नेताहरू सुशासनभन्दा पनि बदलाकाे भावमा
मनोज कुमार कर्णहाल नेपालमा पूर्वप्रधानमन्त्री, एमालेका पूर्व शक्तिशाली महासचिव (हालकाे अध्यक्ष सरह) तथा वर्तमानमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले पतञ्जली याेगपीठकाे निर्माण र नेपालकाेलागि यहींकाे स्राेत र साधनबाट परिचालन गरि मुनाफा नेपालमै राख्ने गरि भनिएकाेलाई जग्गा नियम परिधिभन्दा बाहिर गएर उपलब्ध गराएकाे भनी कुल ९३ जनालाई विपक्षी बनाएर गत ज्येष्ठ २१ गते बुधवार विशेष अदालतमा मुद्दा दायर गरेकाेले राजनीति तरंगीत बनेकाे छ ।
कतिपयले सरकारले काेही मन्त्रीलाई अध्यागमनमा भिजिट भिसाबाट विदेशिनेहरूबाट रकम उगाही गरेकाे भनिएकाेलाई जाेगाउँदै विपक्षी दलहरूद्वारा बन्द संसद खुलाउनलाई अनि एकीकृत समाजवादी पार्टी नेकपा एमाले आफ्नाे पार्टीबाट फुटाएर बनाएकाे नीजि रिस फेर्नलाई पनि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकै ईशारामा नियमकानूनकाे पूर्ण परिपालन नगरी साे बेलापनि प्रम ओली नै रह्नुभएका बेला ५२ जनाकाे नियुक्तिमध्ये एक अख्तियारका प्रमुख आयुक्त प्रेम राईले “ठूलाे माछा” माधव नेपाललाई अख्तियारद्वारा कानूनी दायरामा ल्याईएकाे भन्छन् ।
याे लेख भने नेपाल फाईनान्सियल एक्शन टास्क फाेर्स (एफएटीएफ) काे ग्रे लिस्टमा नेपाल सन् २०१४ पछि यति छिट्टाे दाेस्राे पटक आर्थिक अपारदर्शिता भई भ्रष्टाचार तथा गलत ठाउँमा अदृष्य रकम लगानी भयाे भनेर परिसकेकाे परिवेशमा वास्तवमा नेपालका उच्च पदस्थहरूमाथि अख्तियारले कसेकाे कार्यले सुशासन नै हाे वा देखावटी कुरा, त्यसमाथि आधारित हाे ।
प्रचारबाजी र बदला भाव बढी भयाे
नेपालमा हाल संघीय लाेकतान्त्रिक गणतन्त्रकाे संविधान छ । याे संविधान कसैले दानमा नदिई माओवादीकाे दस वर्षे सशस्त्र द्वन्द्व अनि मधेशलगायत अन्य अधिकारवादीकाे आन्दाेलनकाे परिणाम स्वरूप २०६२ चैत्र २६ गतेदेखि संविधान २०७२ अशाेज ०३ गते घाेषणा पश्चातपनि गरेर सयाैं मान्छेकाे शहादतपछिमात्र आएकाे हाे । नेपालमा २०६३ माघ ०१ गतेकाे अन्तरीम संविधानसँगै धर्मनिरपेक्षतापनि आयाे, जुन नेपालकै झण्डै ८५ प्रतिशत ॐकार परिवार र छिमेकमै पनि सनातन हिन्दु धर्मकाे एउटा उद्गम थलाे भारतलाईसमेत चक्मा दिई केही नेपाली नटवरलालहरूले पेन्सिलले लेखेर घुसाईदिएकाे आराेप छँदैछ ।
हुनत माधव नेपाल न धर्मसापेक्ष सनातन हिन्दु नेपाल हुनुपर्छ भन्ने साेच्ने मान्छे हाे (अर्थात्, उनी धर्मनिरपेक्षता पक्षधर नै हुन् जाे स्वयं कम्युनिस्ट नेताहरू केपी ओली तथा माओवादी अध्यक्ष प्रचण्डसँग मिल्छ), न उनी एक्लैले वर्तमानमा ओली नेतृत्वकाे संघीय काँग्रेस-एमालेकाे सत्तालाई ढाल्ने अवस्थामा हुन् । तर पनि याे प्रसङ्ग किन यहाँ जाेडियाे भने वर्तमानमा भारतले प्रम तथा एमाले अध्यक्ष ओलीलाई दूरी बनाएर राखिएकाे र विपक्षी अलायन्स माओवादी, समाजवादीलाई सत्तारूढ बनाउनलाई प्रमुखत: काँग्रेसलाई हालकाे ओली सरकारबाट निकालेर जाेड्न चाहन्छ भन्ने विचित्रकाे अड्कल एमालेकै राजनैतिक केही पण्डितहरूद्वारा काटिंदा “भारतकाे नजिक परेर आफ्नाे ओलीकाे सरकार ढाल्ने कसैलाईपनि बाँकी नराखिने” क्राेधमा याे अख्तियारकाे कार्वाहीकाे डण्डा माधव नेपाल पूर्वप्रधानमन्त्रीमाथि चलाईएकाे पनि भन्नेहरू भेटिन्छन् । र, याेपनि हामीले ध्यानमा राख्नुपर्छ कि पतञ्जली यागपीठ बाबा रामदेव एकजना भारतीय नागरिककै प्राेजेक्ट हाे ! याे तर्क एक ठाउँमा छँदै बाँकी कुरा तल जस्ता छन् ।
वास्तवमा मानवीय गुण अन्तर्गत सत्ता, शक्तिकाे रसास्वादन गर्ने र त्यसमा बिघ्न डाल्नेलाई समाप्त पार्नेसम्मकाे क्राेधभित्रै पर्छ । तर याे क्राेध व्यक्ति विशेष केपी ओलीमा सामान्य मान्छेभन्दा बढी विद्यमानरहेकाे पाईन्छ । याे उल्लेख गरिरह्नु नपर्ला कि केपी ओली तथा उनका पूर्ववर्ती “सुप्रिमाे” महासचिव माधव नेपालहरूकाे दशकाैं पुरानाे एउटै पार्टीभित्र रहेर काम गरेकाे तीतामिठा सम्बन्ध छ । दुवैजना अति परिपक्व, दु:ख पाएका, प्रधानमन्त्री भईसकेका (ओली हालपनि) तर तल्लाेस्त्तरमा झर्दा भने एकले अर्कालाई तत्काल सिध्याईदिने, तुच्छ शब्दहरू प्रयाेग गर्ने, कम्युनिस्टबाहेक, विशेष परिस्थितिकाे अलावा, अन्य दललाई “युज् एण्ड थ्राे” गर्ने, राज्यसत्ताका नियुक्तिहरूमा दल, गाेत्र जाँच गरेरमात्र गर्ने “गुण”हरू भएका हुन् ।

यी मानवीय गुण र अवगुणमाझ लाेकतन्त्रमा दलहरू बलियाे हुनुपर्छ बल्ल शासन व्यवस्था टिक्छ भन्ने कुरा हिजाे बीपि काेईरालादेखि आज उनका चेला विमलेन्द्र निधि र काँग्रेसीजनलगायत स्वयं एमाले, एकीकृत समाजवादी, माओवादी, मधेशवादी दलका पाका अनुभवी नेताहरूलाई पनि २००७ सालदेखिकै नेपाली राजनीतिमा भएगरेका उतारचढावबाट थाहा छ ।
हाल माथि उल्लेखित गरिए जस्तै नेकपा सगाेल रहँदा पछिल्लाे पटक माधव नेपाल र प्रचण्डले मिलेर साे बेला केपी ओलीकाे निरंकुशताविरूद्ध भनिएकाे कदममा अंकुश लगाउनलाई ओलीलाई साधारण सदस्यसमेत नरह्नेगरी कार्वाही गर्दा र साेपछि नेकपा फुटेर अदालतकाे आदेशपछि पुरानै छिन्नभिन्न अवस्थामा पुगेदेखि केपी ओली खासगरी राजनैतिक लाभहानीमा प्रचण्ड र माओवादीसँग सरकार बनाउनलाई बेलाबखत नजिक भएपनि माधव नेपाललाई देखिनसक्ने हुनुभएकाे मानिन्छ ।
हाल, विपक्षी दलहरू प्रचण्ड नेतृत्वकाे माओवादी, नेपाल नेतृत्वकाे एकीकृत समाजवादी, जेलमा रहेका रवि लामिछाने नेतृत्वकाे रास्वपालगायतहरूले अध्यागमन विभागमा कर्मचारी तीर्थराज भट्टराईमार्फत् अनैतिक रकम गृहमन्त्री रमेश लेखकसम्म पुगेकाे भनेर रवि लामिछानेलाई गृहमन्त्रीबाट राजीनामा गर्न भनिए झैं हाल गृहमन्त्री लेखकलेपनि राजीनामा गरि अनुसन्धानमा नसघाउञ्जेल संसदलाई सुचारू हुन नदिने गरि ओली सरकारकाे बजेटमाथि छलफल हुन नदिने र प्रचण्डले सरकार ढाल्ने दाउमा पनि रहेकाले प्रम ओलीले विपक्षी दलका अलायन्समा भगदड मच्चाउनलाई माधवतिर तीर हानेकाे बताईन्छ ।
हुनत अन्य कारणमा ओलीद्वारा नियुक्त अख्तियार प्रमुख प्रेम राईकाे नियुक्ति सम्बन्धी अदालती सुनुवाई हुन लाग्दा उनी पदमा बनिरह्ने/नरह्ने भएकाले “विराेधी तह लगाउने कार्य” फत्ते गर्नुपर्ने; पटकपटक नेपाल र खासगरी चतुर प्रचण्डद्वारा ओली र काँग्रेस सभापति देउवालाई भ्रष्टाचारी क्रमश: गिरिबन्धु टी ईस्टेट, नक्कली भूटानी शरणार्थी प्रकरण आदिलाई जाेडेर भनिएकामा “पहिला तिमिहरू आफैं त्यस्ता छाै” भन्ने म्यासेज जनतामा दिनलाई, विश्व समुदायलाई “हामी प्रमसम्म भ्रष्टाचारकाे मुद्दामा कार्वाही गरिरहेकाले एफएटीएफकाे ग्रे लिस्टबाट नेपाललाई कानूनहरू नबन्दै पुन: उधाराे आश्वासनमा बाहिर निकालिदिने आशय आदि हुन् ।
मन्त्री र सचिवहरू जेलभित्र र बाहिरकाे खेल
गणतन्त्र आईसकेपछि नेपालमा धेरै बहालवाला तथा पूर्व मन्त्री, भीआईपी कर्मचारी, स्वयं अख्तियारका निमित्त प्रमुख आयुक्त (दिप बस्न्यात), प्रहरी-सेनाका उच्च अधिकृतलगायतहरू अख्तियार वा कानूनकाे फन्दामा आफ्ना गल्तिहरू काेहि भ्रष्टाचार भने काेही नैतिकपतन हुने कुकर्ममा परेर प्रहरीकाे जेलमा पाहुना काेही छन् भने काेही बनेर बाहिर आईसके । नाम लिस्ट लामाे हाेला यहाँ तर विवरणमा नगई नाममात्र पनि दिने हाे भने आर्थिक घाेटाला, सुन तस्करी, महिलासँग अनैतिक कर्म गर्ने, सरकारी जमीन घाेटाला गर्ने, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, दाेहराे नागरिकता-पास्पाेर्ट तथा सहकारीकाे रकम हिनामिना गरेका, व्यक्ति हत्या आदि जस्ता अपराधमा लागेका भनेर पूर्वमन्त्री भई जेल जानेहरू खुमबहादुर खड्का, गाेविन्दराज जाेशी, चिरञ्जीवी वाग्ले, श्यामसुन्दर गुप्ता, माेहम्मद अफताव आलम, टाेपबहादुर रायमाझी, रवि लामिछाने, बालकृष्ण खाँड र कर्मचारीहरूपनि हुन् । त्यस्तै पदमा बहालछँदै प्रहरीकाे पाहुना बन्न जानेहरू सञ्चारमन्त्री जेपी गुप्ता, सभामुख कृष्णबहादुर महराहरू छन् । माओवादीका बालकृष्ण ढुंगेलहरू जेल गई माफीमा बाहिरिएर बाथरूममा “लडेर” ज्यानपनि गुमाए भने तात्कालीन गृहमन्त्री रामबहादुर थापा “बादल”काे सल्लाहकार ईन्द्र राई, चूडामणि शर्मालगायत धेरै छन् ।
यी केहीमात्र फेहरिस्त दिनुकाे कारण भनेकाे “राजावादीहरूकाे आराेप अनुसार भ्रष्टाचार सिंहदरबारदेखि गाउँसम्म पुग्याे र गणतन्त्रमा धेरै छाेटे राजा भए” कथनलाई प्रष्ट पार्नु हाे कि राजतन्त्रमा पनि यीनै कुराहरू जाे सिंहदरबारदेखि गाउँ पञ्चायतसम्म सक्थे, गर्थे तर मीडियाकाे कमी, अंकुशताका कारणले एक त समाचार बाहिर नआउँदा जनताले जान्न पाउँदैनथे । यदि जान्थेपनि भने सिधा दरबार वा शक्तिमा रहेकासँग “ईगाे”काे लडाईंमा सक्नेले अरूलाई सकाउँथे नत्र कार्वाही कसैमाथि पनि हुँदैनथ्याे ! आज गणतन्त्रमा गल्ति गरे भने पूर्वप्रधानमन्त्री, मन्त्री, सचिव जाे काेहीपनि जेल जाने भएका हुन् ।
देश दुनियाले के सन्देश लिईरहेका हुन् ?
प्राय: जुन देशमा भ्रष्टाचार, आतंकवाद, रकम अपचलन र दुरूपयाेग भयाे भने पाकिस्तानलगायत एफएटीएफकाे ग्रे र ब्ल्याक लिस्टहरूमा परेका दर्जनाैं देशहरूले एफएटीएफलाई ढाँटेर आफूहरू राम्रै गरिरहेका कथित् म्यासेज दिने गलत प्रयास गर्छन् । त्यसमा कुनै शक्ति देशले स्वार्थवश कुनै यस्ताे देशलाई कुनै बेला ग्रे वा ब्लैकलिस्टमा पर्न नदिन उल्टै भिट्टाेसम्म लगाईदिन्छ, जसकाे प्रत्यक्ष उदाहरण पाकिस्तानलाई चीनकाे एफएटीएफमा “दर्राे सपाेर्ट” हाे ।
अवश्यपनि नेपालले पछिल्लाेपटक एफएटीएफबाट सात बुँदे सुधारका सुझावहरू पाएकाे छ, जुन सबै सुशासन, पारदर्शिता, अनुगमण, निरिक्षण, निरिक्षणमा जनशक्तिकाे दक्षता केन्द्रीत छन् । नेपाल सरकारले ती सातबुँदे सुझावलाई ईमान्दारीपूर्वक पालन गर्नुकाे साटाे देश र दुनियाँलाई सुशासन आयाेग उल्टै बनाएर उल्टै कुशासनले चित्रित भईरहेकाे यहाँकाे सरकारले स्वतन्त्र निकायकाे अवधारणालाई चुनाैतीदिंदै प्रधानमन्त्री कार्यालयभित्र राखेकाे छ ।
