माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण तीव्र

म्याग्दी । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण तीव्र गतिमा भइरहेको छ। हाल विद्युत्गृह हुने मालिका गाउँपालिका–७, भारवाङस्थित आउटलेटबाट हेडरेस सुरुङ खन्न थालिएको छ।
सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले समयमै आयोजनाको काम सम्पन्न गर्न आवश्यक जनशक्ति र उपकरण परिचालन गर्न आग्रह गरे। हाल आयोजनामा चार स्थानबाट सुरुङ खन्ने कार्य एकैसाथ चलिरहेको छ।
यसअघि धवलागिरि गाउँपालिका–४, खाम्ला र छहरीतर्फका अडिट सुरुङबाट पनि काम अघि बढिरहेको थियो। आयोजनाका प्रमुख ज्योतिकुमार केसीका अनुसार अडिट र आउटलेटबाट खनिने सुरुङको लम्बाइ १.८६५ किलोमिटर हुनेछ। बाँधदेखि विद्युत्गृहसम्म कुल ५.७ किलोमिटर सुरुङ निर्माण गरिनेछ।
प्रवर्द्धक म्याग्दी हाइड्रोपावर लिमिटेड रहेको आयोजनाले खाम्लामा म्याग्दी नदीमा १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण गर्दैछ। सिभिल ठेक्का लिएका लुना बिल्डर्स एन्ड कन्ट्र्याक्टर्स २०८१ वैशाख २८ देखि कार्यक्षेत्रमा सक्रिय छन्। आयोजनाले २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ।
छहरीको १९८.९० मिटर लामो अडिट सुरुङ, बाँधतर्फको ७६.५४ मिटर सुरुङ र अडिटबाट सुरु गरिएको १.२७० किलोमिटर मुख्य सुरुङ निर्माण भइसकेको छ। बाँधस्थलतर्फ हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।
रु ११ अर्ब २३ करोड २७ लाखको लागतमा निर्माण हुँदै गरेको आयोजनामा सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयर लगानी रहेको छ। निर्माणाधीन विद्युत्गृहबाट उत्पादित विद्युत् मालिका–७, डाडाखेतस्थित १३२ केभी क्षमताको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ।

