असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

रासस

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन्।

प्रारम्भिक बालविकासका लागि संघीय सांसदहरूको सहकार्य र समन्वय समूहले आज आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श कार्यक्रम’मा उनले विधेयक पारित गर्न तीव्रताका साथ काम भइरहेको बताएका छन्।

शिक्षामन्त्री पन्तले भने, ‘शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ, असार १५ गतेसम्म विधेयक पारित हुन्छ।’ उनले विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा मन्त्रालयले काम गरिरहेको जानकारी पनि दिए।

सरकार र शिक्षकबीच भएका सहमति पनि सम्भव भएसम्म विधेयकमा समावेश गरिने उनले बताए। पन्तले भने, ‘समय सापेक्ष कानुन संशोधन गर्दै जानुपर्छ, युगअनुसार सम्बोधन गर्दै जानुपर्छ।’ संविधानको मर्म र अर्थतन्त्रले धान्न सक्ने मागहरू मात्रै सम्बोधन हुने उनको भनाइ छ।

‘जुन दिन शिक्षकहरूसँग सम्झौता भएको थियो, मैले त्यही दिन सार्वजनिक रूपमा नौ बुँदे सहमति नगद हो भनेको थिएँ, उक्त सहमति साउनदेखि लागू हुन्छ’ पन्तले भने, “उहाँहरूका जायज माग सम्बोधन हुन्छन्।’ उनले शिक्षा प्रणाली सुधारका लागि उपयुक्त, वैज्ञानिक र आर्थिक रूपमा सम्भव सुझावहरू सरकार ग्रहण गर्ने उल्लेख गरे।

उनले प्रारम्भिक बालविकासलाई शिक्षा प्रणालीभित्र कसरी समावेश गर्ने र समग्र बालबालिकाको विकासलाई नीतिगत रूपमा कसरी अघि बढाउने भन्ने कुरामा पहिले स्पष्ट हुनुपर्ने बताए।

प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति अम्मरबहादुर थापाले प्राथमिकताको आधारमा शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले सरकारले बालबालिकाको प्रारम्भिक विकाससँगै अन्य क्षेत्रहरूमा पनि ध्यान दिनुपर्ने धारणा राखिन्।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य जीवन परियारले बालबालिकाको विकासका लागि प्रारम्भिक बालविकाससम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने आवश्यकता औंल्याउँदै शिक्षामन्त्रीको ध्यानाकर्षण गराए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय