एमालेमा विद्याको ‘च्याप्टर क्लोज’ भएकै हो ?

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अनौठो कुरा दोहोर्याए । सधैंजसो केही न केही खुलासा गर्ने ओलीले शुक्रबार पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण नै नभएको खुलाए।
नेकपा एमालेको भावी अध्यक्षको रुपमा प्रतिष्पर्धी रहेकी पूर्वराष्ट्रपति भण्डारीले भने एक बर्ष अघि नै नेकपा एमालेको सदस्यता नवीकरण (रिन्यु) गरेको सार्बजनिक भैसकेको छ। गत असार १४ गते भण्डारीले सक्रिय राजनीतिमा फर्केको घोषणा समेत गरिसकेकी छन् । उनको पार्टी सदस्यता नवीकरण मात्रै होइन २०७२ मा राष्ट्रपति निर्वाचित भएदेखी हालसम्मको पार्टीलाई बुझाउनुपर्ने शुल्क (लेबि) समेत उनले बुझाएको खुलेको छ।
तर,यति हुँदा पनि अध्यक्ष ओलीले उनको सदस्यता नवीकरण नभएको, आगामी भदौ २०-२२ को बिधान महाधिवेशनमा भाग लिन नपाउने, राजनीतिमा फर्कनै नहुने, फर्किएपनी अध्यक्ष हुनै नसक्ने जस्ता अभिव्यक्ति दिइरहेका छन् । त्यसैको पछिल्लो शृङ्खला शुक्रबार ओलीले ‘सदस्यता नवीकरण नहुनेले अर्काले उचालेको भरमा पार्टी राजनीतिमा नफर्किएको राम्रो’ भनेर पुनः ब्रेक लगाउने प्रयत्न गरे।
ओलीकै जस्तो प्रतिक्रिया महासचिव शंकर पोखरेलले पनि दिएका छन् । महासचिव पोख्रेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका लागि पार्टीमा ‘च्याप्टरक्लोज’ भएको संकेत गर्दै सामाजिक संजालमा नै लेखेका छन् । पार्टीको बिहिवार बसेको सचिवालय बैठकबाट विधान संशोधनका प्रस्ताव मतदान नै गरेर बहुमतले पारित गरेर सीधै शुक्रबारको पोलिटब्यूरोमा लैजाने निर्णय गरेको सन्दर्भ उल्लेख गर्दै महासचिवले लेखेका थिए,-‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।’
पूर्व राष्ट्रपति भण्डारीले एमालेमा सक्रिय राजनीति गर्ने सार्वजनिक घोषणा गरेर सरकारी सुविधा फिर्ता गरेपछि सबैभन्दा बढी तनावमा अध्यक्ष ओली र महासचिव पोखरेल नै देखिन्छन् । सायद त्यसैले होला महासचिवले ‘मिसन ८४का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ’ भनेर अध्यक्षमा पुनः ओली भन्न खोजेको र भण्डारीका लागि एमालेको ढोका बन्द भएको स्पष्ट संकेत गरेका हुन् । बिधान संशोधन गरेर ७० बर्षे उमेरहद र अध्यक्षमा दुई कार्यकाल भन्दा बढी नपाइने कुरा हटाउन प्रस्ताव गरिएको छ। जसको प्रत्येक्ष फाइदा ओलीलाई हुनेछ।
एमालेको सदस्यता परित्याग गरेर राष्ट्रपति भएकाले अब भण्डारीले नविकरण नभइ नयाँ सदस्यता लिनुपर्ने र एघारौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुन सदस्यताको योग्यता नपुग्ने भनेर अध्यक्ष ओली र महासचिव पोखरेल निकट नेताहरूले समेत बोलिरहेका छन् ।
केही दिनअघि अध्यक्ष ओलीले अन्तर्वार्तामा भाण्डारीले नेतृत्व गर्न नसक्ने र पार्टीमा स्थान दिन नसकिने विषय सार्वजनिक गरिसकेका छन् । उक्त वार्तामा अध्यक्ष ओलीले आफू नै तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने घोषणा समेत गरेका छन् ।त्यसमै बल पुग्नेगरी महासचिव पोख्रेल र गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पनि विद्याको ‘च्याप्टरक्लोज्ड’ भएको जस्तै गरि अभिव्यक्ति दिएका छन् ।
ओलीले यसअघि असार १४ को मदन जयन्तीको कार्यक्रममा जननेता मदनकुमार भण्डारीको चरित्र माथि प्रश्न उठाउँदै चार वटा श्रीमति रहेको र सहकारी ठगेको भनेर आरोप लाग्ने गरेको कुरा समेत पहिलो पटक सार्वजनिक गरे। मदनको चरित्रमा प्रश्न उठाएर ओलीले आफू मदन भन्दा अग्लो बन्ने सपना बोकेर हिँडेको भन्ने एकाथरीको बुझाइ छ। ओली र पोख्रेलको अभिव्यक्तिको प्रतिवाद गर्दै बरिस्ठ उपाध्यक्ष ईश्वर पोख्रेल,नेता कर्ण थापा,डोरमणी पौडेल, लगायतले चाहिँ विद्याको बचाउ गरिरहेका छन् ।

