प्रचण्ड फेरि ‘उथलपुथल’ गर्दैछन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि केही ‘उथलपुथल’ गर्न लागेका हुन् कि भन्ने आशंका नेपाली राजनीतिमा गर्न थालिएको छ।

खासगरी प्रतिनिधि सभाको चालु अधिवेशनमा गृहमन्त्रीको राजीनामा मागेर सदन अवरुद्ध गरिरहेका विपक्षीदलको नेतृत्वबाट माओवादी एकाएक पछि हटेपछि यो आशंका गरिएको हो। बजेट भाषण अघिदेखि अवरुद्ध संसद बजेट ल्याउन चाहिँ दिने सर्तमा जेठ १५ गते खोलिएपनी त्यसपछि लगातार संसद अवरुद्ध थियो। तर,माओवादीले पुनः गृहमन्त्रीको राजिनामा र छानबिन समिति बनाउने दुबै मागलाई त्यागेर दुई बुँदे सम्झौता गरेपछि सदन चलिरहेको छ। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले भने अहिले पनि बिरोध जारी राखेको छ।

भिजिट भिषामा सेटिङ मिलाएर दैनिक ५० लाख कमाइ गरिरहेको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकको राजिनामा र संसदिय छानबिन समिति बन्नुपर्ने विपक्षीको माग थियो। तर,गृहमन्त्रीको राजिनामा माग गरिरहेका विपक्षीको समूहबाट माओवादी पछि हट्यो । जुन कुरालाई अन्य विपक्षीले माओवादी सत्तारूढ दलसँग झुक्यो वा बार्गेनिङ गरेर पछि हट्यो भनिरहेका छन् । १० बर्षे सशस्त्र युद्धमा सिन्धुपाल्चोकमा भएको हत्या अभियोगमा माओवादी उपाध्यक्ष तथा पुर्व सभामुख अग्नि सापकोटाको मुद्दामा अदालत सक्रिय हुनथालेपछी माओवादीले डराएर सत्तारूढ दलसँग सहमति गरेको आरोप समेत राप्रपाले लगाएको छ।

तर,सधैं उथलपुथल र ३२ सिटको जादूको कुरा गरिरहने माओवादी अध्यक्ष प्रचण्डले युद्धकै नियम अनुरुप एक कदम पछि हटेको भन्दै आएका छन् । प्रचण्डका समर्थक नेताकार्यकर्ताले पनि अध्यक्ष प्रचण्डले कांग्रेस,एमालेसँग सम्झौता गरेर केही नयाँ गर्न लागेको अर्थ लगाइरहेका छन् । तर,अब प्रचण्डबाट उथलपुथल पनि नहुने र ३२ सिटको जादू पनि नचल्ने सत्तारूढ दलका नेताहरूको तर्क छ। उनीहरुले अध्यक्ष प्रचण्ड र उनको पार्टी माओवादीलाई प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले योजनाबद्ध कमजोर बनाइदिएको बताएका छन् ।

पछिल्लो दुई बुँदे सम्झौताले एकातिर पार्टी भित्रै लफडा सुरु भएको छ भने अर्कोतिर सदनमा पनि सत्ता पक्ष र प्रतिपक्षी दलहरुले नै विश्वास नगर्ने अवस्था छ। पार्टी बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुई बुँदे बारे गम्भीर समिक्षा हुनुपर्ने कुरा उठाइरहेका छन् । पार्टीमा समेत विश्वास जुटाउन नसकेका प्रचण्डले सदनमा राप्रपा र रास्वपाबाट पनि धोखेबाजको ट्याग पाइसकेका छन् । त्यसैले उनले गर्ने ‘उथलपुथल’ वा नयाँ जादू दुबै चल्ने देखिन्न।

सत्तामा नहुदाको छट्पटीले गर्दा बोलेको आफ्नै बोली हिजोआज प्रचण्डलाई नै भारी परिरहेको उनका निकटहरु नै बताउँछन् । ‘अध्यक्ष कमरेडले कहिलेकाहीँ अलि बढी नै आवेगमा बोल्नुहुन्छ,जसले गर्दा पार्टी र स्वयं अध्यक्षलाई समेत घाटा भैरहेको छ’-माओवादीका एक केन्द्रिय नेता भन्छन् ,-‘अहिले सदनमा माओवादीले जिम्मेवार प्रतिपक्षीको भुमिका खेल्न नसकेको आलोचना भैरहेको छ। यसको गम्भीर समिक्षा हुनुपर्छ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय