एमालेमा विद्यालाई ‘ब्रेक’ (हेर्नुस् निर्णय)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको राजनीति गर्ने बाटो बन्द भएको छ।

एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष सहित ‘ब्रेक’ लगाएको छ। विद्याले ‘एमाले केन्द्रीय कार्यालय देखेको छैन’ भनेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासल बोलाएर २ घन्टा छलफल गरेको दुई दिनपछि नै विद्यालाई एमालेको ढोका बन्द भएको छ।

एमालेको दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले विद्याको सदस्यता खारेज गर्दै राष्ट्रपतिजस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेकाे छ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेर एक बर्ष अघि नै एमालेको सदस्यता नवीकरण गरेकी थिइन् । तर, एक वर्षसम्म गोप्य राखिएको सदस्यता नवीकरणको कुरा अन्ततः पार्टीमा तीव्र बहससँगै सकिएको छ। पार्टी केन्द्रीय कमिटीको बैठकले त्यस बहसलाई टुङ्ग्याएको र आउने अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउने निश्चितजस्तै गरेको एमाले स्रोतको भनाइ छ।

बैठकपछि एमालेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयमा गरेको निर्णयमा भनिएको छ, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ। नेपालको संविधानको भाग–६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ। सोही धाराको (२)मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने, सोही धाराको (३) मा राष्ट्रिय एकताको प्रवर्धन, सोही धाराको (४)मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा–२६७ को (२) को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ। यसले मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ। यसले जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ। त्यसकारण बैठकले पूर्वराष्ट्रपतिलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ।’

हेर्नुहोस् पूरा विवरण :

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय