गुण्डागर्दीको आरोपमा चक्रे मिलनसहित ४८ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा बढिरहेको गुण्डागर्दीविरुद्ध सशक्त कारबाही थालेको छ। प्रहरीले बिहिवार राती ४ दर्जन ब्यक्ति पक्राउ गरेको छ। पक्राउ पर्नेमा चर्चित डन भनेर चिनिएका चक्रे मिलन पनि छन् ।
प्रहरीले राति महाराजगन्ज स्थित एक होटलबाट चक्रे मिलन पक्राउ परेको पुष्टि गरेको छ। महाराजगन्ज स्थित साम्बला होटलको आठौँ तलाबाट चक्रे मिलनसहित ४८ जना पक्राउ परेका हुन् । बिहिवार चक्रे मिलनको जन्मदिन रहेको र सो समुह जन्मदिनको जमघटमा रहेको बुझिएको छ।
चक्रे मिलन गत प्रतिनिधि सभा निर्वाचनमा गोरखा-२ बाट एमाले उम्मेदवार बन्ने चर्चा थियो। उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा थिए। तर, नाम सिफारिस भएपनी अन्तिम समयमा टिकट पाएनन् । चक्रे मिलन र गण्डकी प्रदेशका पूर्वमन्त्री दिपक मनाङ्गे (हाल कारागार) समूहको पुरानै दुश्मनी पुनः सुरु भएको अड्कल गरिएको छ।
प्रहरीले संभावित घटना रोक्न नै चक्रे मिलन र उनको समूहलाई पक्राउ गरेको अनुमान गरिएको छ। मिलन समूह जन्मदिनको केक काटेर पुनः वर्थडे पार्टीको लागि पूर्वमन्त्री दीपक मनाङेको प्रभाव क्षेत्र मानिने ठमेलमा जाने तयारीमा रहेको सूचना प्रहरीले पाएपछि पक्राउ परेका हुन् । ठमेल स्थित चर्चित एलओडीमा चक्रे मिलनको टोली आउने तयारी र त्यहाँ मनाङेका समर्थक भेला भएपछि मुठभेडको सम्भावना बढेको भन्ने खबर प्रहरीले बेलैमा पाएका कारण अप्रीय घटना हुन नपाएको प्रहरीको दावी छ।
यद्यपि पछिल्लो समय काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टीमले उपत्यकामा विभिन्न नामले परिचीत गुण्डाहरुको समूहविरुद्ध संयुक्त अपरेसन चलाइरहेको छ।यसैक्रममा दुई दिनअघि नुवाकोट ककनीका पटके गुण्डा युवराज गुरुङ(सानुभाई) लाई पनि प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो ।

