गायिका एलिना भन्छिन् : अब चुप लाग्दिनँ, सत्य मेरो साथमा छ

काठमाडौं । गायिका एलिना चौहानले पुनः एकपटक आफ्ना बिगतका कुरालाई खोतलेर निजि जीवन विरुद्ध बोल्नेलाई कानुनी कठघरामा उभ्याउने चेतावनी दिएकी छिन् ।
शुक्रबार साँझ सामाजिक संजालमा एउटा सन्देश साझा गर्दै एलिना लेख्छिन्-‘हामी बिचका कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो। तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्यो।म कानुनी प्रक्रियामा जान बाध्य भएँ। म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ।’
केही दिनदेखी पूर्वपती बिष्णु सापकोटा र उनको पक्षबाट सामाजिक संजालमा आएका भनाई र त्यसकै आधारमा गरिएका कमेन्ट र भद्दा अपशब्द माथी लक्षित गर्दै गायिका एलिना लेख्छिन्
-‘मैले मेरो विगत खोल्नुपर्यो,त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन। त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन,
न कुनै बदला लिने सोच। स्पष्ट भन्न चाहन्छु। यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन। यो लडाइँ हो,त्यस मानसिकतासँग,
जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ। जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।’
अनुहार भरी घाउचोट भएको २०२४ जुन ९ तारिख बिहान ९:१८ मा खिचिएको तस्बिर समेत राखेर एलिनाले भनेकी छन् -‘जब मैले आफ्ना भोगाइहरू सुनाएँ, म माथि फेरि प्रश्नहरू उठाइए। ‘किन अहिले?’, ‘किन फेरि?’ तर मलाई थाहा छ,यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ। यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ। तर अब म चुप लाग्दिन। अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो। म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायका लागि अगाडि बढ्नेछु। किनकि म एक्लो भए पनि, सत्य मेरो साथमा छ।’

