प्राधिकरण अध्यक्ष ओझा निलम्बित

काठमाडौं । फर्जी अनुभव देखाएर प्राधिकरण अध्यक्ष बनेको आरोपमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन्।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गरेर उनीमाथि छानबिन गर्न न्यायिक समिति बनाउने निर्णय गरेको हो। ओझाले प्राधिकरणको अध्यक्षमा नियुक्त हुन फर्जी कागजात बुझाएको आरोप छ।
सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरेको हो। समितिका अन्य दुई जना सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला छन्।
गएको फागुन १२ गते मन्त्रिपरिषद बैठकले कञ्चनपुर घर भएका ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो। तर, ३३ वर्षका ओझासँग प्राधिकरणको अध्यक्षका लागि आवश्यक योग्यता नरहेको र उनले बुझाएका कागजात समेत फर्जी रहेको आरोप लाग्दै आएको थियो। ओझाले कामै नगरेको पदमा पनि आफुले काम गरेको भनि फर्जी अनुभवको प्रमाण पत्र पेश गरेर नियुक्ति लिएको बुझिएको छ।ओझामाथि सोही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो।

