कागती खेती कसरी गर्ने ?

कृषकले पछिल्लो समय कागतिको व्यवसायिक रुपमा खेती गर्न थालेकाछन् । कागती रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो ।
यसैले स्वास्थ्य उपयोगि कागती खेती कहिले कुन महिनामा कसरी गर्ने भनी कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले तयार पारको केहीे महत्वपूर्ण टिप्सहरु निम्न प्रकारका छन् ।
१.कागतीको विरुवा रोप्न के कस्तो तयारी गर्नु पर्छ ?
-कागती सम्बन्धी विज्ञको सल्लाह लिई रेखाङ्कन गरि विरुवा रोप्नु भन्दा २–३ महिना पहिले नै २–३ घनफिटको खाल्डो खन्ने ।
२.खाडल कहिले भर्ने र विरुवा कहिले रोप्ने ?
-जेठ महिना भित्र खाडल भर्ने र आषाढ महिनाम रोप्ने ।
३.खाडल कहिले खन्ने?
-बैशाख महिना भित्र ।
४.कागती खेतीको लागी कस्तो जग्गाको छनौट गर्नु पर्छ?
-पानी नजम्ने, बार बन्देज लगाउन सकिने, पानीको भल नआउने, मोटरवाटोले छोएको र पानीको श्रोत भएको जग्गाको छनौट गर्नु पर्छ ।
५.कागतीमा लाग्ने रोगहरु नियन्त्रणका उपाय के हो?
-कागतीमा लाग्ने रोगहरु नियन्त्रणका मुख्य उपायहरु बगैचा सफा राख्ने, हिउदमा बोटका सुकेका हांगाबिंगाहरुको कांटछांट गरि हटाउने, कपरअक्साईड ३ ग्राम प्रति लिटर पानीमा झोल बनाई कांटछांट पछी छर्ने र फेद वरिपरी सफा पारी १ देखि १.५ हातसम्म बोडो पेष्टले लिपी दिने ।
६.कागतीमा लाग्ने रोगहरु कुन कुन हुन?
-कागतीमा लाग्ने रोगहरु क्याइंकर, कालो ध्वासे, कोत्रे, जडा कुहीने, फेद कुहीने, गुलाबी रोग ग्रिनिगं मुख्य हुन ।
७.कागतीको मिलिबग किरा कसरी नियन्त्रण गर्ने?
-कागतीको मिलिबग किरा नियन्त्रण गर्न इमिडाकोलपिट ०.२ मि.लि. प्रति लिटर पानीमा झोल बनाई छर्ने ।
८.कागतीको लाही र सिट्रस सिल्ला किरा कसरी नियन्त्रण गर्ने?
-कागतीको लाही र सिट्रस सिल्ला किरा नियन्त्रण गर्न फुल फल्नु अगाडी रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।
९.कागतीको कतले किरा कसरी नियन्त्रण गर्ने?
-कागतीको कतले किरा नियन्त्रण गर्न किरा लागेका बोटहरु नसार्ने, फागुन र चैत्र महीनामा एक एक पटक रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने, मटीतेल र साबुनको झोल बनाई छर्ने र एट्सो १० मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।
१०.कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई कसरी नियन्त्रण गर्ने?
-कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई नियन्त्रण गर्न डेल्ट्रामेथ्रिन २८ प्रतिशत इसि २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।
११.कागतीमा लाग्ने मुख्य मुख्य किराहरु कुन कुन हुन?
-कागतीमा लाग्ने मुख्य मुख्य किराहरु हरियो ठुलो पुतली, पातको झिंगा, कतले किरा, लाही किरा, सिट्रस सिल्ला, फल कुहाउने औंसा र मिली बग हुन ।
१२.कागतीको फल टिप्न उपयुक्त समय के हो?
-विहान ८–१० बजे र साँझ ३–६ बजेको समय फल टिप्न उपयुक्त हुन्छ ।
१३.कागती विरुवालाई काँटछाँट गर्ने विधि के हो?
-विरुवालाई काँटछाँट गर्न विज्ञको सल्लाह अनुसार गर्नु पर्दछ ।
१४.मलखाद दिने तरिका के हो?
-विरुवाले जमिन ओगटेको वरिपरि कुलेसो बनाई मलखाद दिनुपर्छ र त्यसलाई खरपातले छोपी सिंचाई गर्नु पर्छ ।
१५.वोट हुर्कि सकेपछि मलखाद कतिको हाल्नु पर्छ?
– एकदेखि ३ बर्षको विरुवालाई प्रति विरुवा गोवरमल २० के.जी., युरिया, डिएची र पोटास क्रमशः १००, ५० र १०० ग्रामका दरले हाल्ने ।
१६.सिंचाईको लागी श्रोतमा पानी कम छ भने कसरी व्यवस्था मिलाउने?
-पानीको श्रोत कम छ भने थोपा सिंचाई प्रविधिको प्रयोग गर्न सकिन्छ ।
१७.कागती बगैंचामा सिंचाईको आवश्यकता कहिले पर्छ?
-माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठ सम्म १०–१५ दिनको फरकमा हल्का सिंचाई गर्नु पर्छ ।
१८.कागतीको विरुवा एक पटक रोपेपछि कति बर्षसम्म फल दिई रहन्छ?
-४० देखि ५० बर्ष सम्म।
१९.कागतीको कस्तो जात छनौट गर्नु पर्छ?
-ठाउँ र हावापानी अनुसार विज्ञको सल्लाह लिई कागतीको जात छनौट गर्ने ।
२०.मलखादको प्रयोग कति गर्नु पर्छ?
-प्रति खाडल ५० ग्राम डि.ए.पी., ५० ग्राम युरिया र २५ ग्राम पोटासलाई माटोमा मिश्रण गरि खाडल पुर्नु पर्दछ ।
२१.कागतीको वोट रोपने दुरी कति राख्नु पर्ने हो?
-व्यवसायीक बगैंचा स्थापना गर्दा ३ह३ मीटरको दुरीमा विरुवा रोप्नु पर्दछ ।
२२.कागती खेतीको लागी कस्तो माटोको आवश्यक पर्दछ?
-जमिनको सतह देखि २ मीटर गहिरो सम्म चट्टान नभएको, पानी नजम्ने प्रशस्त प्राङ्गगारिक पदार्थ भएको, माटोको पि.एच. ५.५–६.५. सम्म भएको दोमट माटो सवै भन्दा उपयुक्त हुन्छ।
२३.कागतीलाई सिचाई गर्न आवश्यक हुन्छ?
-सुख्खा मौसममा कागतीको वोटलाई पानीको आवश्यकता पुरा गर्न सिंचाई पानीको आवश्यकता पर्दछ ।
२४.कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ?
-बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई सम्म) को हावापानीमा यसको खेती गर्न सकिन्छ ।
२५.कस्तो कस्तो रोगमा यो फल उपयोगी हुन्छ?
-अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ ।
२६.कागती फलको महत्व के हो?
-कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो।
यो सामाग्री कृषि प्रेसबाट साभार गरिएको हो।