देशमा चाहिएकाे छ साँच्चिकैकाे आर्थिक पार्दर्शिता र वित्तिय अनुशासन चाहे व्यक्ति जाे सुकै हाेस् तर भईरहेकाे के छ भने कि मेराे सरकारकाे विरूद्ध जाे बाेल्ने हाे, उसलाई “सुशासन”काे नाममा अख्तियार वा सम्पत्ति शुद्धिकरण वा अन्य लगाएर विराेधीलाई हटाएर “बाटाे सफा” गर्ने ! काेही भने भाेली मेराे प्रधानमन्त्री पदकाे सुरक्षामा फ्लानाेबाट चुनाैती देख्दा राज्यका निकायलाई उसकाेविरूद्ध लगाईदिने ! तर एउटा कुरा के जनताकाे मनमा बसेकाे छ भने आराेप लगाएर जेल पठाईने जतिलाई साँच्चिकै अनुसन्धान राज्यले गरे भने यी नेता, उच्च पदस्थ कर्मचारीजति जाकिने नै हुन् तर स्वार्थवश कसैलाई फसाउने अनि फेरि “क्लिन चिट्” दिलाउने एकाधजना बाहेककाे मुद्दामा दिलाउने प्रवृत्ति देखिन्छ ।
दाेस्राे कुरा जनताले के राेमाञ्चक खेल यी नेताहरूकाे हेरिराखेका छन् भने यीनिहरू प्राय: (अपवादबाहेक) कतै न कतै कलंकित नै छन् तर हाल भने “अस्तित्त्वकाे लडाईं”मा जाे जतिखेर शक्तिमा छ, उसले विराेधीलाई सिध्याएर आफ्नाे “प्राण” रक्षागर्नेमा लागेका छन् । रवि लामिछानेले बालकृष्ण खाँडलगायतलाई सेकिहाल्ने र हाल उनी जेलमा त्यही काँग्रेस-एमालेद्वारा पठाईनु वा, हाल माधव नेपाल ओली सरकारद्वारा अख्तियारमा पठाईनु वा भाेली सम्भावितरूपमा कथं याे सत्ता अलायन्स ढल्दा विपरीत परिस्थितिमा ओली र देउवाहरू नै जेलमा पुर्याईने सबै त्यही “अस्तित्त्वकाे लडाईं”कै खेल हुनेछन् !
तर, पहिलाेपटक अख्तियार स्वयंले बहुचर्चित ललिता निवास प्रकरणमा पूर्व प्रमहरू माधव नेपाल र डा. बाबुराम भट्टराईहरूविरूद्ध लागेकाे मुद्दामा दिएकाे आफ्नै जवाफ “मन्त्री परिषदकाे निर्णयविरूद्ध अख्तियार नजाने”काे विपरीत यसपालि पतञ्जलि आयुर्वेद याेगपीठकाे मामिलामा उनै पूर्व प्रम माधव नेपालकाे नीतिगत निर्णयविरूद्ध जाईलाग्दा माननीय अदालतलाई समेत गुमराहमा पार्ने भयाे । तसर्थ, लाेकतन्त्रमा सबै निकाय मर्यादित रह्नुपर्छ, अख्तियार त झनै र माधव नेपालविरूद्धकाे मुद्दा माननीय अदालतमा गईसकेकाेले लाेकतन्त्रमा अदालतकाे निर्णयलाई सम्मान गर्नुपर्छ ।
र, गणतन्त्रकाे एउटा सुन्दर पक्ष के विकसित नजीर भएर आयाे यसपालि भने कि यदि माधव नेपालमाथि माननीय अदालतमा मुद्दा चल्ने भयाे भने भाेली अर्का पूर्व प्रमपनि गलत गरेका रहेछन् भने प्रहरीकाे पाहुना बन्ने बाटाे खुल्याे । प्रष्ट हाेस्, याे स्तम्भकार माधव नेपाललाई फाेटाेमा मात्र देखेकाे हाे, कुनै परिचय वा लगाव छैन र नै त अन्य काेही शीर्ष दलका नेताबारे आग्रह पालेकाे छ ।
याे लेख विशुद्ध जनतामा भ्रष्टाचारी राजावादी वा गणतन्त्रवादी नेता जसमाथिपनि सप्रमाण कार्वाही भयाे भने सुखानीभूति हुनेछ र गणतन्त्र उन्नत बन्नेछ भन्ने सकारात्मक साेचले भरेकाे हाे ।
(लेखक ललितपुरको पाटनढाेकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

