई जति क्याम्पसमा देखिन्छन् भन्दा गलत नहाेला ।

आर्थिक रूपले सक्षम र सज्जन पढ्नेमा पलायन

माथि उल्लेख गरिएका सेमेष्टर फ्लप गराई देशमा नपढ्ने बदमास तत्वहरूले सिस्टमलाई हाइज्याक गर्न खाेज्नेहरू हाबी हुँदा हाम्रा युनिवर्सिटिकाे विश्वसनियतामाथि नेपाली समाजमा प्रश्न उठेकाे हाे । बुझ्नुपर्ने के हाे भने अधिकांश प्राध्यापक र कर्मचारीपनि गलत विद्यार्थीलाई ठिक ट्र्याकमा ल्याउन प्रयास गर्नुकाे साटाे सहयाेगी भूमिकामा देखिन्छन् ।

एउटा विद्यार्थीले गलत कार्य एक्लैले भने गर्न सक्दैन, त्यसकाे लागि क्याम्पस स्थानिय स्त्तरमा कर्मचारी, विषय शिक्षककाे अनुमति वा थाहा नदिई छल्नमा सहयाेगी प्रशासनकाे आवश्यकता पर्दछ । र, माथी डीन कार्यालयसम्मले थाहा पाउँदापनि केही गर्न नसक्ने र कतिवटा केसमा कुनै बेला अथिरिटिले नै क्याम्पसदेखि केन्द्रसम्मकाले विषय शिक्षकमाथि गलत कार्य गर्न दबाव दिन्छन् ।

उत्ता पाेखरा वा, त्रिविकै काेर्ष पढाउने सम्बन्धनप्राप्त नीजि कलेजहरूमा विचित्रका केही कुरा देखिन्छन् । काेही पनि विद्यार्थी भर्ना भैसकेकाले फेल नहुने, आन्तरीक मूल्यांकनमा राम्राे अङ्क ल्याउने भलै उसकाे अन्तिम जाँचकाे साे विषयकाेे आन्तरीककाे अङ्कदेखि ठूलाे अन्तर हाेस् र उ कहिल्यै कक्षामा अनुहार नदेखाएकाे हाेस् । अचेल नीजिवालाहरूकाे याे अस्वस्थ्य तथा गैह्रप्राज्ञिक गतिविधिकाे कारणले गर्दा आङ्गिक क्याम्पसमा नेपालमा भएकै विद्यार्थी संख्या जाेगाउन र बढाउनलाई अनैतिक कर्ममा अभिप्रेरित हुन्छन् ।

यी गतिविधिहरूबाट जानकार नेपाली समाजले अर्काे विद्यार्थी अथवा कसैबाट सुनेर आफ्नाे परिवारकाे विद्यार्थीलाई हाम्रा युनिवर्सिटिमा नपठाई विदेश पठाउँछन् । याे कुनै आराेप नभई भुक्तभाेगी अनुभवबाट निकालिएकाे सारांश हाे याे । हुनत, नेपाली विद्यार्थीहरूले पढाईपछि राेजगार नपाउँदापनि विदेशिने गरेका छन् तर मेडिकल, ईञ्जिनियरिङ वा बीबीए, बीआईटी, सिएसआईटी, बीसिए आदि पढ्नेहरूले पनि नेपाललाई नपत्याउनु भनेकै हाम्राे सिस्टममा प्वाल प्वाल परेकाे हाे । पढ्ने इमान्दारले पाउने सर्टिफिकेट नपढ्ने बदमास वा कथित् नेता विद्यार्थीलेपनि पाइहाल्छन् भने इमान्दार शिक्षक र केहीमात्र इमान्दार विद्यार्थीले कुन माेरालिटिले दिनहुँ कक्षामा उत्साह बढाउने हुन् ?

दुर्भाग्य हाम्राे देशमा अझ के हाे भने यस्तै कलाकार “विद्यार्थी नेता” भाेली आफ्नाे माउ दलकाे नेता बनेर शिक्षा विभाग हेर्ने, शिक्षा मन्त्री बन्ने, गृह मन्त्री आदि बन्ने हुन्छन । देश कसरी स्वस्थ्य बन्ने, यदि हाम्रा युनिवर्सिटि नै यसरी अस्वस्थ्य छन् ?

(लेखक ललितपुरको पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...