अब केही दिन हल्का वर्षा मात्र, आगामी साता भारी वर्षाको पुर्वानुमान

काठमाडौं । शुक्रबार साँझदेखि आइतबारसम्म मनसुन केही सुस्ताउने भएको छ । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार यो अवधिमा देशभर ठूलो वर्षा हुने सम्भावना नरहे पनि खण्डवृष्टि हुने देखिएको छ, जसको अर्थ सानो भौगोलिक क्षेत्रहरूमा मात्रै हल्का वर्षा हुने अनुमान छ।
तराई क्षेत्रमा वर्षा हुन गाह्रो पर्ने देखिएको छ भने काठमाडौं उपत्यका र पहाडी भूभागहरूमा रातको समयमा हल्का वर्षा हुने सम्भावना छ।
लामो दूरीको यात्रा गर्नेहरूलाई शनिबार र आइतबार दिउँसोसम्म यात्रा सकाउने गरी योजना बनाउन सुझाव दिइएको छ। आइतबार साँझतिर गण्डकी प्रदेश र आसपासका क्षेत्रमा भारी वर्षा हुने देखिएकाले सतर्कता अपनाउन भनिएको छ।
मंगलबारदेखि फेरि मनसुन सक्रिय हुने उपाध्यायले अनुमान गरेका छन् ।

