बुर्तिबाङलाई नयाँ सहर बनाउने काम सुस्त गतिमा

बागलुङ । सरकारको दश नमूना सहर बनाउने योजनाअन्तर्गत बागलुङको बुर्तिबाङमा नयाँ सहर निर्माणको काम सन् २०६९ सालदेखि सुरु भए पनि काम अपेक्षित गति लिन सकेको छैन।
बुर्तिबाङलाई व्यवस्थित सहर बनाउने उद्देश्यले २०७२/७३ सालदेखि बजेट विनियोजनसहितको काम थालिएको थियो। तर १२ वर्ष बित्दा पनि समग्र प्रगति निकै सुस्त देखिएको छ। पर्याप्त बजेट नआउनु र विनियोजित रकमसमेत पूर्ण रूपमा खर्च हुन नसक्दा काममा ढिलाइ भएको हो।
२०६९ देखि २०९० सम्म सम्पन्न गर्ने लक्ष्यसहितको योजनामा हालसम्म ७८ करोडभन्दा बढी बजेट छुट्याइएको छ, तर करिब ५० करोडमात्र खर्च भएको छ। आयोजना अन्तर्गत सडक, नाला, सभा हल, सौर्य बत्ती, मनोरञ्जन पार्क, एकीकृत भवन, जग्गा खरिद जस्ता केही पूर्वाधार निर्माण भए पनि अधिकांश काम अझै बाँकी छन्।
सूचना अधिकारी कोमल शाहका अनुसार हाल बसपार्क, टर्मिनल भवन, कुत्थ्याप्ला–तारीखेत सडक, पार्क, खेलमैदान लगायतका संरचनाहरू निर्माण भइरहेका छन्। तर उनले विनियोजित बजेटअनुसार केवल पाँच प्रतिशत काम मात्र सम्पन्न भएको जानकारी दिए।
बुर्तिबाङ बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो भने ढोरपाटन सिकार आरक्षको प्रवेशद्वार पनि हो। तर यहाँको सडक अवस्था अझै पनि साँघुरो र जोखिमयुक्त रहेको छ। नयाँ सहरको रूपमा कालोपत्र सडक, व्यवस्थित विद्युत्, खानेपानी, ढल निकास, उद्यान, हाटबजार, खेलमैदानजस्ता पूर्वाधार आवश्यक भए पनि अझै धेरै काम हुन बाँकी रहेको शाहले बताए।
नयाँ सहर निर्माणका लागि हालसम्म वार्षिक रूपमा फरक–फरक बजेट विनियोजन भए पनि एक अर्ब रूपैयाँ पनि पुगेको छैन। आर्थिक वर्ष २०७२/७३ देखि चालु आवसम्म गरी जम्मा लगभग ९५ करोड रुपैयाँजति मात्र छुट्याइएको छ।
स्थानीय बासिन्दा कुलमबहादुर घर्तीका अनुसार प्रत्येक वर्ष करोडौँ बजेट आउँदा पनि योजनाबद्ध र देखिने काम हुन सकेको छैन। ‘१०–१२ वर्ष भइसक्यो, तर अहिलेसम्म बुर्तिबाङमा ठूला पूर्वाधार बनेका छैनन्। सडक साँघुरै छन्, यात्रुहरू जोखिम मोलेर हिँड्न बाध्य छन्, फोहोर व्यवस्थापनसमेत छैन’ उनले बताए।
उनका अनुसार अझै चुरेलावासमा पुल, हाटबजार, शीतभण्डार, खेलमैदान र सडकजस्ता संरचना निर्माण गर्न बाँकी नै छन्। आयोजनाको कामले बुर्तिबाङको रूप परिवर्तन गर्ने अपेक्षा गरिएको थियो, तर हालसम्म देखिने उल्लेखनीय प्रगति नदेखिएको जनगुनासो छ।

